‘दुर्गा मोही’ धनकुटाको ब्रान्ड

‘दुर्गा मोही’ धनकुटाको ब्रान्ड
सुन्नुहोस्

उनले उत्पादन गरेको मोहीले धनकुटामा ब्रान्ड बनाएको छ।

धनकुटा–२ भीरगाउँ (किन्ताङ) का युवा व्यवसायी दुर्गा (राजु) घिमिरे ३५ वर्षका युवा उद्यमी हुन्। उनले परम्परागत सीपलाई आधुनिक व्यवसायसँग जोड्दै आत्मनिर्भरता र रोजगारी सिर्जनाको उदाहरण प्रस्तुत गरेका छन्। परिवारबाट सिकेको सीपलाई आधार बनाएर सुरु गरिएको उनको दुग्धजन्य व्यवसाय अहिले विस्तार हुँदै स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ।

उनले उत्पादन गरेको मोहीले धनकुटामा ब्रान्ड बनाएको छ। अस्वस्थकर चिसो पेय पदार्थको विकल्पको रूपमा  ‘दुर्गा मोही’ धनकुटाको ब्रान्ड बनेको छ। घिमिरेले किन्ताङ र धनकुटा–१ हिलेमा श्री सिंहदेवी डेरी उद्योग सञ्चालन गरेका छन्। किन्ताङस्थित उद्योगमा छुर्पी, नौनी घिउजस्ता परिकार उत्पादन हुन्छन् भने हिलेमा दही र मोही उत्पादन गरिन्छ। पछिल्ला वर्षहरूमा उनले उत्पादन गर्ने मोही धनकुटाको चिनारीकै रूपमा स्थापित हुन थालेको छ।

विराटनगरमा केही वर्ष मार्केटिङ क्षेत्रमा काम गरेका घिमिरे अपेक्षाअनुसार आम्दानी नभएपछि २०७२ सालमा गाउँ फर्किए। बुबा डोलनाथले सञ्चालन गर्दै आएको डेरी उद्योगमा काम सिक्दै उनले व्यवसायलाई व्यवस्थित बनाउने सोच उनले बनाए। त्यसपछि २०७५ मंसिर २० गते उद्योग दर्ता गरेर औपचारिक रूपमा सञ्चालनमा ल्याए। सुरुमा सानो लगानीबाट सुरु भएको यो व्यवसाय अहिले उल्लेखनीय रूपमा विस्तार भइसकेको छ। करिब ४०–५० हजार रुपैयाँबाट सुरु गरिएको उद्यममा हाल एक करोड रुपैयाँभन्दा बढी लगानी पुगिसकेको छ। वार्षिक आम्दानी १४–१५ लाख रुपैयाँको हाराहारीमा रहेको छ।

हाल उद्योगमा दैनिक करिब ८ सय लिटर दूध प्रशोधन हुन्छ। किन्ताङमा करिब ३ सय लिटर र हिलेमा ५ सय लिटर दूधबाट विभिन्न दुग्धजन्य परिकार उत्पादन भइरहेका छन्। उत्पादन धनकुटाका स्थानीय बजारसँगै संखुवासभा, भोजपुर, धरान र इटहरीसम्म पुग्ने गरेको छ। घिमिरेको व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जनामा पनि गरेको छ। हाल पाँच जना स्थानीय युवाले उद्योगमा काम गरिरहेका छन्। आफ्नै ठाउँमा बसेर अरूलाई रोजगारी दिन पाउँदा खुसी लाग्ने उनी बताउँछन्। 

पछिल्लो समय दूधको बजारमा किसानले भुक्तानी समयमा नपाउँदा समस्या बढ्दै गएको छ। दुग्ध संस्थानहरूले दूध लगेपछि पनि समयमै रकम नदिँदा किसानको लाखौँ रुपैयाँ बक्यौता रहँदै आएको छ, जसले उनीहरूलाई गम्भीर मारमा पारेको छ। तर उनले भने दूधलाई विभिन्न परिकारमा रूपान्तरण गरी स्थानीय बजारमै नगद बिक्री गर्दै आएका छन्। यसले किसानले उत्पादन गरेको दूध उधारोमा नभई नगदमा रूपान्तरण हुने अवसर सिर्जना गरेको छ।

व्यवसाय सञ्चालनमा केही चुनौतीहरू पनि रहेका छन्। विशेषगरी बिजुली र पूर्वाधारसम्बन्धी समस्या अझै समाधान हुन सकेको छैन। लाइन विस्तारका लागि पटक–पटक प्रयास गर्दा पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।  सुरुवाती दिनहरू भने अझ धेरै चुनौतीपूर्ण थिए। हिलेमा उद्योग सुरु गर्दा आवश्यक पुँजी र सामग्री थिएन। त्यहीबेला पाख्रीवासका व्यवसायी हर्क बस्नेतले दिएको दुई क्यान दूधबाट उनले काम सुरु गरेका थिए। 

अहिले भने उद्योग दैनिक सयौँ लिटर दूध प्रशोधन गर्ने अवस्थामा पुगेको छ। घिमिरेले उत्पादन गर्ने छुर्पी, नौनी घिउ, पनिर, दही र मोहीको बजार क्रमशः विस्तार हुँदै गएको छ। उनका अनुसार दुग्धजन्य व्यवसाय १२ महिना चल्ने दिगो व्यवसाय हो, जसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ। नेपालमै बसेर पनि केही गर्न सकिन्छ। परिश्रम र लगनशीलता भए आफ्नै ठाउँमा सफल हुन सकिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.