‘इलेफेन्ट इन द फग’ले लेखेको इतिहास
विश्व सिनेमा जगतमा सबैभन्दा प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिचर फिल्मको उपस्थिति हुनु केवल एउटा सांस्कृतिक उपलब्धि मात्र होइन । यो नेपाली कला, सिर्जना र पहिचानले अन्तर्राष्ट्रिय मञ्चमा गरेको ऐतिहासिक प्रवेश पनि हो ।
निर्देशक अभिनास विक्रम शाहको फिल्म इलेफेन्ट इन द फगले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको बिशिष्ट ‘अन सर्टेन रिर्गाड’ खण्डमा स्थान पाएसँगै नेपाली सिनेमाको इतिहासमा नयाँ अध्याय थपिएको छ । अझ महत्वपूर्ण कुरा, यस फिल्मले जुरी पुरस्कार जितेर नेपाललाई विश्व सिनेमा बजारमा थप मजबुत रूपमा उभ्याएको छ ।
कान्स फिल्म फेस्टिभल विश्वकै सबैभन्दा प्रभावशाली फिल्म महोत्सवमध्ये एक हो । यहाँ छनोट हुनु नै विश्वस्तरको कलात्मक मान्यता प्राप्त गर्नु सरह मानिन्छ । विशेषतः अन सर्टेन रिर्गाड खण्ड नयाँ शैली, फरक विषयवस्तु र साहसी सिनेमालाई प्रोत्साहन गर्ने प्रतिष्ठित मञ्च हो । यस खण्डमा चयन हुनु नेपाली फिल्म उद्योगका लागि अभूतपूर्व उपलब्धि हो ।
इलेफेन्ट इन द फग केवल एउटा फिल्म होइन । यो नेपालका सीमान्तकृत समुदायहरूको कथा हो । फिल्मको केन्द्रमा ‘किन्नर’ अर्थात् ट्रान्सजेन्डर समुदाय छ, जसको जीवन, पीडा, अस्तित्व र संघर्षलाई नेपाली समाजले लामो समयसम्म उपेक्षा गर्दै आएको थियो । फिल्मकी मुख्य पात्र ‘पिराती’ आफ्नो समुदायको नेतृत्व गर्ने महिला हुन् । जो प्रेम, स्वतन्त्रता र जिम्मेवारीबीचको द्वन्द्वमा बाँचिरहेकी छन् । जंगल, कुहिरो र हराइरहेका मानिसहरूको कथा भित्र निर्देशकले नेपाली समाजको गहिरो सामाजिक यथार्थलाई सिनेम्याटिक भाषामा प्रस्तुत गरेका छन् ।
यो फिल्मको अर्को विशेषता यसको अन्तर्राष्ट्रिय सहकार्य हो । नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको संयुक्त निर्माणमा बनेको यो फिल्मले नेपाली कथालाई विश्वस्तरको प्राविधिक र कलात्मक संरचनासँग जोडेको छ । यसले अब नेपाली फिल्म केवल स्थानीय बजारका लागि होइन, विश्व दर्शकका लागि पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ ।
कान्समा फिल्म प्रदर्शनपछि दर्शकहरूले करिब आठ मिनेटसम्म उभिएर ताली बजाएको समाचारले नेपाली दर्शकमाझ गर्वको अनुभूति थपिदियो । विश्वका चर्चित फिल्म समीक्षकहरूले फिल्मको प्रशंसा गर्दै यसलाई ‘मानवीय संवेदनाले भरिएको शक्तिशाली कथा’ भनेर व्याख्या गरेका छन् । केही समीक्षकहरूले यसलाई दक्षिण एशियाली सिनेमाको नयाँ स्वरका रूपमा पनि व्याख्या गरेका छन् ।
फिल्मका निर्देशक अभिनाश बिक्रम शाहले पुरस्कार ग्रहण गर्दा दिएको अभिव्यक्ति अझ अर्थपूर्ण थियो । उनले भनेका थिए कि लामो समयसम्म समाजको किनारामा राखिएका मानिसहरूको कथा अब विश्वको केन्द्रमा पुगेको छ । ‘वी मेड द इनभिजिबल भिजिबल’ भन्ने उनको भनाइले फिल्मको मूल भावलाई प्रस्ट पार्छ ।
नेपालको फिल्म उद्योग लामो समयदेखि व्यावसायिकता, सीमित लगानी, कमजोर प्राविधिक पूर्वाधार र अन्तर्राष्ट्रिय पहुँचको अभावसँग संघर्ष गर्दै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा केही नयाँ पुस्ताका निर्देशकहरूले फरक कथावस्तु र कलात्मक प्रयोगमार्फत नेपाली सिनेमालाई नयाँ दिशा दिने प्रयास गरिरहेका छन् । यही सन्दर्भमा इलेफेन्ट इन द फग परिवर्तनको सबैभन्दा सशक्त उदाहरण बनेको छ ।
यस उपलब्धिले नेपाली फिल्म उद्योगलाई तीनवटा महत्वपूर्ण सन्देश दिएको छ । पहिलो, नेपाली कथाहरू विश्वस्तरमा पनि सान्दर्भिक र प्रभावशाली हुन सक्छन् । दोस्रो, स्थानीय संस्कृति भित्र रहेका जटिल मानवीय कथाहरूलाई इमानदार ढंगले प्रस्तुत गर्दा विश्व दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सकिन्छ । र तेस्रो, नेपाली सिनेमाले अब केवल मनोरञ्जनको दायरा भन्दा माथि उठेर कला, पहिचान र सामाजिक विमर्शको माध्यम बन्न सक्ने क्षमता राख्छ ।
यो उपलब्धि केवल एक निर्देशक वा एउटा फिल्मको सफलता मात्र होइन, यो सम्पूर्ण नेपाली सिनेमा समुदायको सामूहिक उपलब्धि हो । आजसम्म नेपाली फिल्महरू अन्तर्राष्ट्रिय महोत्सवहरूमा सीमित उपस्थितिमा देखिन्थे । २०२५ मा कान्ससँग सम्बन्धित विभिन्न कार्यक्रम र कान्स फिल्म बजारमा सहभागी भएको फिल्म थियो । अर्को द एट माउण्टेनस यो इटालियन बेल्जियन फिल्ममा नेपाली अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी थिइन् । यो फिल्मले २०२२ को कान्समा प्रर्दशन भएको थियो र जुरी प्राइज जितेको थियो । अर्को सेप अफ ममः सिक्किममा निर्मित नेपाली भाषको फिल्म कान्स सँग सम्बन्धित फेस्टिभल सर्किटमा चर्चा कमाएको थियो ।
तर कान्सजस्तो मञ्चमा पुरस्कार जित्नुले नेपाली सिनेमाप्रतिको विश्व दृष्टिकोण नै बदल्न सक्छ । यसले आगामी दिनमा विदेशी लगानी, सहनिर्माण, अन्तर्राष्ट्रिय वितरण र नयाँ प्रतिभाका लागि अवसरहरू बढाउने सम्भावना पनि बलियो बनाएको छ ।
नेपालको साहित्य, संगीत, कला र लोकजीवनमा विश्वस्तरका कथाहरूको कमी कहिल्यै थिएन । अभाव थियो त केवल विश्वसम्म पुग्ने माध्यम र आत्मविश्वासको । ‘इलेफेन्ट इन द फग’ले त्यो ढोका खोलिदिएको छ । अब नेपाली सिनेमाले आफ्नै मौलिकता, आफ्नै माटो र आफ्नै आवाज मार्फत विश्व रंगमञ्चमा उभिन सक्छ भन्ने विश्वास बलियो बनेको छ ।
सायद यही कारणले आज यो फिल्म केवल एउटा चलचित्र मात्र नभई यो नेपाली पहिचान, सिर्जनशीलता र सम्भावनाको प्रतीक बनेको छ । नेपाली सिनेमाको यात्रामा अब ‘कान्स भन्दा अघि’ र ‘कान्सपछि’ भन्ने नयाँ अध्याय सुरु भएको भनेर पनि भन्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !