सिन्धुपाल्चोकमा अतिक्रमित संरचना हटाउने तयारी, धमाधम तथ्यांक सकंलन
सिन्धुपाल्चोक : सरकारी तथा सार्वजनिक जग्गामा अवैधरूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सिन्धुपाल्चोकमा पनि सुरु भएको छ। अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत जिल्लाका नदी र सडक आसपासका अवैध संरचनाको तथ्यांक सकंलन गर्न थालिएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
‘हामी नदी तथा सडक छेउका सबै अवैध संरचनाको तथ्यांक सकंलन गर्दैछौं, सकिएपछि कारबाही सुरु हुन्छ’, प्रजिअ अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम थालिनेछ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण गर्न र अतिक्रमण हटाउने योजना तत्काल पेश गर्न समेत निर्देशन दिएको छ। प्रशासनको यो कदमसँगै वर्षौंदेखि सार्वजनिक स्थल ओगटेर बनाइएका संरचनाहरू भत्किने लगभग पक्का देखिएको छ।
प्रशासनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाभर रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन गर्न र त्यस्ता संरचना हटाउने कार्ययोजना पठाउन भनेको हो। यस निर्णयले खोला किनार, सडक क्षेत्र, खुला चौर, वन क्षेत्र तथा सार्वजनिक उपयोगका जमिनमा बनाइएका अवैध घर–टहरा सञ्चालन गर्नेहरूमा त्रास फैलिएको छ।
स्थानीयस्तरमा प्रभाव र पहुँचका भरमा वर्षौंदेखि कब्जा गरिएका सार्वजनिक स्थल अब प्रशासनको ‘एक्सन मोड’ मा परेपछि सिन्धुपाल्चोकमा ठूलो हलचल सुरु भएको छ। सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची, बलेफी, सुनकोशी नदी लगायत र बन्देउदेखि चीनको सीमाना लिपिङसम्म सडक दायाँबायाँ अवैध संरचना रहेका छन्। यसअघि कयौं पटक प्रयास भएपनि कुनै सरकारले हटाउन सकेका थिएनन्।
प्रतिक्रिया दिनुहोस !