म्यानमारमा विद्रोहीहरू पछाडि धकेलिँदै, जबरजस्ती भर्तीले सेनालाई बलियो बनाउँदै
म्यानमार : जङ्गलले ढाकिएका पहाडहरूको गहिराइमा रहेको एक विद्रोही शिविरका चार युवा पुरुषहरू कहिल्यै पनि म्यानमारको गृहयुद्धमा सहभागी हुन चाहँदैनथे । उनीहरूले सेनामा भर्ती हुने निर्णय पनि आफैंले गरेका थिएनन् ।
एक जना कामबाट घर फर्किरहेका शेफ थिए, जसलाई सडकबाटै पक्राउ गरियो । परिचयपत्र नभएको कारण सेनाले उनलाई हिरासतमा लिएर जबरजस्ती भर्ती गरायो । अर्का एक जना राति कराओके कार्यक्रमबाट फर्किरहेका बेला समातिए । तेस्रो व्यक्ति वन विभागमा काम गरिरहेका थिए, तर पक्राउ परे । चौथो व्यक्तिका अनुसार पक्राउ परेपछि उनको जुत्ताभित्र लागूऔषध राखेर झुटो आरोप लगाइयो र सेनामा भर्ती हुन बाध्य बनाइयो ।
‘के भइरहेको छ भन्ने बुझ्न नपाउँदै हामीलाई सिधै युद्धको मोर्चामा पठाइयो’, १९ देखि २५ वर्ष उमेरका ती युवामध्ये एकले भने । अर्काले थपे, ‘हामीलाई मन नपरेका सबै काम गराइन्थ्यो । बिहान, दिउँसो वा राति कहिल्यै राम्रोसँग आराम गर्न पाइँदैनथ्यो । जबरजस्ती भर्ती गरिएका सैनिकहरूले सबै काम गर्नुपथ्र्यो, जबकि नियमित सैनिकहरूलाई धेरै काम गर्नु पर्दैनथ्यो ।’
उनीहरूले चार महिना आधारभूत सैन्य तालिम लिएपछि करेन राज्यको मोर्चामा पठाइए । एक रात नुहाउन जाँदै गर्दा उनीहरूले भाग्ने निर्णय गरे । तर भागेपछि उनीहरू नजिकै गस्ती गरिरहेका पिपुल्स डिफेन्स फोर्सका विद्रोही लडाकुसँग भेटिए र नियन्त्रणमा लिइए । उनीहरूका अनुसार अहिलेको अवस्था राम्रो छ । ‘हामीलाई अपरिचित होइन, दाजुभाइझैं व्यवहार गरिन्छ’, उनीहरूले भने ।
अहिलेलाई उनीहरू फोर्ससँगै रहने छन्, तर पछि थाइल्यान्ड सीमातर्फ पठाइनेछ । ‘अहिले फर्कियौं भने सेनाले अझै पनि हामीलाई खोज्न सक्छ’, एक जनाले भने । परिवारमाथि प्रतिशोध हुन सक्ने भएकाले उनीहरूको पहिचान गोप्य राखिएको छ । यद्यपि यी चार युवाजस्ता अनिच्छुक भर्तीहरूको अवस्था दुःखद भए पनि, सेनाको जबरजस्ती भर्ती नीतिले गृहयुद्धमा सैन्य सरकार (जुन्टा) को स्थिति बलियो बनाएको छ । सन् २०२१ मा लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको सेनाले नेतृ आङ सान सुकीलाई जेलमा राखेको छ ।
गृहयुद्धले देशलाई तहसनहस बनाएको छ । हजारौंको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । दुई वर्षअघि विभिन्न जातीय सशस्त्र समूह र विद्रोहीहरूको गठबन्धनले देशभर उल्लेखनीय सफलता हासिल गरेको थियो । तर अहिले अधिकांश क्षेत्रमा प्रतिरोधी पक्ष रक्षात्मक अवस्थामा पुगेको छ । सेनाको पूर्ण नियन्त्रण अझै पनि देशको आधाभन्दा कम भूभागमा मात्र भए पनि उसले पछिल्लो समय केही महत्वपूर्ण सफलता पाएको छ । उत्तरी क्षेत्रमा मन्डालेबाट म्यित्क्यिनासम्मको रणनीतिक सडक पुनः नियन्त्रणमा लिएको छ । साथै काचिन, चिन र करेन राज्यका सीमावर्ती क्षेत्रहरूमा पुनः नियन्त्रण स्थापित गर्न हजारौं सैनिक परिचालन गरिएको छ ।
फोर्सका बटालियन कमाण्डरको काउङका अनुसार सन् २०२४ मा सेनाले जबरजस्ती भर्ती कानुन लागू गरेपछि कम्तीमा दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था आयो, जसले सेनालाई असीमित जनशक्ति उपलब्ध गराएको छ । ‘युद्धभूमिमा हाम्रो सबैभन्दा ठूलो चुनौती नै यही जबरजस्ती भर्ती हो’, उनले भने । ‘हामीसँग प्रविधि र रणनीतिक लाभ भए पनि स्रोतसाधन अत्यन्त सीमित छन् । पर्याप्त रकम नहुँदा आवश्यक सामग्री जुटाउन र नयाँ लडाकु भर्ती गर्न गाह्रो छ ।’ को काउङ र उनका लडाकुहरूले दुई वर्षअघि करेन राज्यको ह्पापुन सहर र ठूलो सैन्य अड्डा कब्जा गरेका थिए । तर अहिले त्यो क्षेत्र युद्धका घाउहरूले भरिएको छ । प्रवेशद्वारको स्वागत बोर्ड, विद्यालय, गुम्बा र अधिकांश घरहरू बम आक्रमणबाट क्षतिग्रस्त छन् ।
अहिले उनीहरू पुनः ठूलो सैन्य आक्रमणको सामना गर्न तयारी अवस्थामा छन् । जुन्टाका ड्रोनहरू आकाशमा गस्ती गरिरहेका छन् भने करिब २,००० सैनिक ह्पापुनतर्फ अघि बढिरहेका छन् । म्यानमारको सेना विद्रोही समूहहरूको तुलनामा धेरै राम्रो हतियार र सैन्य उपकरणले सुसज्जित छ । अर्का फोर्स कमाण्डर दा वा पनि जबरजस्ती भर्ती भएका सैनिकहरूलाई ठूलो चुनौती मान्छन् । पूर्व राजनीतिक कार्यकर्ता रहेका उनी साढे चार वर्ष सरकारी जेलमा बसेका थिए । उनका अनुसार धेरै सैनिक स्वेच्छाले भर्ती नभए पनि आदेश पालना गर्न सिक्दै जाँदा उनीहरूको युद्ध क्षमता बढिरहेको छ ।
जङ्गलका साँघुरा बाटो हुँदै गस्तीका क्रममा जुन्टाको ड्रोन माथिबाट गुज्रिँदा उनीहरूलाई पटक–पटक लुक्नु पर्छ । एउटा डाँडामा पुग्दा अर्को डाँडामा रहेको सैनिक स्नाइपरको डरले विद्रोहीहरू दबिएको स्वरमा कुरा गर्छन् । त्यही क्षेत्रमा विद्रोहीहरूले गत अप्रिलमा एक सैन्य चौकी कब्जा गरेका थिए। तर भारी तोपखाना र हवाई आक्रमणका कारण उनीहरूले केही दिनमै उक्त क्षेत्र छोड्नुपरेको थियो । तर दा वा अझै आत्मविश्वासी छन् । ‘हामी त्यो चौकी फेरि कब्जा गर्नेछौं’, उनले दृढतापूर्वक भने ।
प्रतिक्रिया दिनुहोस !