टीकापुरमा पनि सार्वजनिक जग्गामा बनाइएका संचरना भत्काउन चलायो डोजर
टीकापुर : काठमाडौं उपत्यकामा जारी अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान टीकापुरमा समेत सुरू भएको छ। टीकापुर नगरपालिकाले सोमबारदेखि टीकापुरको मुख्य बजार क्षेत्रका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना भत्काउन सुरू गरिएको छ।
पालिकाले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बजार क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना,होर्डिङ बोर्ड,जग्गाको क्षेत्रफल भन्दा बाहिर निर्माण गरिएका संरचना भत्काउन सुरू गरेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले संघीय सरकारको परिपत्र अनुसार गत चैत २५ गते नै पालिकाले सूचना जारी गरी सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको बताउँदै आजदेखि बजार क्षेत्रका संरचना हटाउन शुरू गरिएको बताए ।
‘बजारलाई खुल्ला,सुरक्षित र सहज बनाउनका लागि हामीले चैत २५ गते नै सूचना जारी गरेर खाली गर्न भनेका थियौं,कतिपयले खाली गरेका छन् कतिपय बाँकी नै छन्,'प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ‘अटेर गर्नेहरूका संरचनाहरू कानुनअनुसार भत्काइनेछन्। बजारलाई खुल्ला र सुरक्षित बनाउने अभियान शुरू भएको छ ।’
पालिकाले टीकापुर उद्योग वाणिज्य संघ,समाजसेवीलगायतको सहभागितामा अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउन शुरू गरेको हो । यो अभियान शुरु भएसँगै टीकापुर क्षेत्रका विभिन्न सुकुमबासी बस्ती, विद्यालय तथा क्याम्पसको अतिक्रमित जग्गामा बसोबास गर्दै आएकाहरूलाई समेत हटाउन दबाव परेको छ ।
टीकापुरको वडा नं. १ मा मात्रै ४ हजार बढी भुमिहीन,सुकुमबासी,मुक्त कमैया,बाढीपीडितहरू विभिन्न शिविरमा बसोबास गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !