हुरी आएको साँझ
एउटा अजंगको बूढो रुख
गर्लम्मै निष्प्राण भएर ढल्दा
हृदयमा दु: खको आगो बल्यो
तर
धेरैको मनमा खुसीका सुनाखरी फुले।
देशका मनहरूले
धीरताको पोखरी जमाए
वर्षौं वर्षसम्म
कयौं वसन्त फटाएर
विश्वासको अटल हिमाल बनाए
अनि लडे
आत्मविश्वासको हतियारले
निरंकुशता विरुद्ध
हुकुमी शासन विरुद्ध
स्वतन्त्रताको सगरमाथा उठाउन
बन्दुकको गोलीसँग डराएनन्
रगतको होलीसँग डराएनन्
जनजनका मनबाट उठेको
क्रान्तिको हुरीले फल नदिने रुख ढलेपछि
आज
जनका मनहरूमा उठेको
आन्दोलनको ज्वारभाटा शान्त छन्
स्वतन्त्रताको नयाँ घाम उदाएपछि।
हो, आन्दोलनको हुरीले
अधिनायकवादको श्रीपेच ढलेको छ
जनताको मेहनत फलेको छ
सदियौंदेखि अँध्यारो अनुहार
एकाएक बलेको छ
सडकभरि हिजोसम्म
खाली हात एकतन्त्रसँग लडेकाहरू
आज
विजय उत्सवको आकाशमा
कावा खाँदै उडिरहेका छन्।
हुरी आएको साँझ
उसको आकाश टोलाएको छ
उसको धरती डोलाएको छ
तर
मेरो धरती वसन्तमय छ
यही वासन्ती धरतीमा
मैले चम्किलो सूर्य देखेको छु
समुन्नत नेपाल बनाउने सूर्य।
प्रतिक्रिया दिनुहोस !