अमेरिकी आक्रमणको प्रतिशोधमा इरानले गर्यो बहराइन, कुवेत र जोर्डनमा हमला
इरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले अमेरिकाले होर्मुज जलडमरूमध्यस्थित इरानी बन्दरगाह र टापुहरूमा गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हमला गरेको दाबी गरेको छ ।
बुधबार सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा आइआरजीसीले बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडा र कुवेतको अली अल सलिम हवाई अड्डामा ड्रोन आक्रमण गरेको तथा जोर्डनको अजराक हवाई अड्डामा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आइआरजीसीका अनुसार २१ वटा अमेरिकी लक्ष्यलाई निशाना बनाइएको थियो, जसमध्ये चार वटा ध्वस्त पारिएको दाबी गरिएको छ । तीमध्ये जोर्डनस्थित सैन्य अड्डामा रहेको एफ–३५ लडाकु विमानको ह्याङ्गर पनि समावेश रहेको बताइएको छ ।
साथै, इरानले आफ्नो जाम शहरको आकाशमा अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी पनि गरेको छ । यसअघि मंगलबार अमेरिकाले आफ्नो अपाचे हेलिकोप्टर इरानले खसालेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य क्षेत्रको केश्म टापु तथा इरानी तटीय बन्दरगाहहरूमा हमला गरेको थियो ।
आइआरजीसीले अमेरिकी आक्रमणका कारण सिरिक शहरको दूरसञ्चार टावरमा क्षति पुगेको र दुईवटा पानी ट्याङ्की नष्ट भएको जनाएको छ । साथै, अमेरिकाले थप सैन्य कारबाही गरेमा त्यसको ‘कडा र निर्णायक’ जवाफ दिन आफ्ना सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिँदै सम्भावित तनाव वृद्धिको सम्पूर्ण जिम्मेवारी वाशिङ्टनले लिनुपर्ने बताएको छ । अमेरिकाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
बहराइन र कुवेतमा साइरन
जोर्डनको सेनाले इरानबाट अजराकतर्फ प्रक्षेपण गरिएका पाँच वटा क्षेप्यास्त्र अवरोध गरी खसालेको जनाएको छ । उक्त कारबाहीका क्रममा केही भग्नावशेष खसे पनि कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ । आक्रमणपछि बहराइन र कुवेतमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो ।
कुवेती सेनाले आफ्नो आकाशमा प्रवेश गरेका ‘शत्रुतापूर्ण हवाई लक्ष्यहरू’ अवरोध गरिरहेको जनाएको भए पनि थप विवरण सार्वजनिक गरेको छैन । अमेरिकास्थित क्विन्सी इन्स्टिच्युट फर रिस्पोन्सिबल स्टेटक्राफ्टका उपाध्यक्ष ट्रिटा पार्सी ले इरानको तीव्र प्रतिक्रियाले नयाँ सैन्य रणनीतिको संकेत गरेको बताएका छन् । उनका अनुसार इरानले अमेरिकाको कुनै पनि आक्रमणको छिटो र कडा जवाफ दिनुपर्ने विश्वास राख्छ, अन्यथा अमेरिकाले सजिलै इरानमाथि हमला गर्न सक्ने अवस्था सामान्य बन्नेछ ।
वार्तामा फर्किने संकेत
यो नयाँ तनावपूर्ण अवस्था इरान र इजरायलबीच अप्रिलमा भएको युद्धविरामपछि देखिएको सबैभन्दा गम्भीर सैन्य भिडन्तको अर्को चरण हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले विश्व अर्थतन्त्रमा असर पार्नुका साथै इन्धन र खाद्यान्नको मूल्य समेत बढाएको छ । यद्यपि, दुवै पक्ष पूर्ण युद्धमा फर्कन चाहँदैनन् ।
प्रतिक्रिया दिनुहोस !