उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
सिन्धुपाल्चोक : नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
उनीसँग बागमती प्रदेश कमिटीका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ प्रतिस्पर्धामा थिए । निर्वाचित भएलगत्तै उनले पारदर्शी र उत्तरदायी नेतृत्वको लागि आपूmले अघि सारेको नौ बुँदे प्रतिबद्धता पूरा गर्ने बताए ।
श्रेष्ठले महासंघलाई समावेशी, पारदर्शी र संस्थागत सुशासनयुक्त संस्था बनाउने, तातोपानी र रसुवागढी नाकामा आयात–निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्ने तथा दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याच जस्ता समस्यामा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रका समस्या समाधानमा सधैँ क्रियाशील जनाउँदै यनले भवन नभएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका लागि जग्गा प्राप्ति र भवन निर्माणमा तीनै तहका सरकारसँग समन्वय गर्ने योजना अघि बढाउने बताए ।
उनले प्रदेश सरकारले जारी गरेको ‘प्रदेश व्यवसाय ऐन, २०७६’ लाई व्यवसायीमैत्री बनाउन संशोधनका लागि पहल गर्ने, उद्योगी–व्यवसायीका समस्या समाधानका लागि महासंघको केन्द्रीय नेतृत्वसँग निरन्तर समन्वय गर्ने तथा आधुनिक कृषि प्रणाली र प्रविधिको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी कृषि, पर्यटन, जलविद्युत् र व्यापार क्षेत्रलाई निजी क्षेत्रको प्राथमिक सरोकारका रूपमा अघि बढाउँदै प्रदेश सरकारसँग सहकार्य गर्ने, ‘व्यवसायमा महिला, बागमती प्रदेशमा पहिला’ अभियानमार्फत महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !