भोजपुरमा उँभौलीको रौनक

भोजपुरमा उँभौलीको रौनक
सुन्नुहोस्

भोजपुर : यतिबेला गाउँघरहरू वसन्तले हरियाली छन्। वनजंगल पाउलिएका छन्, खोल्साखोल्सीमा पानीका मुहान रसाएका छन्। बेंसीका खेतहरूमा किसानहरू बिउब्याड राख्न व्यस्त छन्। चराचुरुंगीहरू उकालोतर्फ उडिरहेका छन्। प्रकृतिको यही लयसँगै किरातहरूको उँभौली धुमधामले सुरु भएको छ।

वैशाख पूर्णिमासँगै सुरु भएको उँभौलीले यतिबेला किरात बस्तीहरूमा विशेष रौनक थपेको छ। ढोल–झ्याम्टाको गुञ्जयमान, देउथान, चौतारा, भञ्ज्याङहरूमा बाक्लो जमघट र साकेन्वा सिलीको लयले गाउँहरू जीवन्त बनेका छन्। किरात राई समुदायमा साकेला, साक्खेवा वा साकेन्वा नामले चिनिने यो पर्व प्रकृति र कृषि जीवनसँग गहिरोसँग जोडिएको छ।

मुन्दुमी परम्पराअनुसार उभौली अन्नबालीको सुरक्षा, समृद्धि र सुख शान्तिको कामनासँग सम्बन्धित छ। यस अवसरमा इष्टदेवता सुम्निमा र पारुहाङको प्राकृतिक पूजा गरिन्छ। हरेक किरात राईहरूको घरघरमा हुटलुङ खुटयाइने (वैशाख पूर्णिमाको विधिवत् पितृ पूजा) गरिन्छ। स्थानीय नाक्छोङ (धामी) गंगा राईका अनुसार न्वागी, सिमे, भूमे तथा भूमिपूजामार्फत कुखुरा, कोदोको जाँड र रक्सी ‘सुप्तुलुङ’ (तीनचुल्हो) र माङ (पितृ) लाई अर्पण गर्ने चलन छ।

‘उँभो’ अर्थात् उकालो लाग्ने समयको प्रतीकका रूपमा उँभौली पर्व मनाइन्छ। बाली रोपिसकेपछि लेकतर्फ सर्ने मौसमी अभ्याससँग जोडिएको यो पर्व किरात राईहरूले वैशाख पूर्णिमादेखि करिब १५ दिनसम्म मनाउने गर्छन्। ‘यो हाम्रो पहिचान र संस्कार हो, पुर्खाको सम्झना पनि, हरेक वर्ष यही समयमा आफ्ना इष्टदेउ, पितृदेउलाई पुजिन्छ’ नाक्छोङ गंगा राई सुनाउँछिन्, ‘उभौलीले किरात समुदायलाई एकताबद्ध बनाएको छ। आफ्नो संस्कतिलाई जोगाइँदै आइएको छ।’ उँभौलीको अर्को विशेषता कन्दमूल खाने परम्परा हो। काँचो वनतरुलको टीका लगाएर सुरु गरिने यो अभ्यास पुर्खाहरूको जीवनशैलीको स्मरणका रूपमा लिइने गरिन्छ। 

किरात संस्कृतिविद् शरणबहादुर राईका अनुसार यसले आदिम जीवनसँगको सम्बन्ध झल्काउँछ। भने, ‘हामीले हाम्रा पुर्खाहरूले सिकाएका हरेक संस्कारलाई पुस्तान्तरण गर्ने हरप्रयास गरिरहेका छौं। यसैकारण आज हाम्रो पहिचान जीवित छ, हामी छांै।’ उँभौलीको मुख्य आकर्षण भने साकेन्वा सिली नृत्य हो। ढोल, झ्याम्टा र बिनायोको तालमा गोलबन्द भएर नाचिने यो नृत्यमा पशुपन्छीको चाल र कृषि कर्मको अनुकरण गरिन्छ। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर प्रस्तुत गरिने यो नृत्यले किरात संस्कृतिको मौलिक पहिचान उजागर गर्छ।

संस्कृतिविद् पाविहाङ राईका अनुसार उभौली प्रकृतिसँगको सहअस्तित्वको प्रतीक हो। ‘वैशाख पूर्णिमादेखि सूर्य उत्तरायणतर्फ लाग्ने भएकाले यसलाई मुन्दुमी भाषामा ‘दोङङावा’ भनिन्छ।’ उनले सुनाए। किरात सभ्यताले कृषि युगको सुरुवातसँगै विकास गरेका यस्ता संस्कारहरू आज पनि जीवित रहेको संस्कृतविद्हरू सुनाउँछन्।

किरात सुनुवार, राई, लिम्बू र याक्खा समुदायले उँभौली–उँधौलीलाई विधिपूर्वक मनाउँदै आएका छन्। भोजपुरसँगै खोटाङ, ओखलढुंगा र धनकुटामा पनि यो पर्व धुमधामका साथ मनाइन्छ। बसन्तसँगै सुरु भएको उभौलीले यतिबेला पूर्वी पहाडका बस्तीहरूमा केवल उत्सवमात्र होइन, संस्कृति, प्रकृति र समुदायबीचको सम्बन्धलाई पुनः जीवन्त बनाइरहने मौलिक चाडको रूपमा लिइन्छ।

भातृत्व बढाउने पर्व
परम्परागत धार्मिक तथा सांस्कृतिक चाड उभौलीसँगै नाचिने साकेला (साकेन्वा) यतिबेला भोजपुरमा केवल सांस्कृतिक अभ्यासमा सीमित छैन। अन्य समुदायबीच भाइचारा र सद्भाव बढाउने माध्यमका रूपमा विकसित हुँदै गएको छ।

पछिल्लो समय किरातमात्र नभई गैर–किरात समुदायका मानिसहरू पनि साकेला नाचको तालमा रमाउन थालेका छन्। साकेला केवल धार्मिक विधि नभई मनोरञ्जनात्मक र समावेशी सांस्कृतिक अभ्यासका रूपमा फैलिँदै गएको देखिन्छ। भोजपुर बोखिमका स्थानीय अगुवा दीपेन्द्र राईका अनुसार नयाँ पुस्तासँगै साकेला सबै समुदायलाई जोड्ने साझा उत्सव बन्दै गएको छ। ‘पहिले सीमित दायरामा रहेको साकेला अहिले सबैका लागि खुला हुँदै गएको छ,’ उनले भने, ‘यसले समुदायबीचको दूरी घटाएर भाइचारा, धार्मिक सहिष्णुता र आपसी सद्भाव बलियो बनाइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.