पुरानो कांग्रेसका बिल्कुलै नयाँ अनुहार निश्कल
२०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम १ को भविष्यको साँचोसमेत सुम्पियो।
इलामको राजनीतिमा २०५६ साल एउटा यस्तो विन्दु थियो, जहाँ नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले जित हात पार्दा एउटा विरासत निर्माण भएको थियो। त्यसयताका २६ वर्षसम्म इलाम–१ को भूगोलले धेरै राजनीतिक उतारचढाव देख्यो।
एमालेको बलियो पकड, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निरन्तरको वर्चस्व र पछिल्लो समय बदलिएको राजनीतिक समीकरण। तर, २०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम— १ को भविष्यको साँचोसमेत सुम्पियो।
आफ्ना निकटतम प्रतिद्वन्द्वी विनोद नेम्वाङ लिम्बूलाई ९११ मतान्तरले पराजित गर्दै राईले २६ वर्षपछि कांग्रेसको झण्डा यस क्षेत्रमा पुनः फहराएका छन्।
राजनीतिलाई केवल शक्ति प्राप्तिको अस्त्रमात्र ठान्नेहरूको भिडमा राईले आफूलाई ‘अध्ययनशील नेता’का रूपमा स्थापित गरेका छन्। केही समय शंकरदेव क्याम्पसमै अध्यापन गराएका उनीसँग अनुसन्धान, प्रशिक्षण र प्रशासनिक क्षेत्रको गहिरो दक्खल छ। उनले कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमको संयोजकका रूपमा सफल भूमिका निर्वाह गरिसकेका छन्। सूर्योदय नगरपालिका— ९ का युवा अर्चन ढुंगाना भन्छन्, ‘प्राज्ञिक क्षेत्रमा उनको यो लगाव नै संसद्मा नीति निर्माणका लागि एउटा बलियो आधार बन्ने विश्वास मतदाताले गरेका छन्।’
निश्कल राईको राजनीतिक यात्रा कुनै आकस्मिक घटना होइन। विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा सक्रिय रहेका उनले संगठनात्मक राजनीतिका हरेक खुड्किलाहरू संघर्षपूर्ण रूपमा पार गरेका छन्। स्कुल र क्याम्पस इकाइ हुँदै नेविसंघ इलामको महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनी पूर्व क्षेत्रीय सह–सचिवजस्ता जिम्मेवारीमा खरो उत्रिए।
हाल इलाम क्षेत्र नं. १ (ख) को सभापतिका रूपमा सक्रिय राई पार्टीभित्रमात्र होइन, बाहिर पनि उत्तिकै लोकप्रिय छन्। ३५ वर्षकै उमेरमा प्रतिनिधिसभाको टिकट पाउनु उनको दशकौँ लामो राजनीतिक निरन्तरता र निष्ठाको परिणाम हो। उनी भन्छन्, ‘मैले इलामको भूगोललाई आफ्नै पैतालाले नापेको छु।’
कृषिमा क्रान्ति : ‘किसान परिचयपत्र’ र ‘कृषि ऐन’को सपना
इलामको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। राईले कृषिलाई केवल निर्वाहमुखी पेसाबाट उठाएर ‘औपचारिक अर्थतन्त्र’को हिस्सा बनाउने योजना अघि सारेका छन्। उनको सबैभन्दा नवीन एजेन्डा हो— ‘किसान वर्गीकरण र परिचयपत्र।’
राईका अनुसार व्यावसायिक किसान, साना किसान, सीमान्तकृत र भूमिहीन किसानलाई स्पष्ट वर्गीकरण गरी उनीहरूलाई सोहीअनुसारको अनुदान, बिमा र सहुलियत कर्जा उपलब्ध गराइनुपर्छ। उनले संघीयस्तरमा एउटा नयाँ ‘कृषि ऐन’ निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्, जसले किसानलाई कानुनी हैसियत र सामाजिक सुरक्षा प्रदान गरोस्। चिया, अलैँची, आलु र दूधजस्ता नगदे बालीका लागि न्यूनतम समर्थन मूल्य र मूल्य स्थिरीकरण कोषको व्यवस्था गर्ने उनको योजनाले इलामेली किसानहरूमा नयाँ आशा जगाएको छ।
इलामलाई विश्व मानचित्रमा चिनाउन राईले पर्यटनको नयाँ मोडल अघि सारेका छन्। उनले इलाम–१ लाई ‘पूर्वी नेपाल पर्यटन सर्किट’को अभिन्न अंग बनाउने र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा इलामका गन्तव्यहरूको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन्।
विशेषगरी ‘चिया पर्यटन क्लस्टर’अन्तर्गत चिया बगान भ्रमण मार्ग, टेस्टिङ केन्द्र र चिया संस्कृति संग्रहालय निर्माण गर्ने उनको योजना छ। सन्दकपुर–माइजोगमाई क्षेत्रलाई ‘रेड पाण्डा र हिमाली पर्यावरण’ अनुसन्धानको अन्तर्राष्ट्रिय हब बनाउने उनको सोचले जैविक विविधता संरक्षण र पर्यटनलाई सँगसँगै लैजाने देखिन्छ। होमस्टेहरूको स्तरोन्नति र स्थानीय युवालाई नै गाइड तथा सेवा प्रदायकका रूपमा तालिम दिने योजनाले स्वरोजगार सिर्जनामा मद्दत पुग्नेछ।
अविवाहित राई युवा पुस्ताको प्रतिनिधित्व गर्छन्। उनले युवाका लागि ‘सीपदेखि रोजगार’ कार्यक्रम र स्वदेश फर्किएका युवाका लागि विशेष उद्यम प्याकेजको सपना बुनेका छन्। विदेशको कार्य अनुभवलाई बैंकले ‘उद्यम क्रेडिट’का रूपमा मान्यता दिने व्यवस्था मिलाउन पहल गर्ने उनको भनाइ छ।
‘गाउँ–गाउँमा उच्च गतिको इन्टरनेट पुर्याएर रिमोट वर्क, डिजिटल मार्केटिङ र ई–कमर्समार्फत युवालाई गाउँमै बसेर विश्वबजारसँग जोड्नुपर्छ’, राईको योजना छ। उनले खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै पदक जितेपछि मात्र खेलाडी सम्झिने राज्यको प्रवृत्ति अन्त्य गरी उनीहरूलाई छात्रवृत्ति र रोजगारीको ग्यारेन्टी गर्ने बताएका छन्।
शिक्षा क्षेत्रमा उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित शिक्षाको वकालत गरेका छन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ‘दुईवर्षे शिक्षण नतिजा अडिट’ गर्ने र प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने उनको योजनाले शैक्षिक क्षेत्रमा जवाफदेहिता ल्याउनेछ। पूर्वाधार विकासमा राईले वैज्ञानिक पद्धतिको वकालत गरेका छन्। रणनीतिक चक्रपथ र बाह्रैमहिना चल्ने ग्रामीण सडकहरूको निर्माण उनको प्राथमिकतामा पर्छ। विशेषगरी पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न कूटनीतिक पहल गर्ने र कृषि निर्यातका लागि क्वारेन्टाइन सुविधाहरू सुदृढ गर्ने बुँदाले इलामको व्यापारिक महत्वलाई बढाउनेछ।
राजनीतिज्ञहरूले चुनाव जितेपछि वाचा भुल्ने प्रवृत्तिलाई रोक्न निश्कलले एउटा साहसिक कदम चालेका छन्, ‘प्रतिबद्धता ट्र्याकिङ ड्यासबोर्ड।’ उनले चुनावताका आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सिधै जोडिन इलाममा स्थायी सम्पर्क कार्यालय र काठमाडौंमा समन्वय कार्यालय स्थापना गर्ने घोषणा गरेका छन्। हरेक ६ महिनामा सार्वजनिक सुनुवाइमार्फत बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गर्ने उनको प्रतिबद्धताले सुशासनको नयाँ मोडल प्रस्तुत गरेको छ। स्वास्थ्य क्षेत्रमा नागरिकलाई छुने योजनाका लागि पहल गर्ने उनको सोच छ। २६ वर्षपछि इलाम–१ मा फर्किएको कांग्रेसको यो विरासतलाई राईले आफ्नो बौद्धिकता, ऊर्जा र निष्ठाले कसरी सिञ्चित गर्छन्, त्यो हेर्न बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस !