स्वस्थताका लागि होमियोप्याथी
अचेल धेरैको दैनिक जीवन दौडधूपमय छ। जीवन जिउने क्रममा धेरै फरक र असामान्य परिस्थितिमा काम गर्न बाध्य हुनुपर्छ। अत्यधिक तनाव, अस्वस्थ जीवनशैली, निद्राको अभाव र मानसिक दबाबको प्रत्यक्ष असर शारीरिक एवं मानसिक स्वास्थ्यमा परिरहेको हुन्छ। स्वास्थ्य समस्या नपरी नचेत्ने स्वभाव भएकाहरूलाई झन् दीर्घरोगले पिरोल्न सक्छ।
पारिवारिक जीवनमा सन्तुलन मिलाउन नसक्दा धेरैको जीवन आफैंमा तनावपूर्ण (स्ट्रेसफुल) हुन्छ। दैनिक कामकाज, असफलताको डर, सामाजिक दबाबको सामना गर्नु परिरहेको हुन्छ। यी सबै कारणले अनेक प्रकारका मानसिक एवं शारीरिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ। जसका कारण तन र मन दुवै प्रभावित हुन्छन्।
मानसिक स्वास्थ्य समस्याहरूमा तनाव (स्ट्रेस)का कारण टाउको दुख्ने, चिडचिडापन देखिने गरेको छ। कतिपयलाई काममा एकाग्रता गर्न गाह्रो हुने र मुटुको धड्कन बढ्न सक्छ। किनकि भविष्यको चिन्ता र डर जो कोहीलाई हुन्छ। बदनामीको भय उत्तिकै हुन्छ। भविष्यप्रतिको अनिश्चितताले सताएको हुन्छ। डिप्रेसन (उदासीपन)ले धेरैलाई पिरोलिरहेको हुन्छ। अनिद्रा (इन्सोमेनिया)ले सताउँछ।
अधिक परि श्रम र थकानले पनि शारीरिक स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ। अपच, ग्यास्ट्रिक, कब्जियत वा झाडापखालासमेत हुन सक्छ। कतिपयलाई टाउको दुखाइ र माइग्रेनको समस्या देखिन सक्छ, अत्यधिक तनाव र निद्राको कमीका कारण। जसले गर्दा उच्च रक्तचाप (ब्लडप्रेसर) निम्त्याउन सक्छ।
धूमपान र मद्यपान, अनियमित खानपान, आरामको अभावले शारीरिक एवं मानसिक समस्या निम्त्याउँछ। यसबाहेक दीर्घकालीन रोगहरूसमेत उत्पन्न हुन सक्छन्। स्वास्थ्य समस्याको तत्कालीन समाधानका लागि होमियोप्याथिक औषधि अत्यन्त प्रभावशाली छन्। यसको सेवनले मानसिक एवं शारीरिक स्वास्थ्यमा सुधार आउँछ। लक्षणअनुसार सम्बन्धित विशेषज्ञहरूसँग परामर्श गरी औषधि सेवन गर्दा लाभ प्राप्त हुन्छ। अनुभवी चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्छ।
जीवनशैली सुधार गर्दा पनि धेरै रोगबाट मुक्ति पाउन सकिन्छ। पर्याप्त निद्रा पुर्याउनु पर्छ। कम्तीमा ६/७ घण्टा आराम गर्नुपर्छ। दैनिक फलफूल, हरियो सागसब्जी, पर्याप्त पानी पिउने गर्नुपर्छ। श्वास–अभ्यास अर्थात् प्राणायाम, ध्यान, पाँच मिनेट गहिरो श्वास लिने बानी बसाउनु पर्छ। जीवनलाई सुझबुझपूर्ण, समन्वयकारी र रचनात्मक रूपमा बिताउन जोड दिनुपर्छ। त्यसका लागि आवश्यक कार्यशैलीसमेत फेर्नुपर्ने हुन सक्छ।
दैनिकको दौडधूप र थकान सामान्य प्रक्रिया हो भनेर बेवास्ता गर्नु घातक हुन सक्छ। शारीरिक स्वस्थता कायम राखेर मात्र दीर्घजीवन जिउन सकिन्छ। होमियोप्याथीले स्वास्थ्य समस्यालाई सुरक्षित र दीर्घकालीन रूपमा समाधान गर्न सक्छ। होमियोप्याथी तनाव व्यवस्थापनको प्रभावकारी माध्यम बन्न सक्छ।
किनकि होमियोप्याथीमा बिरामीको लक्षणमात्र होइन सम्पूर्ण शारीरिक परीक्षण पनि गरिन्छ। परीक्षणको क्रममा बिरामीको मानसिक अवस्थाको जाँच गरिन्छ। जसका लागि बिरामीको दैनिक दिनचर्या, चिन्ता, डर, तनाव र अन्य मानसिक समस्याहरूबारे सोधपुछ गरिन्छ। शारीरिक र मानसिक स्वास्थ्यको जानकारी लिइसके पछि बल्ल होमियोप्याथी उपचार पद्धति अपनाइन्छ। होमियोप्याथी उपचारले व्यक्तिको प्रतिरक्षा प्रणाली (इम्युनो सिस्टम)लाई पनि सुदृढ गराउँछ।
प्रतिक्रिया दिनुहोस !