सुधाको सांकेतिक कक्षा
गौशाला (महोत्तरी) : भनिन्छ, सिक्न र सिकाउनका लागि अनेकौं उपायहरू छन्, मात्र सही नियत र दृढ इच्छाशक्ति आवश्यक छ। यस भनाइलाई ३१ वर्षीया शिक्षिका सुधा गौतमले चरितार्थ गरेकी छिन्। शिक्षिका सुधा महोत्तरीको गौशालास्थित सुस्त श्रवण (बोल्न र सुन्न नसक्ने) बालबालिकाका लागि भरपर्दो शिक्षादाता बनेकी छिन्।
गौशालास्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको एउटा कक्षाकोठामा शिक्षिका गौतमले बेग्लै किसिमले शिक्षा दिँदै आएको देख्न सकिन्छ। कार्पेट ओछ्याइएको कोठाभित्र सुधा एक्लैले २० जना विद्यार्थीलाई सांकेतिक माध्यमबाट दिनहुँ पढाइरहेकी हुन्छिन्। बोल्न र सुन्न नसक्ने ती बालबालिकालाई विभिन्न चित्र र संकेतका माध्यमबाट शिक्षा प्रदान गर्न उनले १५ वर्षअघिदेखि आवासीय सुविधासहितको यो शिक्षण सेवा प्रदान गर्दै आएकी छिन्। महोत्तरी, धनुषा र सर्लाहीका विद्यार्थी सहभागी रहेको यस विशेष कक्षालाई निरन्तरता दिन शिक्षिका गौतम स्थापनाकालदेखि नै सक्रिय रूपमा लागिपरेकी छिन्।
सुधा गौतम आफैं पनि बोल्न र सुन्न नसक्ने, फरक क्षमता भएकी शिक्षिका हुन्। मृदुभाषी, हँसिलो मिजास र शान्त स्वभावकी शिक्षिका गौतम ती बालबालिकालाई शिक्षित बनाउन दिनहुँ बर्दिबासदेखि १५ किलोमिटरको यात्रा तय गरेर विद्यालय आउने गर्छिन्।
भुइँमा कार्पेट ओछ्याएर कक्षाभरि पँलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेन्चमाथि कापी, किताब, कलम, पेन्सिललगायत शैक्षिक सामग्री राखिएका हुन्छन्। सबै विद्यार्थीले शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारको हाउभाउबाट व्यक्त गरेका विभिन्न संकेत र इसाराका भरमा अध्ययन गर्छन्। कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि बोल्न नसक्ने भएकाले उनी र उनका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन।
उनले विशेष शिक्षाअन्तर्गत सांकेतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गरेकी हुन्। कक्षा ११ र १२ को पढाई पोखराबाट पूरा गरेकी उनले सांकेतिक भाषामै सिरहाबाट नेपाली विषयमा बिइडीसम्मको अध्ययन पूरा गरेकी छिन्। त्यसपछि उनले त्रिभुवन माध्यमिक विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा करार सेवामा शिक्षण पेसा सुरु गरेकी हुन्।
विद्यालयको एउटा कक्षाकोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार महतोले बताए। सायद त्यसैले होला, सबै विद्यार्थीहरू पठनपाठनमा निकै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउँछन्। प्रधानाध्यापक महतोका अनुसार उक्त विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ। उनले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पूरा गरिसकेको जानकारी दिए। यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरू थप अध्ययनका लागि सिरहा र सर्लाहीसहितका विभिन्न जिल्लामा जाने गर्दछन्।
प्रधानाध्यापक महतोले भने, ‘बालबालिकाहरूले कसरी शिक्षिका गौतमका सबै कुरा बुझ्छन् र कसरी उनीसँग इसारा र संकेतमै कुराकानी गर्छन्, यो धेरैका लागि अनौठो र आश्चर्यलाग्दो लाग्न सक्छ। तर, बालबालिकाहरूले कुराकानी मात्र नभएर उनको संकेत र इसाराकै भरमा आफ्नो अध्ययन–अध्यापनलाई पनि अगाडि बढाएका छन्। इसारा र संकेतकै भरमा उनीहरू शिक्षिका गौतमले भनेका कुरा लेख्न, गृहकार्य गर्न र कक्षामा प्रस्तुत गरेर देखाउनसमेत सक्षम छन्।’
त्यहाँ अध्ययनरत कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरू सामान्य बालबालिकासरह नै परीक्षामा सहभागी हुने र उत्तीर्ण भई नयाँ कक्षामा जाने गरेका छन्। कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक तथा बालबालिकाका लागि उपयोगी हुने चित्र र संकेतहरू कोरिएका छन्। विद्यार्थीहरूले ती चित्र, संकेत र आफ्ना कापी–किताबका माध्यमबाट अध्ययन गर्ने गर्दछन्।
शिक्षिका गौतमसँग लेखेर संवाद गर्ने क्रममा उनले आफ्ना समस्याहरू यसरी व्यक्त गरिन्, ‘यहाँ अनेकौं समस्याहरू छन्, जसको समाधान हुन अत्यन्त जरुरी छ। सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरू सामान्य मानिसभन्दा अलि फरक हुन्छन्। त्यस्ता क्षमता भएका बालबालिका सामान्य विद्यार्थीभन्दा बढी जिद्दी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृत्तिका हुने भएकाले उनीहरूलाई सम्हाल्न निकै समस्या र कठिनाइ हुने गरेको छ।’ अन्य कक्षामा जस्तो वैकल्पिक शिक्षक–शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्ने बाध्यताका कारण आफू र विद्यार्थी दुवै थकित हुने गरेको उनको गुनासो छ। अरू शिक्षक–शिक्षिकासरह सामान्य परिस्थितिमा उनले बिदासमेत पाउँदिनन्। बिरामी वा अन्य कुनै कारणले उनी विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन्। आफू विद्यालय आउन नसक्ने दिन आफैंले विकल्पका रूपमा अर्को शिक्षकको व्यवस्था गर्नुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
शिक्षिका गौतमले फरक क्षमताका बालबालिका देशभर नै रहेकाले उनीहरूका लागि उपयुक्त पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरूले गम्भीरता देखाउनुपर्ने बताइन्। प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तै बोल्न र सुन्न नसके पनि शिक्षाका माध्यमबाट ज्ञानको ज्योतिको सहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकून् भन्ने उनको चाहना छ।
उनी फरक क्षमता भएका व्यक्तिका हकहितका लागि जिल्ला, प्रदेश र संघमा रहेका विभिन्न संघ–संस्थाहरूमा समेत आबद्ध छिन्। हाल उनी महोत्तरी जिल्ला बहिरा संघको अध्यक्षका साथै राष्ट्रिय बहिरा महासंघ मधेस प्रदेशको सचिव हुन्। त्यसैगरी, राष्ट्रिय बहिरा महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय अपांग महासंघको मधेस प्रदेश सदस्यका रूपमा समेत शिक्षिका गौतम कार्यरत छिन्।
विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी चार हजार रुपैयाँका दरले रकम प्राप्त हुने गरेको छ। सोही रकमबाट विद्यालयले उनीहरूको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन गर्दै आएको छ।नगरपालिका कार्यालयले उक्त कक्षालाई व्यवस्थित गर्नका लागि विभिन्न चरणमा सहयोग गर्दै आएको नगर प्रमुख डा. दीपेन्द्र महतोले बताए। मेयर महतोका अनुसार यस कक्षालाई अझ विस्तार गर्नका निम्ति समय–समयमा विभिन्न संस्थाहरूले आर्थिक, भौतिक तथा अन्य सामग्रीहरू प्रदान गर्दै आएका छन्। जसका कारण यहाँ डेढ दशकदेखि नियमित रूपमा पठनपाठन सुचारु भइरहेको छ।
कक्षा सञ्चालनमा दोभाषे नहुँदा समस्या
यस विद्यालयमा दक्ष दोभाषेको नितान्त आवश्यकता रहेको छ। शिक्षिका गौतम भन्छिन्, ‘यहाँ दोभाषे शिक्षकको खाँचो छ। हामीले अरूका कुरा सहजै बुझ्न नसक्नु र आफ्ना कुरा अरूलाई बुझाउन नसक्दा समस्या भइरहेको छ। दक्ष दोभाषे उपलब्ध भएमा सञ्चारको माध्यमबाट हरेक काम गर्न सहज हुन्थ्यो। यस विषयमा मैले अनेकौंपटक सरोकारवाला निकायसँग माग गरिसकेकी छु तर हाम्रो कुरा कसैले सुनेको छैन। जसले गर्दा होस्टेलमा रहेका बालबालिकालाई सम्हाल्न र उनीहरूको भावना बुझ्न गाह्रो भएको छ। यहाँका सन्देश अभिभावक र अभिभावकका गुनासो सरोकारवाला निकायसम्म पुर्याउन धेरै नै कठिन भइरहेको छ।’
गौशाला नगरपालिकामा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनाथ महतोको विशेष पहलमा २०७१ साल भदौ ९ देखि यहाँ सांकेतिक भाषाको कक्षा सञ्चालनमा आएको हो। जहाँ शिक्षिका गौतमले सुरुका दिनमा निजी स्रोतको तलबमा काम सुरु गरेकी थिइन्। पछि २०७४ साल वैशाखदेखि नेपाल सरकारको दरबन्दीमा पद परिणत भएपछि मात्र उनले सरकारी सेवा–सुविधा प्राप्त गर्न सफल भएकी हुन्।
प्रतिक्रिया दिनुहोस !