डोजरसहित मैदानमा सिस्ने गाउँपालिका, अतिक्रमित संरचना भत्काउन थाल्यो
रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिकाले सार्वजनिक सडक तथा पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन डोजर अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायत क्षेत्रमा सडक मिचेर निर्माण गरिएका घरटहरा, व्यावसायिक तथा अस्थायी संरचनामाथि शुक्रबारबाट डोजर चलाइएको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पर्ने सडक क्षेत्र अतिक्रमणका कारण सडक साँघुरो हुनुका साथै यातायात सञ्चालन, राजमार्ग विस्तार तथा सार्वजनिक सुरक्षामा समस्या उत्पन्न हुँदै आएको थियो । स्थानीय तहले यसअघि सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
गाउँपालिकाले सूचना जारी गर्दै राजमार्गको मापदण्डभित्र परेका संरचना स्वेच्छिक रूपमा हटाउन समय सीमा समेत दिएको थियो । तर केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि गाउँपालिका डोजरसहित मैदानमा उत्रिएको हो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सार्वजनिक सडक र सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
उनले पटक–पटक सम्झाउँदा, आग्रह गर्दा र समय दिँदा समेत अटेरी गरिएकाले कानुन कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।
संरचना हटाउने क्रममा सम्भावित विवादलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

जिल्ला प्रशासनले पनि राजमार्ग क्षेत्र मिचेर निर्माण गरिएका अन्य संरचनामाथि पनि क्रमशः कारबाही गरिने चेतावनी दिएको छ । सिस्ने गाउँपालिकाका अनुसार हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिनेछ । साथै सार्वजनिक सडक अतिक्रमण गरी निर्माण कार्य नगर्न स्थानीयवासीलाई आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !