इरान युद्धमा डोनाल्ड ट्रम्पको टिप्पणी: 'म खराब सम्झौता गर्दिनँ'
वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई हतारमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिएका छन्। यसअघि सार्वजनिक भएका विभिन्न प्रतिवेदनहरूमा भने सम्झौता निकै नजिक पुगेको दाबी गरिएको थियो।
राष्ट्रपति ट्रम्पले आफूले इरानसँग एउटा उत्कृष्ट सम्झौता गर्ने स्पष्ट पारेका छन्। सोही क्रममा उनले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा भएको आणविक सम्झौताको कडा आलोचना समेत गरे।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार हाल छलफलमा रहेको सम्झौताहरुमा ६० दिनको युद्धविराम थप गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' लाई पुनः खोल्ने, र इरानको आणविक कार्यक्रममाथि आगामी दिनमा थप वार्ता अघि बढाउने बुँदाहरू समावेश गरिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट् लेख्दै भनेका छन्, यदि मैले इरानसँग सम्झौता गरेँ भने, त्यो उत्कृष्ट र सही हुनेछ। ओबामाको पालाको जस्तो हुने छैन, जसले इरानलाई ठूलो परिमाणमा नगद दियो र आणविक हतियार निर्माणको बाटो खोलिदियो।'
साथै उनले अगाडि थपेका छन् 'हाम्रो सम्झौता पूर्ण रूपमा फरक छ, तर अहिलेसम्म कसैले यसलाई देखेका छैनन् र यो के हो भन्ने कसैलाई थाहा पनि छैन। यो अझै पूर्ण रूपमा टुङ्गिएको छैन। त्यसैले यसको आलोचना गर्नेहरूको कुरा नकाट्नुहोस्, उनीहरूलाई यसबारे केही थाहा छैन।'
आफ्ना पूर्ववर्ती शासकहरूप्रति टिप्पणी गर्दै ट्रम्पले लेखेका छन्, 'मभन्दा अघिका नेतृत्वले यो समस्या वर्षौँपहिले नै सुल्झाउनुपर्ने थियो, तर उनीहरूले गरेनन्। म खराब सम्झौता गर्दिनँ।' यसैबीच, आइतबार पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरान र अमेरिकाबीचको दोस्रो चरणको वार्ताको आयोजना आफूहरूले गर्ने आशा व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !