अमेरिका र इरान सम्झौताको नजिक पुगे पनि बैठकमा जुटेन सहमति
वासिङ्टन : इरानसँगको युद्धविरामलाई निरन्तरता दिने खाका (फ्रेमवर्क)का विषयमा अन्तिम निर्णय लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलाएको उच्च अधिकारीहरूको बैठक विना कुनै स्पष्ट निर्णय टुङ्गिएको छ। ह्वाइट हाउसको अति संवेदनशील मानिने सिचुएसन रुममा शुक्रबार यो बैठक बसेको थियो।
बैठकअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले कहिल्यै पनि आणविक हतियार वा बम नबनाउने प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेका थिए। साथै, रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज' जलमार्गलाई दुवैतर्फबाट विना अवरोध खुला गर्नुपर्ने र त्यहाँ राखिएका समुद्री बारुदी सुरुङहरू नष्ट गरिनुपर्ने अडान उनले दोहोर्याएका थिए।
यसअघि बिहीबार मात्रै दुवै देशका अधिकारीहरूबीच ६० दिनका लागि युद्धविराम लम्ब्याउने र इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता सुरु गर्ने विषयमा एउटा समझदारी पत्रको खाका तयार भएको बताइएको थियो। यद्यपि, यसलाई अन्तिम रूप दिन राष्ट्रपति ट्रम्प र इरानी नेतृत्वको स्वीकृति आवश्यक पर्छ।
ह्वाइट हाउसका एक अधिकारीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल हुने र आफ्ना सर्तहरू रेडलाइन्स पूरा हुने गरी मात्र सम्झौता गर्ने बताएका छन् ।
गएको अप्रिल ८ देखि युद्धविराम लागू भएयता राष्ट्रपति ट्रम्पले पटक-पटक दुई देश सम्झौताको नजिक पुगेको दाबी गर्दै आए पनि हालसम्म कुनै ठोस परिणाम भने देखिएको छैन। शुक्रबारकै अर्को एउटा पोस्टमा ट्रम्पले हर्मुज जलमार्गमा लागेको अमेरिकी नाकाबन्दी हटाउन आफू तयार रहेको र त्यहाँ फसेका जहाजहरू अब घर फर्किनसक्ने उल्लेख गरेका थिए । साथै, इरानले संवर्द्धित युरेनियम हटाउन र नष्ट गर्न अमेरिकालाई अनुमति दिनुपर्नेमा पनि उनले जोड दिए। अर्को सूचना नभएसम्म कुनै पनि रकम लेनदेन हुने छैन,' ट्रम्पले भने।
इरानको फार्स न्युज एजेन्सीले भने ट्रम्पको पछिल्लो भनाइलाई 'सत्य र झूटको मिश्रण' भनेको छ। सरकारी स्रोतहरूलाई उद्धृत गर्दै एजेन्सीले समझदारी पत्रको खाकामा आणविक सामग्री नष्ट गर्ने कुनै पनि प्रावधान नरहेको दाबी गरेको छ।
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनमार्फत बोल्दै इरानको सम्पूर्ण ध्यान 'युद्ध अन्त्य गर्ने' विषयमा मात्र केन्द्रित रहेको र आणविक मुद्दामा कुनै वार्ता नभइरहेको स्पष्ट पारे। इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आए पनि अमेरिकाले भने इरानलाई उच्च संवर्द्धित युरेनियम उत्पादन रोक्न र मौज्दात नष्ट गर्न दबाब दिँदै आएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार दुवै पक्षका मध्यस्थकर्ताहरू युरेनियम संवर्द्धन र यसको भाषागत बुँदाहरूमा केन्द्रित रहेर छलफल गरिरहेको बताएका थिए । उनले भने,'हामी अझै निष्कर्षमा पुगिसकेका छैनौँ, तर निकै नजिक छौँ र यसका लागि काम गरिरहनेछौँ।'
यता इरानका मुख्य वार्ताकार मोहम्मद बकर कालिबाफले भने आफूहरूलाई कुनै आश्वासन वा शब्दमा विश्वास नभई केवल 'काम'मा विश्वास रहेको बताए। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'अर्को पक्षले कदम नचालेसम्म इरानले कुनै कदम चाल्ने छैन। सम्झौताको वास्तविक विजेता त्यही हुन्छ, जो सम्झौताको भोलिपल्टै पनि युद्धका लागि बढी तयार रहन्छ।'
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरू र उसका सहयोगी राष्ट्रहरूमाथि जवाफी हमला गरेको थियो। इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।
पछिल्ला दिनहरूमा दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। बिहीबार मात्रै इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स'ले कुवेतमा रहेको अमेरिकी वायुसेनाको अखडामा आक्रमण गरेको दाबी गरेको थियो, जहाँबाट इरानको रणनीतिक बन्दरगाह सहर बन्दर अब्बासका लागि हवाई उडानहरू भइरहेका थिए। अमेरिकी सेन्ट्रल कमान्डले भने कुवेतमाथिको उक्त आक्रमणलाई युद्धविरामको घोर उल्लङ्घन भनेको छ।
-बीबीसीबाट
प्रतिक्रिया दिनुहोस !