पलायन र उपेक्षाले ओझेलमा ऐतिहासिक देवल
भोजपुर : भोजपुरको टक्सार पुग्नेबित्तिकै ढुंगामा कुँदिएको इतिहास र धातुमा ढालिएको कलाको अनुभूति हुन्छ। कुनै समय ‘मिनी पाटन’ का नामले चिनिने यो बस्ती पूर्वी पहाडकै सांस्कृतिक धरोहरको प्रतीक थियो। तर अहिले त्यही टक्सार सुनसान बन्दै गएको छ। जहाँ मठमन्दिर छन् तर तिनको अस्तित्वमा आँच आउँदै गएको अनुभूति हुन्छ।
१८७२ सालतिर तामाको ‘टक’ (पैसा) काट्ने परम्परासँग जोडिएको टक्सारबजार पछि धातुकला, मठमन्दिर र धार्मिक सम्पदाले विशिष्ट पहिचान बनाउन सफल भयो। यहाँका हरेक गल्लीहरूमा फैलिएको धातुकलाको परम्परा र पाइलैपिच्छे देखिने देवलहरूले यस क्षेत्रलाई ललितपुरको झल्को दिने बनाएका थिए। यही कारण टक्सारलाई ‘मिनी पाटन’ मान्न थालियो।
भोजपुर नगरपालिकाको वडा नं १२ मा पर्ने टक्सारबजार सदरमुकाम नजिकै भएकाले आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा गनिन्छ। नेपालकै पहिलो थेरवादी शाक्यमुनि बौद्धविहार यहाँकै ऐतिहासिक पहिचान हो। यसका साथै यहाँका राममन्दिर, मच्छिन्द्रनाथ, शिव, हनुमान, सरस्वतीलगायत दर्जनौं मठमन्दिर र चैत्यहरूले टक्सारलाई धार्मिक तथा सांस्कृतिक रूपमा समृद्ध बनाएको छ। तर अहिले ती संरचनाहरू संरक्षण अभावमा जीर्ण बन्दै गएका छन्। कतिपय मन्दिरका छाना भत्किएका छन्, कतिपयमा पूजा हुने क्रम नै रोकिने अवस्थामा छ। विगतको चहलपहल हराउँदै जाँदा टक्सारको सांस्कृतिक धड्कन कमजोर बन्दै गएको स्थानीय सुनाउँछन्।
२०७२ सालको प्रलयकारी महाभूकम्पले यहाँका धेरै धार्मिक संरचनामा क्षति पुर्यायो। पहिले नै जीर्ण अवस्थामा रहेका ती देवलहरू भूकम्पपछि झन् जोखिममा परे। तर त्यसपछिको पुनर्निर्माण प्रक्रिया अपेक्षा अनुसार अघि बढ्न सकेन। आर्थिक अभाव र योजनाको कमीले अधिकांश संरचनाहरू जीर्ण अवस्थामा पुगेका छन्। टक्सारका स्थानीय अम्रिका ताम्राकार भन्छन्, ‘हाम्रो ऐतिहासिक तथा सांस्कृतिक धरोहर जोगाउने मान्छे नै गाउँमा छैनन्, भएका पनि बसाइ गइसके, पलायन भइसके। अहिले मन्दिरहरू हेर्दा मनै दुख्छ।’
टक्सारका स्थानीय पुजारी नरेन्द्रराज शाक्यका अनुसार मठमन्दिरमा आउने भक्तजनसमेत घटेका छन्। ‘टाठाबाठा सबै सहर पसे, गाउँमा भएका पनि एकमत छैनन्,’ उनले भने, ‘हामी बूढाबूढीले कति धान्ने ? यस्तो अवस्थाले कहिलेसम्म जोगिन्छ ?’ टक्सारको समस्याको जरो केवल संरचना जीर्ण हुनुमा मात्र सीमित छैन। यहाँको सबैभन्दा ठूलो चुनौती भनेको मानव स्रोतको अभाव हो। रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा युवा पुस्ता सहर तथा विदेश पलायन हुँदा गाउँका परम्परा र संस्कृति जोगाउने आधार नै कमजोर बनेको स्थानीय अगुवा विमल रणपहेँली सुनाउँछन्। भने, ‘अघिल्ला र पछिल्ला पुस्ताहरूको पलायनले ऐतिहासिक महत्वका सम्पदाहरू जोगाउनै मुस्किल छ। आज हामी चुप लाग्यौं भने, भोलि यी देवलसँगै हाम्रो इतिहास पनि ढल्नेछ।’
१९९० सालतिर बनेको नेपालकै पहिलो ऐतिहासिक शाक्यमुनि बौद्धविहारको अवस्था पनि उस्तै छ। विहारकी उपासिका उत्तरा शाक्य भन्छिन्, ‘मन्दिरको रेखदेख गर्ने मान्छे छैनन्, भएका पनि चासो दिँदैनन्। बाहिरबाट सहयोग पाए मर्मत सम्भार गर्न सकिन्थ्यो।’विगतमा केही प्रयास भने गरिएका थिए। तत्कालीन जिल्ला विकास समितिबाट छुट्टिएको बजेट र स्थानीयस्तरमा संकलित चन्दाबाट मर्मतको प्रयास गरिए पनि ती प्रयास पर्याप्त बन्न सकेनन्। स्थानीयबीच आपसी समझदारी अभावले पनि संरक्षण अभियानमा बाधा पुर्याएको छ।
टक्सारबजारको यी सम्पदाहरूको खस्किँदो अवस्थाले आन्तरिक पर्यटनमा समेत असर पारेको छ। पहिले पर्यटकको चहलपहल रहने यो क्षेत्र अहिले सुनसानजस्तै भएको स्थानीय बताउँछन्। यहाँ आउने पर्यटकहरूले स्थानीय कालीगढले बनाएका करुवा, आम्खोरा, खुकुरीजस्ता धातुका सामग्री चिनोका रूपमा लैजाने गर्थे। तर अहिले त्यस्तो गतिविधि निकै घटेको छ। स्थानीय धातु व्यवसायी बुद्धराज शाक्य भन्छन्, ‘पहिले ग्राहक घरमै आउँथे, अहिले त बजार नै सुनसान छ। आम्दानी पनि घट्दै गएको छ।’
टक्सारबजारका जस्ता ऐतिहासिक पहिचानका धार्मिक देवलहरूको संरक्षणका लागि बलियो नीति तथा कार्यान्वयनको पनि आवश्यकता रहेको सरोकारवालाको बुझाइ छ। उपेक्षित बन्दै गएका ती पुरातात्विक महत्वका देवलहरू संरक्षण नहुँदा दीर्घकालीन सांस्कृतिक पहिचानमै असर परिरहेको स्थानीय नवीन प्रधानको मत छ।
प्रतिक्रिया दिनुहोस !