गर्मीको बढ्दो राप, शरीरलाई भयो कि ताप
गर्मी ह्वात्तै बढेको छ। तापक्रम दिनदिनै उकालो लाग्दैछ। यसको सिधा असर हाम्रो छालामा देखिन थालेको छ। अहिले अस्पताल र क्लिनिकहरूमा छालाका बिरामी बढेका छन्। कोही अनुहारको चायाँले चिन्तित छन् भने कसैलाई घमौराले सताएको छ। कोही छाला चिलाउने त कोही फंगल संक्रमणले पिरोलिएका छन्।
वास्तवमा, अहिलेको मौसम नै चुनौतीपूर्ण छ। एकातिर चर्को घामको राप, अर्कोतिर हरक्षण आउने पसिना। त्यसमाथि सडकको धुलो र धुवाँ थपिन्छ। यही मिसावटले छालाको प्राकृतिक चमक खोस्छ। स्वस्थ र सुन्दर छाला उपहार होइन, यो त नियमित हेरचाहको नतिजा हो। छाला रोग विशेषज्ञहरूको सुझाव छ, ‘यो गर्मीमा हेलचेक्र्याइँ नगर्नुहोस्। छालालाई जोगाउन विशेष सावधानी अपनाउनुहोस्। थोरै सतर्कताले मात्रै पनि छालालाई स्वस्थ राख्न सकिन्छ।’ छालारोग विशेषज्ञहरूका अनुसार गर्मी मौसममा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। सामान्य बेवास्ताले पनि छालामा दीर्घकालीन असर पर्न सक्छ। स्वस्थ र चम्किलो छाला जोगाइराख्न घामबाट बच्ने, पर्याप्त पानी पिउने र सरसफाइमा ध्यान दिने बानी आवश्यक छ। गर्मीमा थोरै सावधानीले पनि छालालाई धेरै समस्याबाट जोगाउन सकिन्छ।
विशेषगरी अनुहारमा कालो पोतो वा चायाँ देखिने समस्याले महिला मात्र होइन पुरुषहरू पनि उत्तिकै प्रभावित भइरहेका छन्। घरबाहिर काम गर्ने, लामो समय घाममा हिँडडुल गर्ने तथा छालाको उचित हेरचाह नगर्ने व्यक्तिहरूमा यस्तो समस्या बढी देखिने गरेको छ। वरिष्ठ छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थका अनुसार सूर्यबाट निस्कने पराबैजनी (युभी) किरणले छालाको कोषमा प्रत्यक्ष असर पुर्याउँछ। लामो समयसम्म घामको सम्पर्कमा रहँदा छालामा रङ उत्पादन गर्ने कोषहरू बढी सक्रिय भई अनुहारमा कालो दाग, चायाँ वा पोतो देखिन सक्छ।
सूर्यको किरणमा रहेका हानिकारक तत्वहरूले छालाको माथिल्लो तहलाई मात्र होइन, गहिरो तहसम्म असर पुर्याउन सक्छन्। यसले छालाको प्राकृतिक चमक घटाउनुका साथै समयभन्दा अगाडि बुढ्यौलीका लक्षण पनि देखाउन सक्छ। डा. कायस्थका अनुसार अनुहार, घाँटी, हात तथा घाममा खुला रहने शरीरका अन्य भागहरूमा चायाँ देखिनुको प्रमुख कारण घामको असर नै हो। कतिपय अवस्थामा गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोग, अनियन्त्रित रूपमा विभिन्न क्रिम तथा मल्हम प्रयोग गर्ने बानीले पनि समस्या झन् जटिल बनाउन सक्छ।
बजारमा चायाँ हटाउने दाबी गरिएका अनेकौं क्रिम, लेप र औषधि पाइन्छन्। तर चिकित्सकको सल्लाहबिना प्रयोग गरिएका यस्ता सामग्रीले फाइदाभन्दा हानि बढी गर्न सक्छन्। सुरुमा सामान्य देखिएको चायाँ उपचारको नाममा जथाभावी क्रिम प्रयोग गर्दा अझ फैलिने र गाढा हुने समस्यासमेत देखिने गरेको छ। छालाको प्रकृति फरक–फरक हुने भएकाले सबै व्यक्तिका लागि एउटै क्रिम उपयुक्त हुँदैन। त्यसैले छालाको परीक्षणपछि मात्र विशेषज्ञले सिफारिस गरेको सामग्री प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
सुक्खा छाला भएका व्यक्तिका लागि लोसनयुक्त तथा चिल्लो खालका मोइस्चराइजरयुक्त क्रिम उपयुक्त मानिन्छ। यसले छालामा आवश्यक चिल्लोपना कायम राख्छ। तर, चिल्लो छाला भएका व्यक्तिले अत्यधिक तेलयुक्त लोसन प्रयोग गर्दा डन्डीफोर तथा अन्य समस्या देखिन सक्छन्। त्यसैले आफ्नो छालाको प्रकार थाहा पाएर मात्र सौन्दर्य सामग्री छनोट गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
गर्मी बढेसँगै धेरै मानिसमा घमौरा आउने समस्या देखिन्छ। अत्यधिक पसिना निस्कँदा पसिनाको नली बन्द भई छालामा ससाना रातो दाना देखिने अवस्थालाई घमौरा भनिन्छ। घमौरा विशेषगरी अनुहार, घाँटी, ढाड, छाती तथा शरीरका गुम्सिने भागहरूमा बढी देखिन्छ। यसले चिलाउने, पोल्ने तथा असहज महसुस गराउने गर्छ।
डा. कायस्थका अनुसार घमौरा आएपछि प्रभावित भागलाई सफा पानीले भिजाउने र प्राकृतिक हावामा सुक्न दिने गर्नुपर्छ। रुमाल वा कपडाले जोडले पुछ्दा छाला झन् उत्तेजित हुन सक्छ। पंखा वा एयर कन्डिसनर भएको चिसो वातावरणमा बस्दा घमौरा छिट्टै निको हुने सम्भावना हुन्छ।
फंगल संक्रमणको जोखिम
गर्मी मौसममा पसिनाका कारण ढुसीजन्य अर्थात् फंगल संक्रमणको समस्या पनि व्यापक रूपमा देखिन्छ। शरीरका गुम्सिने भागहरूमा पसिना जमिरहँदा फंगसका जीवाणु सक्रिय भई संक्रमण फैलिन सक्छ। विशेषगरी काखी, काछ, स्तनमुनिको भाग, घाँटीका चाउरी, पेटको तह तथा खुट्टाका औंलाबीचका भागहरूमा संक्रमण देखिने सम्भावना बढी हुन्छ।
संक्रमण भएको स्थानमा चिलाउने, रातो हुने, छाला उप्किने, कत्ला देखिने तथा गन्हाउने समस्या देखिन सक्छ। कतिपय अवस्थामा छालामा गोलो चक्काजस्तो आकृति देखिन्छ, जसको बीच भाग सामान्य र बाहिरी भाग रातो घेरा भएको हुन्छ। यो दादको सामान्य लक्षण मानिन्छ।
सरसफाइमा ध्यान दिऔं
छाला रोग विशेषज्ञहरूका अनुसार गर्मीमा नियमित सरसफाइ अत्यन्त महŒवपूर्ण हुन्छ। दिनभरि पसिना लागेको कपडा लगाइराख्दा संक्रमणको जोखिम बढ्छ। विशेषगरी सुतीका कपडा प्रयोग गर्न सुझाव दिइन्छ। सुती कपडाले पसिना राम्रोसँग सोस्ने भएकाले छाला सुक्खा राख्न मद्दत गर्छ। मोजा, भित्री वस्त्र तथा अन्य दैनिक प्रयोगका कपडा पनि सकेसम्म सुतीकै प्रयोग गर्नु उपयुक्त हुन्छ।
अरू प्रकारका कपडाले पसिना सोस्न नसक्दा छालामा चिसोपना र गुम्सिएको वातावरण कायम रहन्छ, जसले फंगल संक्रमण बढाउन मद्दत गर्छ। राति सुत्नुअघि भित्री वस्त्र फेर्नुपर्ने छाला रोग विशेषज्ञहरूको सुझाव छ। बिहान लगाएको भित्री वस्त्र दिनभरि पसिनाले भिजिसकेको हुन्छ। त्यही वस्त्र लगाएर सुत्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ। पुरुषहरूले खुकुलो पाइजामा वा लुंगी तथा महिलाहरूले मेक्सी, गाउन वा खुकुलो पहिरन लगाउँदा शरीरमा हावा सञ्चार राम्रो हुन्छ र पसिना गुम्सिन पाउँदैन। गर्मीमा छालाको सुरक्षाका लागि सनस्क्रनको प्रयोग महत्वपूर्ण मानिन्छ। तर धेरै मानिसलाई सनस्क्रन सही तरिकाले प्रयोग गर्ने जानकारी छैन। डा. कायस्थका अनुसार अनुहार धुएर सफा गरेपछि सुरुमा मोइस्चराइजर लगाउनुपर्छ। त्यसपछि सनस्क्रन लगाउने र अन्त्यमा आवश्यक परे पाउडर वा अन्य सौन्दर्य सामग्री प्रयोग गर्न सकिन्छ।
धेरैले हत्केलामा क्रिम लिएर पूरै अनुहारमा दल्ने गर्छन्। तर चिकित्सकहरूका अनुसार यो सही विधि होइन। पहिले अनुहार सफा पानीले धोएर अतिरिक्त तेल र फोहोर हटाउनुपर्छ। त्यसपछि दुई औंलामा आवश्यक मात्रामा सनस्क्रन लिएर अनुहारका विभिन्न भागमा समान रूपमा लगाउनुपर्छ। सनस्क्रन घरबाट निस्कनुभन्दा करिब ३० मिनेटअघि लगाउनु उपयुक्त हुन्छ। यसले छालामा राम्रोसँग काम गर्न समय पाउँछ। सही मात्रामा र सही तरिकाले लगाइएको सनस्क्रनले करिब सात घण्टासम्म प्रभावकारी सुरक्षा दिन सक्छ। त्यसैले आवश्यक नपरेसम्म पटक–पटक लगाइरहनु पर्ने हुँदैन।
घामबाट कसरी जोगिने ?
विशेषज्ञहरूका अनुसार छालालाई घामबाट जोगाउने सबैभन्दा सजिलो उपाय भनेको प्रत्यक्ष घामबाट बच्नु हो। घरबाहिर निस्कँदा छाता प्रयोग गर्ने, चौडा किनार भएको ह्याट लगाउने तथा सकेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको चर्को घाममा लामो समय नबस्ने बानीले छालालाई धेरै हदसम्म सुरक्षित राख्न सक्छ।
प्रतिक्रिया दिनुहोस !