शब्दको सम्मान, मौनको मूल्य

प्रतिरोधको आवाज

शब्दको सम्मान, मौनको मूल्य
सुन्नुहोस्

मौनता समाधान होइन। मौनता कहिलेकाहीँ ह्यारेसरको आत्मविश्वास बढाउने औजार बन्छ। हामीले बुझ्नुपर्छ– व्यावसायिक सम्बन्धमा स्पष्ट सीमा हुन्छ।

कविता मेरा लागि केवल साहित्य होइन, आफ्नै अस्तित्वको विस्तार हो। जब कविता लेख्छु, अनुभूति, भावना र अनुभव पाठकसामु राख्छु। त्यो क्षण केवल लेखक हुँदिनँ, बरु पूर्ण रूपमा मान्छे बन्छु।

त्यसैले, जब ‘प्रकाशन’को नाममा त्यो विश्वासलाई कसैले व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्छ भने त्यो चोट केवल व्यावसायिक हुँदैन, त्यो त गहिरो मानवीय अपमान हुन्छ। केही समयअघि, एक पत्रकारले कविता मागे। प्रारम्भमा संवाद औपचारिक थियो। प्रकाशन, सम्पादन, समयसीमा— यिनै विषयमा कुरा भइरहेका थिए। तर, बिस्तारै सन्देशहरूको स्वर फेरियो।

कविताको गहिराइभन्दा बढी मेरो व्यक्तिगत जीवनबारे चासो देखाइयो। ‘तपाईं यस्तो लेख्नुहुन्छ भने वास्तविक जीवनमा कस्तो हुनुहुन्छ ?’ जस्ता प्रश्न आए। कविता प्रकाशनका लागि तस्बिर पनि आवश्यक भएपछि आफ्नो एउटा तस्बिर पठाएँ।

त्यसपछि अस्वाभाविक प्रशंसासहित ‘तस्बिरमा त यस्तो प्रभावकारी मुहार छ, प्रत्यक्षमा कस्तो हुनुहुन्छ होला ?’ वा ‘यो १०–१२ वर्ष पहिलाको तस्बिर हो ?’ जस्ता तथाकथित प्रशंसाको आवरणमा लुकेका असहज संकेतहरू आए। 
त्यो क्षण द्विविधामा परें– के यो पेसागत संवाद हो ?
वा सीमाहरू नाघ्ने दुष्प्रयास ?
हाम्रो समाजमा पत्रकारितालाई ‘चौथो अंग’ भनिन्छ। पत्रकार शब्दका संरक्षक हुन्, जनमतका मार्गदर्शक हुन्। तर, जब यही पेसामा आबद्ध कसैले आफ्नो पहुँच, प्रभाव र प्रतिष्ठालाई व्यक्तिगत नजिकिन प्रयोग गर्छ, त्यो केवल व्यक्तिको कमजोरी होइन, संस्थागत विश्वसनीयताको क्षति हो।

नेपाल पत्रकार महासंघले पत्रकारिताको आचारसंहिता स्पष्ट रूपमा परिभाषित गरेको छ– पत्रकारले पेसागत हैसियतको दुरुपयोग गर्नु हुँदैन। तर प्रश्न उठ्छ– के आचारसंहिता केवल कागजमा सीमित छ ? जब सर्जक महिलाले असहजता व्यक्त गर्छिन्, के उनको आवाजलाई पर्याप्त गम्भीरताका साथ सुनिन्छ ? महिला सर्जकहरूका लागि यो अनुभव नयाँ होइन। अवसरको ढोका सधैं समान रूपमा खुल्दैन। कतिपय ढोकाभित्र पस्नुअघि मुस्कानको कर, मौनको मूल्य र सहनशीलताको परीक्षा लिइन्छ। प्रतिभा प्रमाणित गर्नुपर्छ तर चरित्र पनि जाँचिन्छ। सिर्जना देखाउनुपर्छ तर उपस्थितिको मूल्य पनि तिर्नुपर्छ।

यो शक्ति–सम्बन्धको खेल हो, जहाँ प्रकाशनको निर्णय गर्ने व्यक्ति माथि हुन्छ र सर्जक अवसरको अपेक्षामा तल। यस्तो असन्तुलनले दुव्र्यवहार (ह्यारेस)लाई सहज बनाउँछ। किनकि पीडितलाई लाग्छ– ‘यदि मैले विरोध गरें भने मेरो कविता छापिँदैन।’ यही डरले धेरै आवाज मौन हुन्छन्, छन्।
तर मौनता समाधान होइन। मौनता कहिलेकाहीँ ह्यारेसरको आत्मविश्वास बढाउने औजार बन्छ। हामीले बुझ्नुपर्छ– व्यावसायिक सम्बन्धमा स्पष्ट सीमा हुन्छ। प्रकाशनको प्रस्ताव कहिल्यै व्यक्तिगत समीपताको सर्तमा आधारित हुन सक्दैन। कसैले त्यसो गर्छ भने त्यो ‘अनुग्रह’ होइन, दुरुपयोग हो।
ह्यारेस केवल प्रत्यक्ष अपशब्द वा शारीरिक व्यवहारमात्र होइन। बारम्बार व्यक्तिगत सन्देश पठाउनु, असम्बन्धित प्रशंसा गर्नु, भेटघाटका अनावश्यक प्रस्ताव राख्नु, ‘तपाईं विशेष हुनुहुन्छ’ भनेर भावनात्मक दबाब सिर्जना गर्नु, यी सबै सूक्ष्म तर गम्भीर रूपहरू हुन्।

यस्ता अनुभवले सर्जकको आत्मविश्वास हल्लाइदिन्छ। केही समय म पनि कलम समाउन डराएँ। सोचें, ‘के मैले बढी खुलापन देखाएँ ?’ ‘के मैले गल्ती गरें ?’ तर क्रमशः मैले बुझें– गल्ती मेरो होइन। गल्ती त्यहाँ हुन्छ, जहाँ शक्ति र अवसरको दुरुपयोग हुन्छ।

यस विषयमा सार्वजनिक रूपमा बोल्नु सजिलो छैन। किनकि समाजले अझै पनि प्रश्न पीडितलाई नै सोध्छ, ‘किन प्रतिक्रिया दिइनौ ?’ ‘किन पहिले नै रोकिनौ ?’ तर हामीले प्रश्न उल्ट्याउनु पर्छ– किन पेसागत मर्यादा नाघियो ? किन सुरक्षित 
वातावरण सुनिश्चित गरिएन ?

यो लेख प्रतिशोधका लागि लेखिरहेकी छैन। किन लेखिरहेकी छु भने अरू कुनै पनि सर्जकले आफूलाई एक्लो महसुस नगरोस्। हामीले एकअर्काको अनुभवलाई सुन्नुपर्छ, समर्थन गर्नुपर्छ र संस्थागत तहमा जवाफदेहिता माग्नुपर्छ।

मिडिया हाउसहरूले स्पष्ट गुनासो संयन्त्र बनाउनु आवश्यक छ। सर्जक र सञ्चारकर्मीबीचको सम्पर्क पारदर्शी र औपचारिक माध्यमबाट हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण त ‘होइन’ भन्ने अधिकारलाई सम्मान गर्न सिक्नुपर्छ र सिकाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.