फेवा किनारमा ज्याकारान्डाको आकर्षण
पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल वरपर पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो। फेवातालको पुछार
ड्यामसाइड माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृंखलाको अवलोकनका लागि प्रख्यात छ। यस्तै, ताल किनारवरपरका सबै क्षेत्र पर्यटकका लागि उतिकै आकर्षक छन्। तालको मुहान फेवाफाँट विभिन्न प्रजातिका पानी चराको अवलोकनका लागि प्रख्यात छ।
यतिबेला फेवाताल किनारको गौरीघाट क्षेत्र पर्यटकका लागि थप आकर्षकका केन्द्र बनिरहेको छ। तालको सुन्दर दृश्य, रानीवनको हरियाली दृश्य अवलोकन र नौकाविहारका लागि आकर्षक यस क्षेत्र यतिबेला गौरीघाट पार्कको फेवा किनारका तीनवटा बोटमा फुलेका ज्याकारान्डा फूलको सुन्दरताले पर्यटकलाई आकषर्ण गरेको छ।
फेवातालको नीलो पानीको रंगमा ज्याकारान्डा फूलको वैजनी रंगको सुन्दरता थपिएपछि फेवाताल किनार गौरीघाट पार्कमा तस्बिर र भिडियो खिच्ने स्वदेशी र विदेशी पर्यटकको भिड बढेको छ।
फेवाताललाई पृष्ठभूमि पारेर ज्याकारान्डा फूलसँग रुखमा चढेरै पनि विदेशी तथा स्वदेशी पर्यटकले तस्बिर खिचाउने गरेका छन्। ज्याकारान्डा फूल चैतको मध्यमा फुल्न थाल्छ र वैशाखभर सुन्दरता छर्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस !