युद्धको असर सहन बाध्य इरानी : भविष्यप्रति बन्दै निराश

युद्धको असर सहन बाध्य इरानी : भविष्यप्रति बन्दै निराश

इरान : यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको धम्की र दीर्घकालीन युद्धविराम सम्झौता नजिकै रहेको दाबीबीच आफ्नो धारणा बदलिरहँदा धेरै इरानीहरू थकित र अनिश्चितताले ग्रस्त बनेका छन् ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएपछि लागू गरिएको इन्टरनेट बन्द आंशिक रूपमा हटाइए पनि, देशभित्र बढ्दो दमनको डरले धेरै नागरिकहरूमा भविष्यप्रति निराशा बढाएको छ । तेहरानका सईद (सुरक्षाका कारण परिवर्तन गरिएको नाम), जो यस वर्षको सुरुआतमा सरकारविरुद्धका ठूला प्रदर्शनमा सहभागी थिए । उनले डराएको सबैभन्दा खराब अवस्था अहिले वास्तविकता बनेको छ ।

उनले भने, ‘यदि अमेरिकाले हामीलाई उद्धार गर्ने वाचा गर्दै आक्रमण गर्छ तर अहिलेको जस्तो अस्पष्ट युद्धविराम छोडेर जान्छ भने त्यो सबैभन्दा खराब परिणाम हुनेछ भनेर मैले पहिले नै भनेको थिएँ । डिसेम्बर २८ मा प्रदर्शन सुरु हुँदा भन्दा अहिले अर्थतन्त्र झन् खराब छ । दैनिक छापा, गिरफ्तारी र मृत्युदण्डका घटनाले शासनलाई अझ बलियो बनाएको छ । हामी साँच्चै निकै कठिन अवस्थामा छौं ।’

सईदका अनुसार यस घटनाले राजनीतिक चिन्ता मात्र होइन, परिवारभित्र पुस्तागत विभाजन पनि गहिरो बनाएको छ । उनले भने, ‘मेरो परिवारका केही वृद्ध सदस्यहरू हामी युवा प्रदर्शनकारीहरूलाई भ्रमित भएको मान्छन् । उनीहरू सरकारी टेलिभिजनले भनेको सबै कुरा विश्वास गर्छन् र विरोध प्रदर्शनमा सहभागी भएकै कारण युवाहरूलाई मृत्युदण्ड दिइएको कुरा बुझ्दैनन् । उनीहरू उनीहरूलाई जासुस ठान्छन् ।’

डिसेम्बरमा सुरु भएर देशभर फैलिएको सरकारविरोधी आन्दोलनमाथि सुरक्षा बलले कडा दमन गरेको मानवअधिकार समूहहरूको भनाइ छ । अमेरिकी संस्थान मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हजारौं मानिस मारिएका, ५० हजार बढी पक्राउ परेका छन् । नर्वेमा आधारित इरान ह्युमन राइट्सका अनुसार यस वर्ष कम्तीमा २२६ जनालाई मृत्युदण्ड दिइएको छ ।

यसैबीच, युद्ध फेरि सुरु भए नागरिकलाई हतियार उठाउन तयार पार्न सरकारले राजधानीमा सैन्य तालिम केन्द्र स्थापना गरेको बताइएको छ, जहाँ सर्वसाधारणलाई कलाश्निकोभ चलाउन सिकाइँदैछ । मेसिनगन जडित सैन्य जिपमा सवार सरकार समर्थकहरूको प्रदर्शनका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।

राजधानीस्थित मानवअधिकारकर्मी एलनाज भन्छिन्, ‘सबैले शासन व्यवस्थालाई समर्थन गर्दैनन्, न त सबै युद्ध चाहन्छन् । बालबालिका र किशोर किशोरीलाई चेकपोस्ट निरीक्षणमा प्रयोग गर्नु र टेलिभिजनमा हतियार तालिम प्रसारण गर्नुले व्यापक चिन्ता उत्पन्न गरेको छ । धेरै बालअधिकारकर्मीहरूले युद्धलाई सामान्य बनाउनु हुँदैन भनेर विरोध गरेका छन् ।’

उनका अनुसार राज्य टेलिभिजनमा बालबालिकाले मेसिनगन बोकेको दृश्य देखाइनुले धेरै इरानीहरूलाई चिन्तित बनाएको छ । गिरफ्तारी र छापाको त्रासबीच केही मानिसहरूको विदेशी हस्तक्षेपप्रतिको धारणा पनि बदलिएको छ । भविष्यप्रतिको डर उनीहरूको मुख्य चिन्ता बनेको छ ।
मशहदका व्यवसायी अमिर पहिले अमेरिकी हस्तक्षेपबाट राजनीतिक परिवर्तन आउने आशा गरेका थिए । तर बिग्रँदो अर्थतन्त्र र मानवअधिकार अवस्थाले त्यो मूल्य अत्यधिक महँगो भएको महसुस गराएको छ ।

उनले भने, ‘म अपमानित महसुस गर्छु । यो युद्धविराम होइन । यो त हाम्रो जीवन र रगतको मूल्यमा अमेरिका र इस्लामिक गणतन्त्रबीच चलिरहेको अन्त्यहीन सौदाबाजी हो ।’ ट्रम्पले गत महिना इरानलाई ‘ढुंगे युगमा फर्काइदिने’ भन्दै दिएको चेतावनी अझै उनलाई सताइरहेको छ । उनले भने, ‘हामीलाई ढुंगे युगमा फर्काइदिने कुरा गर्ने अनि युद्धलाई व्यापारिक सम्झौता जस्तो व्यवहार गर्ने र प्रत्येक केही मिनेटमा आफ्नो वाचा बदल्ने दृश्य हेर्नु अत्यन्त अपमानजनक थियो ।’

‘आर्थिक नरक’
खाद्यान्न र अत्यावश्यक औषधिको मूल्य आकासिँदा तथा झण्डै ९० दिन लामो इन्टरनेट बन्दका कारण धेरै मानिसहरूको रोजगारी प्रभावित भएको छ । आधारभूत आवश्यकता पूरा गर्न समेत संघर्ष गर्नुपरेको छ ।  तेहरानकी ३९ वर्षीया क्याफे सञ्चालक नूर भन्छिन्, ‘जनवरीको नरसंहार र युद्धले ल्याएको भावनात्मक तथा आर्थिक विनाशबाट उन्मुक्त हुन वर्षौं लाग्नेछ । युद्धविराम कायम रहे पनि केही महिनापछि हामी यति गम्भीर आर्थिक संकटमा हुनेछौँ कि मानिसहरू बाध्य भएर फेरि सडकमा उत्रने छन् ।’

यस साता इन्टरनेट सेवा आंशिक रूपमा फर्किएपछि धेरै इरानीहरूले जनवरीका प्रदर्शन र युद्धले अर्थतन्त्र तथा नागरिक पूर्वाधारमा पुर्‍याएको क्षतिको वास्तविकता बुझ्न थालेका छन् । सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एक भिडियोमा तेहरानका हामेद मिर्जाई नामका व्यक्तिले युद्धमा आफ्नो परिवारका १२ सदस्य गुमाएको कथा सुनाएका छन् । नव विवाहित मिर्जाईले आफ्ना आमाबुबा, पत्नी, दाजुभाइ, आफन्त र उनीहरूका सन्तानहरू घरमा आक्रमण हुँदा मारिएको बताएका छन् ।

उनले भग्नावशेषमा परिणत आफ्नै घरअगाडि उभिएका भिडियोहरू सार्वजनिक गरेका छन्। यस्तै अन्य भिडियोहरूमा ध्वस्त भएका पसल, घर तथा संगीत विद्यालयहरू देखिन्छन् । तेहरानका ४२ वर्षीय संगीतकर्मी रोले संगीत विद्यालय र नागरिक संरचनाहरूमा भएको क्षतिको दृश्य देखेर आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.