लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका तीन हाइड्रोपावर बन्द गर्न आदेश

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका तीन हाइड्रोपावर बन्द गर्न आदेश
सुन्नुहोस्

सिन्धुपाल्चोक : लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन तीन वटा हाइड्रोपावर कम्पनीलाई तत्काल काम रोक्न निकुञ्जले आदेश जारी गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद बनेका भरतप्रसाद पराजुलीको लगानीमा सञ्चालित जुगल गाउँपालिका–२, दिपुमा रहेको ३६ दशमलव ५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर, १५ दशमलव १५ मेगावाट अपर ब्रह्मायणी छिन्ताङ र ७ मेगावाटको अर्को हाइड्रोपावरको काम बन्द गरिएको हो । 

नियमविपरीत सञ्चालनमा रहेका हाइड्रोपावर तत्कालका लागि बन्द गर्न आदेश दिएको निकुञ्जले जनाएको छ । ‘हामीले कानुन पालना नगरी सञ्चालनमा रहेका ३ वटा हाइड्रोपावर तत्कालका लागि बन्द गर्न आदेश दिएका छौं,’ निकुञ्जका चिफ वाडेन श्यामकुमार शाहले भने, ‘उहाँहरुलाई नियम विपरित काम नगर्न पहिल्यै सूचित गरेका थियौं । पछिल्लो पटकको स्थलगत निरीक्षणपछि नियमविपरीत कार्य भएको देखिएकाले तत्कालका लागि काम रोक्न भनेका हौं ।’

शाहले निकुञ्जको बफर जोन क्षेत्रभित्र निर्माण भइरहेका हाइड्रोपावरको स्थलगत वस्तुस्थिति सरकारको सम्बन्धित निकायमा पठाएको बताए । ‘हामीले स्थलगत प्रतिवेदन पठाएका छौँ,’ उनले भने । वातावरण प्रभाव मूल्याङ्कन, जलविद्युत् कम्पनी अनुमति र अन्य सरकारी कागजात पूरा भए पनि जमिनको भोगाधिकार र रुख कटान अनुमति लिएको नदेखिएको उनले बताए । 

निर्माणको क्रममा रहेका तीन वटै हाइड्रोपावर कम्पनीको निजी तथा सार्वजनिक जमिन जुगल गाउँपालिकाको २ नम्बर वडा तेम्बाथाङ, दिपु, साङलुङदेखि जुगलको फेदीसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज र वडा नम्बर ३ को हिमाली क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्छ । उक्त जमिन रेडलाइन र बफरजोन क्षेत्रमा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जुगल गाउँपालिकाको हिमाली भूभाग सबै संरक्षण क्षेत्रभित्र पर्छन् ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो पालिकाभित्र रहेका कतिपय हाइड्रोपावर कम्पनीले भोगाधिकार अनुमति नलिएको बताउँछन् । ‘राज्यले निर्देश गरेका कानुनको पालना गर्नु हामी सबैको दायित्व हो,’ स्याङ्बोले भने, ‘केही हाइड्रोपावरले विना अनुमति निकुञ्जको रेडलाइन र बफर जोनमा वन फँडानी र ब्लास्टिङ गरिरहेको हामीलाई गुनासो आईरहेको छ ।’ आफ्नो पालिकामा जलविद्युत् उत्पादनका लागि आउने लगानीकर्ता हतोत्साही नहुन् भन्ने चाहना रहेको उनले बताए । 

हाइड्रोपावर सञ्चालक सांसद पराजुलीले निकुञ्ज क्षेत्रमा हाइड्रोपावर निर्माण गर्न इआइए गरेको र नेपाल सरकारको सबै निकायबाट अनुमति लिएको बताए । ‘हामीले सबै प्रक्रिया पूरा गरेर हाइड्रोपावर निर्माण सुरु गरेका हौं, यसरी निकुञ्जले रोक्न मिल्छ र ?,’ उनले भने, ‘सरकार र निकुञ्जको नियम फरक–फरक त होइन होेला नि ।’

हाइड्रोपावर निर्माण गर्दा भएको ब्लास्टिङले आफ्ना घरहरु चर्किएको भन्दै स्थानीयले बिरोध गर्दै आईरहेका छन् । घर चर्केर क्षति पुगेको विवरण स्थानीय पीडितले पटक–पटक हाइड्रोपावर कम्पनीलाई दिए पनि त्यसउपर कुनै सुनुवाइ नभएको स्थानीय मिङ्मार शेर्पाले बताए । विस्फोटले गर्दा भूकम्पबाट चिराचिरा परेका भाग फाट्दै गएको उनले सुनाए । निकुञ्जको रेडलाइन र बफर जोन क्षेत्रभित्र दुई सय ५० घरधुरीको बसोबास छ । तर, आफूहरुको पीडा सुनुवाइ नभएको स्थानीयको दुःखेसो छ ।

तेम्बाथाङबाट निर्माणस्थल दीपु र छिन्ताङमा जताततैबाट सडक खनेर लैजाँदा पहिरो लडेर बफरजोन क्षेत्रमा रुखविरुवा पुरेको छ । माथेनटुप्पा, छासम खर्क, मेन्जु, छिताक्पु, छिन्ताङदेखि गाङजे खोलासम्म र दीपुबाट छिन्ताङपट्टिको सयौँ हेक्टर वन फँडानी भएको स्थानीयले बताएका छन् । वन फँडानी भएकाले लोपोन्मुख रेडपान्डा र हिमाली तथा पहाडी क्षेत्रमा बस्ने जंगली बाख्राको वासस्थानमा क्षति पुगेको छ ।

पर्यटन व्यवसायीसमेत रहेका मिङ्मारले छिन्ताङबाट नेपेमाछालसम्म सडक नखन्न हाइड्रोपावरलाई आग्रह गरिएको बताए । हिमाली क्षेत्रमा सडक खन्दा पदमार्ग हराउने र पर्यटक नआउने उनले प्रस्ट्याए । जथाभावी ब्लास्टिङ गर्दा थर्किएर पुर्खौँदेखि औषधीय प्रचलनमा रहेको अमिलो पानीको मूल सुकेको, लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत लेङसी मध्यवर्ती क्षेत्रमा जैविक विविधतामा ठूलो असर परेको, चौँरीको चरिचरनमा क्षति पुगेको, पर्यटन पदमार्ग क्षतविक्षत भएको र सरकारले गत वर्ष मात्रै खुला गरेको जुगल हिमाल आरोहण पूर्वाधारमा गम्भीर असर परेको उनको भनाई छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नुपर्ने काम केही नगरेपछि स्थानीयले गत कात्तिक र मंसिरमा झण्डै एक महिना निर्माणाधीन हाइड्रोपावरको साइटमा अवरोध गरेका थिए । त्यही निहुँमा ११ जना स्थानीयलाई हाइड्रोपावरले निर्माण कार्यमा अवरोध पुर्‍याएको भन्दै मुद्दा लगाएको थियो । त्यसपछि सिन्धुपाल्चोक जिल्ला प्रशासनको रोहवरमा समझदारी भएर पुनः काम सुरु भयो ।

तर, ११ जना स्थानीय निम्तार्के शेर्पा, लाक्पा शेर्पा, पेम्बा शेर्पा, कामी शेर्पा, निमा वाङ्दी शेर्पा, निमा वाङ्जु शेर्पा, तेम्बारिन्जी शेर्पा, फुर्वा शेर्पा, तेन्बिकी शेर्पा, माइला शेर्पा र नामग्याल शेर्पाको मुद्दा सहमतिअनुसार अझै फिर्ता लिइएको छैन । स्थानीयको पक्षमा लागेर विस्फोट र वन फँडानीको विरोध गर्ने हाइड्रोपावरका मजदुरलाई तीन महिनासम्म पारिश्रमिक नदिने र कामबाटै निकालिदिएको स्थानीय बताउँछन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.