पर्यटन उद्योगमा अग्रणी आग्रह

पर्यटन उद्योगमा अग्रणी आग्रह
सुन्नुहोस्

होटल व्यवस्थापनमा स्नातक र आतिथ्य व्यवस्थापनमा स्नातकोत्तार गरेका ३० वर्षीय अर्याल विगत एक दशकदेखि पोखराको प्रतिस्पर्धी पर्यटन उद्योगमा जुझारु रूपमा क्रियाशील छन्।

आग्रह अर्याल पोखराका एक स्थापित युवा पर्यटन व्यवसायी हुन्। होटल व्यवस्थापनमा स्नातक र आतिथ्य व्यवस्थापनमा स्नातकोत्तर गरेका ३० वर्षीय अर्याल विगत एक दशकदेखि पोखराको प्रतिस्पर्धी पर्यटन उद्योगमा जुझारु रूपमा क्रियाशील छन्। उनको व्यावसायिक यात्रा निकै कम उमेरमै सुरु भयो। सानै उमेरमा बुवा गुमाउनुपरेपछि उनलाई फेवाताल किनारमा रहेको ‘होटल क्राउन हिमालय’ को व्यवस्थापन र सञ्चालनको भारी जिम्मेवारी आइलाग्यो। 

दुई दिदीहरू पछिका एक्ला छोरा आग्रह, जो उन्मुक्त भएर प्लस–टु पढ्ने उमेरका थिए, परिस्थिति फेरिएपछि एकाएक होटलको कार्यकारी भूमिका सम्हाल्नुपर्ने बाध्यतामा पुगे। साथीभाइसँग रमाउने उमेरमा अनुभवी प्रबन्धकहरूलाई समेत चुनौती हुने ठूलो होटलको व्यवस्थापनमा होमिनुपर्दा सुरुका दिनमा उनी निकै आत्तिने गर्थे। ‘सुरुमा निकै गाह्रो भएको थियो, जिम्मेवारीको बोझले थकाइ लाग्थ्यो,’ उनी विगत सम्झन्छन्, ‘विद्यार्थी भएकाले मेरो प्राथमिकता शिक्षा नै थियो, त्यसैले अध्ययन र व्यवसायको दोहोरो बोझले थिचेको थियो।’ तर, होटल व्यवस्थापनकै विद्यार्थी भएकाले उनले विस्तारै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न थाले र दुवै पक्षलाई सँगसँगै लैजान सहज हुँदै गयो।

‘कामले काम सिकाउँछ’ भने झैं उनले समय व्यवस्थापनको कला सिक्दै गए। ‘समयसँगै मैले समय व्यवस्थापनको सूत्र बुझेँ, जसले अध्ययन र होटल सञ्चालनलाई सहज बनायो,’ उनी भन्छन्, ‘कुनै पनि व्यवसाय सुरुमै सजिलो हुँदैन। सफल हुन समर्पित र दृढ हुनुपर्छ। यदि तपाईंसँग सकारात्मक दृष्टिकोण छ भने असम्भव केही छैन।’

देशको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा होटल व्यवसायमा तीव्र प्रतिस्पर्धा छ। होटल र रिसोर्टहरू घरैपिच्छे जस्तै छन्। उनले हाल ३५ जना कर्मचारीको सहयोगमा दैनिक सय जनाभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने होटल व्यवस्थापन गर्दै आएका छन्। पछिल्लो समय लेकसाइडमा ‘अपार्टमेन्ट’ र सस्तो मूल्यका ‘होस्टेल’हरू खुल्ने क्रम बढेकाले बजारमा उच्च प्रतिस्पर्धा रहेको उनको बुझाइ छ।

‘प्रतिस्पर्धी बजारमा सफल हुन पर्यटकलाई खुसी पारेर सेवा दिनु नै प्रमुख सर्त हो,’ उनी आफ्नो सफलताको रहस्य खोल्छन्, ‘होटलको स्थापनाकाल सन् २०१० देखि काम गर्ने कर्मचारी दाइहरूले मलाई दुःखको समयमा ठूलो साथ दिनुभयो। कर्मचारीहरूको अथक मेहनत र पारिवारिक सहयोगले नै म यहाँसम्म आइपुगेको हुँ।’

पर्यटन एउटा संवेदनशील उद्योग भएकाले सानो कमजोरीले पनि पर्यटक भड्किन सक्ने उनी ठान्छन्। त्यसैले एक पटकको नाफा मात्र हेर्नुभन्दा भविष्यलाई ध्यानमा राखेर पाहुनालाई व्यवहार गर्ने उनको शैली छ। ग्राहकका अपेक्षाहरू पूरा गर्न सक्नु नै यस क्षेत्रका सफल व्यवसायीको गुण भएको उनी बताउँछन्। 

‘यसो गर्न नसक्ने हो भने आतिथ्य सत्कारजस्तो संवेदनशील व्यवसायभन्दा अन्य वैकल्पिक करियर रोज्नु राम्रो हुन्छ,’ उनको सुझाव छ। उनका अनुसार व्यवसायमा सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको कर्मचारी व्यवस्थापन र गुणस्तरीय सेवाको निरन्तरता हो। कर्मचारीलाई समयसापेक्ष तालिम दिनुपर्ने र पर्यटकका प्रतिक्रिया एवं सुझावहरूलाई ध्यानमा राखेर सेवा परिमार्जन गर्नुपर्ने उनी बताउँछन्। आजको डिजिटल युगमा पर्यटन व्यवसायमा जति अवसर छ, त्यति नै चुनौती पनि थपिएका छन्। पर्यटकले अनलाइनमा दिने सकारात्मक ‘रिभ्यु’ले व्यापार बढाउन मद्दत गर्छ भने एउटै नकारात्मक टिप्पणीले व्यवसायमा ठूलो धक्का पुर्‍याउन सक्छ।

नेपालबाट दक्ष र अनुभवी जनशक्ति वैदेशिक रोजगारीका लागि पलायन भइरहेकोमा उनी चिन्तित छन्। देशमै उद्यमशीलता बढाउन सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘म त पारिवारिक व्यवसायमा जोडिएँ, तर नयाँ उद्यम गर्न चाहनेहरूका लागि सरकारले दर्ता र खारेजीको प्रक्रियागत झन्झट हटाएर सहज वातावरण बनाइदिनुपर्छ। उद्योग व्यवसाय दर्ता गर्ने र बन्द गर्नुपरेमा पनि कर चुक्तापछि सहजै निकास पाउने व्यवस्था भएमा युवाहरू स्वदेशमै आकर्षित हुने थिए।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.