ट्रम्पले घोषणा गरे रुस–युक्रेन युद्धमा तीन दिने युद्धविराम
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीन दिने युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै युद्धविराम शनिबारदेखि सोमबारसम्म रहने जानकारी दिएका हुन् ।
‘म खुशीका साथ घोषणा गर्दछु कि रुस र युक्रेनबीचको युद्धमा तीन दिने युद्धविराम (मे ९, १० र ११) हुनेछ’, ट्रम्पले पोस्ट गरेका थिए । त्यसको केही समयपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि एक्समार्फत अमेरिकी प्रयासअन्तर्गत चार वर्षभन्दा लामो युद्ध अन्त्य गर्न तीन दिने युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।
पछि रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले ‘यस विषयमा अमेरिकी प्रशासनसँग टेलिफोन सम्पर्कमार्फत सहमति भएको’ बताएका छन् । उनले अमेरिकी प्रतिनिधिहरूले कीभसँग पनि सम्पर्क गरेको जानकारी दिए । उनका अनुसार हालै राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच भएको टेलिफोन वार्तापछि यो सहमति भएको हो । वार्तामा दुवै नेताले दोस्रो विश्वयुद्धका बेला आफ्ना देशहरू सहयोगी रहेको उल्लेख गर्दै विजय दिवस समारोहका अवसरमा युद्धविरामको सम्भावनाबारे छलफल गरेका थिए ।
यसअघि रुसले मे ९ को दोस्रो विश्वयुद्ध विजय दिवसका अवसरमा दुई दिने एक पक्षीय युद्धविराम घोषणा गरेको थियो । युक्रेनले पनि आफूहरूले युद्धविराम प्रस्ताव गरेको तर मस्कोले बेवास्ता गरेको बताएको थियो । ‘यो अनुरोध मैले प्रत्यक्ष रूपमा गरेको थिएँ’, ट्रम्पले भनेका छन् । उनले रुसी र युक्रेनी समकक्षीलाई सहमतिका लागि धन्यवाद पनि दिएका छन् । ‘रुसमा विजय दिवसको उत्सव मनाइँदैछ, तर युक्रेनका लागि पनि यो महत्वपूर्ण हो, किनभने दोस्रो विश्वयुद्धमा उनीहरूको पनि ठूलो भूमिका थियो’, ट्रम्पले भने ।
उनका अनुसार युद्धविराम अवधिमा सबै प्रकारका सैन्य गतिविधि रोक्ने र दुवै देशबाट १,०००–१,००० युद्धबन्दी साटासाट गरिनेछ । जेलेन्स्कीले पनि युद्धबन्दी आदानप्रदान हुने पुष्टि गरेका छन् । ‘युद्ध अन्त्यका लागि वार्ता जारी छ’, ट्रम्पले भने, ‘हामी हरेक दिन समाधानतर्फ नजिकिँदै गइरहेका छौं ।’ ‘आशा छ, यो लामो, घातक र कठिन युद्धको अन्त्यको सुरुआत हुनेछ’, उनले भनेका छन् ।
थकानपूर्ण युद्ध
ट्रम्पले २०२४ को राष्ट्रपतीय चुनाव अभियानमा युक्रेन युद्ध अन्त्य गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएका थिए । उनले आफू पुनः सत्तामा फर्किएको २४ घण्टाभित्र युद्ध अन्त्य गर्न सक्ने दाबी समेत गरेका थिए ।
तर करिब डेढ वर्ष बितिसक्दा पनि वाशिङ्टनले कुनै ठोस सफलता हासिल गर्न सकेको छैन । रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्य गर्ने खास इच्छाशक्ति नदेखाएको विश्लेषण गरिएको छ । यो युद्ध अहिले थकानपूर्ण युद्धमा परिणत भएको छ, जसमा रुसले आफ्नो विशाल सैन्य शक्तिका कारण अन्ततः जित्ने विश्वास गरेको देखिन्छ ।
हाल शान्ति वार्तामा मुख्य विवादको विषय युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्र बनेको छ, जसको करिब तीन–चौथाइ भाग रुसको नियन्त्रणमा छ । मस्कोले युक्रेनी सेनालाई अझै कब्जा गर्न नसकिएको क्षेत्रबाट फिर्ता हुन माग गरेको छ । तर युक्रेनले आफ्नो नियन्त्रणमा रहेको भूभाग नछोड्ने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस !