अष्ट्रेलियाकी सबैभन्दा कान्छी सगरमाथा आरोहीलाई काठमाडौंमा भब्य स्वागत (तस्बिरहरू)
काठमाडौं : अष्ट्रेलियाकी १८ वर्षीया आरोही बियान्का एडलरलाई विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहणपछि काठमाडौं आगमनमा स्वागत गरिएको छ । उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने सबैभन्दा कम उमेरकी अष्ट्रेलियन बनेकी छन् ।
मेलबर्नकी एडलरले मे २०, २०२६ (बुधबार) बिहान करिब २ः२० बजे (नेपाल समय) सगरमाथाको ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला राखेकी थिइन् । यो उनको दोस्रो प्रयास थियो । अघिल्लो वर्ष खराब मौसमका कारण शिखरभन्दा करिब ४०० मिटर तलबाट फर्किनु परेको थियो । बियान्का बिहीबार दिउँसो आमा र बुबासँग काठमाडौं आइपुगेका थिए ।
एडलरले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहण गरेकी थिइन् । उनीसँग अनुभवी नेपाली शेर्पा टोलीले साथ दिएको थियो । सगरमाथा सफल आरोहणपछि उनी काठमाडौं फर्किएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !