५ हजार ५७० मिटर उचाइको ‘जुगल एभरेष्ट भ्यू पोइन्ट’ पहिचान

५ हजार ५७० मिटर उचाइको ‘जुगल एभरेष्ट भ्यू पोइन्ट’ पहिचान
सुन्नुहोस्

सिन्धुपाल्चोक : काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा नयाँ पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यू पोइन्ट’ पहिचान गरिएको छ। जुगल गाउँपालिकाको आयोजना तथा गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अन्वेषण परियोजना अन्तर्गत ५ हजार ५ सय ७० मिटर उचाइको यो नयाँ गन्तव्यको पहिचान गरिएको हो। अभियान अन्तर्गत २०८३ वैशाख ३ गते यो ‘ट्रेकिङ पिक’ को सफल आरोहण भएसँगै यसलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको जुगल गाउँपालिकाले जनाएको छ।

काठमाडौँबाट ५ दिनको छोटो समय र नेपालीका लागि करिब ४० हजार रुपैयाँको न्यूनतम खर्चमा सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना पहिचान भएको गाउँपालिका पर्यटन विकास समितिका अध्यक्ष एवम् आरोहण दलका प्रमुख मिलन तामाङले बताए। उनका अनुसार विदेशी पर्यटकले भने १ हजार डलर खर्चमा यो प्वाइन्ट पुगेर आउन सक्नेछन्। ‘५ हजार ५ सय ७० मिटरको उचाइमा पुगेर सगरमाथाको प्रस्ट दृश्य देख्दा ठूलो सन्तुष्टि प्राप्त हुन्छ,’ तामाङले अनुभव सुनाउँदै भने, ‘यहाँ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि हामी सहजीकरण गर्न तयार छौं।’

यो गन्तव्य पहिचानका लागि तामाङको नेतृत्वमा चार सदस्यीय टोली यही वैशाख ३ गते त्यहाँ पुगेको थियो। टोलीमा तामाङसँग कीर्तिमानी सगरमाथा आरोही लाक्पा डेन्डी शेर्पा, १५ वर्षीय युवा न्गीमा वाङ्चु शेर्पा र स्थानीय बासिन्दा पेमा शेर्पा सहभागी भएका थिए। टोलीले आरोहरणको डकुमेन्ट्री समेत तयार पारेको छ। नयाँ पहिचान गरिएको यो पदमार्ग काठमाडौं–जुगल–नेपेमासाल–भ्यु पोइन्ट र फिर्ता गरी कुल ५ दिनमा सम्पन्न गर्न सकिनेछ जनाइएको छ। पदयात्रीहरू काठमाडौंबाट यातायात मार्फत जुगलको दिपु पुग्नेछन्। त्यहाँबाट धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण नेपेमासाल हुँदै ५ हजार ५ सय ७० मिटरको भ्यु पोइन्टमा पुग्नेछन् र पुनः सोही बाटो फर्कने छन्। यो मार्ग प्राविधिक रूपमा सहज भएकाले विशेष उपकरण विना नै सामान्य शारीरिक तन्दुरुस्ती भएका जो–कोहीले आरोहण गर्न सक्ने जनाइएको छ।

‘यो सबैले चढ्न सक्ने पोइन्ट हो। कुनै पनि प्राविधिक कठिनाइ र जटिल उपकरण बिना नै यसको आरोहण गर्न सकिन्छ,’ आरोहण दलका न्गीमा वाङ्चु शेर्पाले भने, ‘मुख्य उचाइमा पुगेपछि सगरमाथादेखि विभिन्न हिमालहरुको दृष्यले रोमाञ्चक बनाउँछ।’ काठमाडौँबाट छोटो दूरी, सस्तो लागत र सगरमाथाको उत्कृष्ट दृश्य यस गन्तव्यका मुख्य विशेषता रहेको उनले सुनाए।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले नयाँ गन्तव्य पत्ता लागेकाले पालिकाले आउने पर्यटकका लागि सहजीकरण गर्ने बताए। ‘हामी यो गन्तव्यलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न गइरहेका छौं,’ उनले भने, ‘त्यसका लागि आवश्यक पूर्वाधार, विश्राम स्थल, सुरक्षा र पथ प्रदर्शक जनशक्ति हामी तयार गर्दैछौं।’ आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा लिएको समेत स्याङ्बोले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.