अन्योलका बीच साफ च्याम्पियनसिपको तयारीमा नेपाली टोली

अन्योलका बीच साफ च्याम्पियनसिपको तयारीमा नेपाली टोली
सुन्नुहोस्

काठमाडौं  : भारतको गोवामा आगामी जेठ ११ गतेबाट आठौं साफ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।  यस प्रतियोगितामा नेपाली टोलीले भाग लिन पाउने कि नपाउने भन्ने विषय नै हाल सर्वाधिक चर्चामा छ । नेपाली महिला फुष्टबल टोली हाल यहि प्रतियोगिताको लागि गत हप्ताबाट प्रशिक्षणमा रहेको छ ।

६ पटकको उपविजेता नेपाली महिला फुटबल टोलीले यस पटक प्रतियोगिता नै खेल्न नपाउने पो हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यसको कारण हो, हाल नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय खेलकुद परिषद (राखेप) को निलम्बनमा पर्नु । राखेपले एन्फालाई ३ महिनाको प्रतिबन्ध लागाएको छ । जसका कारण हाल नेपाली फुटबल मोफसलमा सीमित छ ।

null

यहि अन्योलका बीच नेपाली महिला फुटबल टोली भने तयारीमा जुटेको छ । राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) र सविता राना मगर चोटका कारण टिमबाट बाहिर रहेका छन् । जसका कारण केही युवा खेलाडीले टिममा मौका बनाएका छन् । साम्बा र सविता टिममा नहुँदा उनीहरुको कमी महसुस हुने प्रशिक्षक नवीन न्यौपाने र टिमका अनुभवी खेलाडीहरुले बताए । प्रशिक्षक न्यौपाने भन्छन्, ‘साम्बा र सविताले धेरै मेहनत गरेर त्यो स्थान बनाएका हुन् । उनीहरुको कमी पक्कै महसुस हुनेछ । तर हामीले नयाँ खेलाडीहरुलाई उनीहरुको स्थानमा तयार गरिरहेका छौं’, प्रशिक्षक न्यौपानेले भने ।

अनिता बस्नेत पनि साम्बा र सविताको कमी महसुस हुने बताउँछिन् । उनले भनिन्, ‘साम्बा र सविताको कमी महसुस हुन्छ । तर हामीसँग उनीहरुको कमी पूरा गर्ने नयाँ खेलाडीहरु आउनु भएको छ ।’ राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य प्रिती राई, रेनुका नगरकोटी, एञ्जिला तुम्बापो सुब्बा र सरु लिम्बु व्यावसायिक फुटबलमा व्यस्त छन् ।

nullयी खेलाडीहरुलाई फिफा विन्डो सुरु हुनु एक हप्ता अगाडि नै बोलाएर टिममा तयारी गराउने प्रशिक्षक नवीनको रणनीति रहेको छ । ‘यी खेलाडीहरुले अन्तर्राष्ट्रिय एक्सपोजर पाइरहेका छन् । तर हामी उनीहरुलाई फिफा विन्डो सुरु हुनु एक हप्ता अगाडी नै बोलाएर टिम तयार पार्ने योजनामा छौं’, प्रशिक्षक नवीन न्यौपानेले भने । 

 राजनीतिक तनाव थोपिएका खेलाडीको मानसिकतालाई तयार पार्दै प्रशिक्षक नवीन
 अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । तर खेलाडी भने खेल्न पाउने र नपाउने अन्योलका बीच राजनीतिक विवादलाई लिएर प्रशिक्षण गर्न बाध्य छन् । नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षण हाल नवीन न्यौपानेले सम्हालिरहेका छन् । ६ पटकको उपविजेता रहेको नेपाल हाल मानसिक रुपमा छिन्नभिन्न छ । राजनीतिक अन्योल र अन्तर्राष्ट्रिय निकायबाट समेत निलम्बनमा पर्ने हो, कि भन्ने डरैडरमा नेपाल साफ च्याम्पियनसिप खेल्ने र जित्ने लक्ष्य बोकेर प्रशिक्षण गरिरहेको छ ।

nullयही लक्ष्यलाई डोर्‍याइरहेका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘हाम्रो लक्ष्य उपाधि हो । उपाधिलाई बाहिरी कुराले असर नपारोस् ।’ साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेका बेला उनले पत्रकारसँगको कुराकानीमा भने । दक्षिण एसियाली फुटबलको लागि साफ च्याम्पियनसिप दक्षिण एसियाली क्षेत्रको विश्वकप नै हो । यस क्षेत्रको फुटबल टोलीका लागि साफ च्याम्पियनसिप जित्नु भनेको विश्वकप जिते सरह नै हो । त्यसैगरी नेपाली महिला टोलीले पनि यसलाई विश्वकप सरह नै हेरेको छ ।

प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘नेपालको लागि साफ च्याम्पियनसिफ विश्वकप सरह हो । हामी नतिजाकै लागि खेल्छौं ।’ नेपाली फुटबल तनावको स्थितिमा रहँदा खेलाडीलाई पहिलो प्रशिक्षणको रूपमा दिइने भनेको मानसिक सुदृढता रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘यो अवस्थामा सबैभन्दा मुख्य कुरा भनेको खेलाडीलाई मानसिक रूपमा तयार बनाउनु हो ।’

nullखेलाडीहरू भने अन्योलका बीचमा प्रशिक्षण लिरहँदा साफ च्याम्पियनसिपका लागि तयार भएको बताउँछन् । राष्ट्रिय टिमकी अनुभवी खेलाडी अनिता बस्नेत भन्छिन्, ‘हाम्रो टिमको तयारी राम्रो भइरहेको छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै रहने छ ।’ त्यस्तै अनुभवी डिफेन्डर गीता राना पनि नयाँ खेलाडीको आगमनले टिममा खेल्न सहज भएको बताउँछिन् । उनले भनिन्, ‘टिममा नयाँ बहिनीहरु आउँदा सहज भएको छ । हामीले गोल्डकपहरु खेलिरहेका थियौं । त्यसैले हामी प्रतियोगिताको लागि तयार छौं ।’  

एन्फा भन्छ, ‘हामी तयार छौं, प्रतियोगिता सरकार, फिफा र एएफसीको हातमा छ’
अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरु प्रतियोगितामा सहभागिता जनाउन सबै रुपमा तयार रहेको बताउँछ । एन्फाका प्रवक्ता तथा महिला टिमका व्यवस्थापक रहेका सुरेश शाह भन्छन्, ‘हामीले हाम्रो तर्फबाट गर्ने सम्पूर्ण कामहरु गरिरहेका छौं । टिम दर्ता तथा कागजातहरु पेस गरिसकेका छौं । टिमले पनि मेहनतका साथ तयारी गरिरहेको छ ।’

अन्योल र राजनीतिक चपेटामा फसेको नेपाली फुटबलको मारमा हाल नेपाली महिला फुटबल टोली छ । यहि राजनीतिक झमेलाको बीचमा अघिल्लो महिना तय भएको फिफा सिरिज नेपाली टोलीले खेल्न पाएन । नाम फिर्ता लिएर बस्यो । यो घाउ नेपाली महिला खेलाडीको दिलमा नराम्रोसँग बस्यो । यसका लागि खेलाडीले तयारी पनि सुरु गरेका थिए ।

nullफिफा सिरिज नेपालले गुमायो । त्यस्तो सिरिजहरु चाहिँ हामीले लिन सक्नुपर्छ । त्यो हामीले गुमाउन हुँदैनथ्यो । ठूला टिमसँग खेल्दाको अनुभव साफ च्याम्पियनसिप जस्तो महत्वपूर्ण प्रतियोगितामा सदुपयोग हुन सक्थ्यो’, राष्ट्रिय टिमका प्रशिक्षक नवीन न्यौपानेले साफको तयारीको बारेमा पत्रकारसँग कुरा गर्दै भनेका थिए ।

साफ च्याम्पियनसिपका लागि टिमले तयारी गरेको एक हप्ता भयो । जसमा ३५ खेलाडीले दिनको २ समय प्रशिक्षण लिइरहेका छन् । यी खेलाडीको पुनः एक पटक राजनीतिक कारणले खेल्न नपाउने वातावरण आउने हो कि भन्ने डर बढ्दै गएको छ । यस बीचमा एन्फाका महासचिव किरण राईले अन्नपूर्ण पोष्टसँग भने, ‘हामी खेल्न पाउनेमा आशावादी रहँदै खेलाडीलाई प्रशिक्षणमा राखेका हौं । अब बाँकी कुरा फिफा, एएफसी र नेपाल सरकारको हातमा छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.