किसानको हात रित्तै, तातोपानी भन्सारको गोदाममा कुहिँदै ३० हजार बोरा मल
सिन्धुपाल्चोक : वर्षे खेतीको समय सुरु भए पनि कृषकले सहजरूपमा रासायनिक मल पाउन सकिरहेका छैनन् । तर, नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीस्थित सुक्खा बन्दरगाह भन्सारमा थन्किएको ३० हजार बोरा रासायनिक मल कुहिन थालेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ मा रहेको भन्सार गोदाममा २९ हजार ८ सय २६ बोरा युरिया मल वर्षौंदेखि अलपत्र अवस्थामा रहेको भन्सार कार्यालयले जनाएको छ । ‘१,४९१ मेट्रिक टन मल यहाँ थन्किएको धेरै समय भइसकेको छ,’ तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले भने, ‘मल लैजाने कुनै जानकारी आएको छैन । मलले बन्दरगाहको अधिकांश भाग ओगट्दा अन्य सामान लोड–अनलोड गर्न कठिनाइ परिरहेको छ ।’
मलबारे थन्किएको बारे कृषि वन तथा पर्यावरण मन्त्रालय र सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भन्सार कार्यालयले जनाएको छ । युरिया मल पग्लिएर बोरा काम नलाग्ने अवस्थामा पुगेको छ । लामो समयसम्म गोदाममै थन्किँदा मल प्रयोगयोग्य नरहने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।
यता, किसान भने खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । ‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती गाउँपालिका– १२ का अबिन्द्र दनुवारले भने । उनी जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन् । मल नहाली खाद्यबाली उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् ।
‘दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ । हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ’, मेलम्ची नगरपालिका–१० का खिलप्रसाद दाहालले भने, ‘तर मल हाम्रै जिल्लाको भन्सारमा कुहिएर बसेको छ, हामीले भने पाउँदैनौं । हामीले सहज रुपमा कहिले मल पाउने ?’ खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ । मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ ।
‘सिन्धुपाल्चोकका किसानहरूले खेतीको समयमा भोग्नुपर्ने मल र बीउको अभाव सधैंको समस्या बनेको छ । यी समस्याहरूको सही पहिचान गरी समाधान खोज्नु र कृषिलाई सहज बनाउनु आजको आवश्यकता हो,’ सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलालले भने, ‘किसानको श्रम र पसिनाको उचित कदर हुनुपर्छ । सरकारले गाउँ–बस्तीका प्रत्येक खेतबारीमा समयमै सुलभ तरिकाले मल पुग्ने वातावरण निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।’ किसानको समस्यालाई सरकारसम्म पुर्याउने उनले बताए ।
भन्सारमा मल कुहिने तर किसानले नपाउने अवस्थाको अन्त्य गरी थन्किएको मललाई वितरण गर्न सरकारसँग माग गरे । ‘जब किसानले निश्चिन्त भएर खेती गर्ने आधार पाउँछन्, तब मात्र हाम्रो समाज आर्थिक रूपमा सबल बन्न सक्छ,’ उनले भने, ‘कृषि क्षेत्रका नीतिगत र व्यवहारिक कठिनाइहरूलाई हटाएर उत्पादन बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । भन्सारमा थन्किएको मलको व्यवस्थापन गरी किसानसम्म पुग्ने वातावरण बनाउन जरुरी छ ।’
किन भन्सारमै अड्कियो मल ?
२०७२ को भूकम्पपछि एकतर्फी रुपमा सञ्चालनमा आएको तातोपानी नाकाबाट सिल्क कम्पनीअन्तर्गत सिल्क मार्केट प्रालि सिनोम्याक, ग्लोबल म्याटिक्स र बिध प्रालिले संयुक्त रुपमा मल ल्याउको लागि कृषि समाग्री कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेका थिए । आर्थिक वर्ष ०७९/८० मा ठेक्का सम्झौता भएको थियो । यी कम्पनीहरूले मिलेर चीनबाट उक्त मल आयात गरेका थिए ।
कृषि समाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्ययका अनुसार यी कम्पनीहरूले आर्थिक वर्ष ०७९/८० मा ७ लाख ३५ हजार बोरा ल्याउने सम्झौता गरेका थिए । पहिलो पटक भएको करार अनुसार समयमा मल नै नल्याइएपछि कारबाहीस्वरुप धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राखिएको पनि थियो ।
‘कम्पनीहरूले २५ सय टनको सम्झौता गरेर ५ सय टन पनि समयमा ल्याएनन्, समयमा नल्याएपछि सुरुदेखि अन्तिम पटकसम्म ६÷७ पटक कयौं दिनको समय सीमा राखेर पत्र बनाइएको थियो, पटक–पटक सहमति पत्र बनाउँदा पनि नल्याएपछि ती कम्पनीलाई कारबाही भइसकेको छ,’ उपाध्ययले भने । कालोसूचीमा राखेकोविरुद्ध सप्लायर्स कम्पनीहरू अदालत गएका थिए ।
भन्सारमा भण्डारण भएको मल ३० दिनभित्र कृषि सामग्री कम्पनीमा पुर्याउने र ठेक्का भएको बाँकी २१ हजार ५ सय टन युरिया १ सय ७ दिनभित्र ल्याउने शर्तमा अन्तिम पटक सम्झौता गरिएको थियो । कृषि सामग्री कम्पनीका अनुसार अन्तिम सम्झौता २०८१ जेठ १५ सम्म ल्याउने थियो । तर, अन्तिम पटक सम्झौता अनुरुप पनि १३ सय टन मल झण्डै ३ सय दिन कटिसक्दा पनि नआएपछि कारबाहीस्वरुप कृषि सामग्रीले यी कम्पनीलाई कालोसूचीमा राखेको उनले जनाए ।
नाकाबाट न्यून कन्टेनर भित्रँदा मल समयमा ल्याउन नसकेको अवस्थाबीच लामो समय सिल्क मार्केटले भन्सारमै मल गोदाम गरेर कम्पनीसँग छलफल गरिरहेको सिल्क मार्केटका प्रतिनिधि विजय शेर्पाले बताए । ‘केही मेट्रिक टन मल सिल्क मार्केट र कृषि सामग्री कम्पनीबीच सहमति भएपछि बल्ल मल काठमाडौं पठाइयो, तर बाँकी मल ल्याउन कृषि सामग्रीले दिएको समय सीमाभन्दा धेरै ढिला भएर यतै थन्कियो, पारिबाट पनि कन्टेनर न्यून छाड्ने समस्या थियो,’ शेर्पाले भने ।
पटक–पटक नाका बन्द भएका कारण सम्झौताअनुसार रासायनिक मल समयमै ल्याउन नसकिएको स्वीकार्दै उनले केही समय ढिलो मल आईपुग्दा कृषि सामग्री कम्पनीले मल लिन नमानेको बताए । मल खरिद गरेर ल्याएको समय भन्दा यो वर्ष मलको मूल्य घटेकाले आयातकर्ताले मूल्य समायोजन गर्न कृषि सामग्री कम्पनीलाई अनुरोध गरेको छ । तर त्यसको जवाफ कृषि सामग्रीले नदिएको समेत शेर्पा बताउँछन् ।
तातोपानी भन्सारका सुक्खा बन्दरगाह गोदाम व्यवस्थापक अनिरुद्र थापाका अनुसार ०८० जेठ १८ देखि सोही असार २ सम्म ३५ सय ९० मेट्रिक टन युरिया मल चीनबाट भित्रिसकेको थियो । जसमा झण्डै २२ सय मेट्रिक टन मल प्रक्रिया पूरा गरेर काठमाडौं पठाइएको थियो । ‘अब लगभग १४ सय टन बाँकी छ , आयातकर्ता र कृषि कम्पनीबीच के भयो हामीलाई थाहा भएन्, यो केश अदालतमा पुगेको भन्ने मात्रै सुनेका छौं,’ उनले भने । अब थन्किएको मलको के हुन्छ ? भन्नेबारे कसैसँग स्पष्ट जवाफ छैन् ।
रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सीधै लैजाने गरेको उनले प्रस्ट्याए । ‘यसअघिदेखि माथिल्लो तहमा थन्किएको मललाई उचित व्यवस्थापन गर्न आग्रह गरेका छौं । हामीलाई सकेसम्म यार्ड खाली भइदिए हुन्थ्यो भन्ने हो,’ तातोपानी सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले भने, ‘सप्लार्यस र कृषि सामग्रीबीच के भइरहेको छ हामीलाई थाहा भएन् ।’ चुडालले सप्लार्यस र कृषि सामग्रीबीच अदालती प्रक्रिया विचारधीन रहेकाले अहिले यही गर्ने भन्ने निश्चित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस !