उड्दै गरेको न्यारोबडीमा चट्याङ, हङकङबाट फर्केपछि ग्राउन्डेड

उड्दै गरेको न्यारोबडीमा चट्याङ, हङकङबाट फर्केपछि ग्राउन्डेड
चट्याङले क्षति पुर्‍याएको जहाजका भाग ।
सुन्नुहोस्

काठमाडौं : नेपाल एयरलाइन्सको न्यारोबडी विमान फागुन १२ गते काठमाडौंबाट हङकङका लागि उडेको थियो। क्याप्टेन दिपु ज्वारचनले उडाएको उक्त जहाजमा करिब १ सय यात्रु थिए। रनवे (धावनमार्ग)बाट उडेको जहाज करिब १५ माइल पर बनेपाको आकाशमाथि पुगेको थियो। उक्त न्यारोबडीले चट्याङको सामना गर्नुपर्‍यो। त्यस बेला जहाजमा ‘डाङ’ गरेर ठूलो आवाज आएको र यात्रुहरू त्रसित भएको निगम स्रोत बताउँछ।

चट्याङको सामना गर्दा जहाजको पखेटाको एउटा शार्कलेटमा क्षति पुगेको थियो। तर, क्याप्टेन ज्वारचनले जहाज काठमाडौं फर्काएनन्। ४ घन्टाको उडान भर्दै गन्तव्य मुुलुक हङकङमा अवतरण गरे। अवतरणपछि हङकङ विमानस्थलको प्राविधिक टोलीले जहाजको परीक्षण गर्‍यो। 

उक्त टोलीले काठमाडौं अवतरण गराई जहाजको उक्त भागको मर्मतसम्भार गर्न निर्देशन दियो। फागुन १४ गते काठमाडौं अवतरण पछि उक्त न्यारोबडी ग्राउन्डेड भएको छ। अहिले एयर इन्डियाको प्राविधिक टोलीले उक्त भागको चेकजाँच गरिरहेको छ। बनेपाको आकाशमाथि जहाज पुग्नु भनेको (इर्गिस) विन्दु हो। इर्गिस भनेको जहाज उडान भर्दै काठमाडौं छोड्ने बिन्दु (एक्जिट प्वाइन्ट) हो, विमानस्थलबाट उडान भरेपछि सुरक्षित रूपमा आफ्नो गन्तव्यको हवाई मार्ग’ (एयर वे) मा जान यसले एउटा निकास बिन्दुको रूपमा काम गर्छ। 

जहाजमा चट्याङ पर्छ त ? 
नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को न्यारोबडी (ए ३३०) जहाज फागुन १४ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। काठमाडौं–हङकङ–काठमाडौं नियमित उडान भर्न उक्त जहाज उडेको थियो। काठमाडौंबाट हङकङ उड्ने क्रममा जहाजमा चट्याङका कारण क्षति पुगेपछि जहाज ग्राउन्डेड भएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिए। 

‘एउटा न्यारोबडी ग्राउन्डेड नै छ। सार्कलेट भन्ने बडिपार्टमा असर परेको थियो। त्यसमा हाम्रो अनुसन्धान हुँदैछ, ठ्याक्कै के भएको थियो भन्ने आएको छैन। अन्य प्राविधिक कारणले भन्दा पनि चट्याङका कारण ग्राउन्डेड भएको हो,’ श्रेष्ठले अन्नपूर्णसँग भने। एयरबस कम्पनीका जहाजहरूको पखेटाको अन्तिम भागमा माथितिर फर्किएको एउटा विशेष भाग हुन्छ, जसलाई सार्कलेट भनिन्छ, यो न्यारोबडीमा पनि उपलब्ध छ। 

यसले जहाज उड्दा हावाको अवरोध (ड्रयाग) कम गर्छ र इन्धन बचत गर्न मद्दत गर्छ। न्यारोबडीको एउटा पखेटाको शार्कलेटमा चट्याङले क्षति पुर्‍याएको हो। जहाज मर्मतसम्भार पछि चाँडै नै उडानमा फर्किने कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। 
सो सम्बन्धमा निगमले नियामक निकाय नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन्। निगमले आन्तरिक चेकजाँच र मर्मतपछि जहाज पुनः नियमति उडानमा फर्काउने भएकाले यसमा प्राधिकरणको कुनै भूमिका नहुने पनि उनले स्पष्ट पारे।

  • चट्याङले जहाजको पखेटाको ‘सार्कलेट’ (इन्धन बचाउन र सन्तुलन मिलाउन मद्दत गर्ने भाग) मा क्षति पुर्‍याए पनि जहाज ४ घण्टा उडेर हङकङ पुगेको थियो।
  •     हङकङको प्राविधिक टोलीको निर्देशनपछि फागुन १४ गते काठमाडौं फर्किएको उत्ताm न्यारोबडी विमान हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएको छ।
  •     विमान ग्राउन्डेड हुँदा निगमले नियमित उडानबाट हुने दैनिक करिब १ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ।
  •     विज्ञहरूका अनुसार बाहिरी भागमा भएको क्षति पाइलटले ककपिटबाट सधैं थाहा नपाउन सक्छन्, तर वेदर राडरको संकेतलाई ध्यान दिनु जोखिम कम गर्न महत्वपूर्ण हुन्छ।

सुरक्षाको दृष्टिकोणले कति खतरा ? 
सामान्यता जहाजको बाहिर भागमा भएको क्षतिको सूचना ककपिटभित्र भएको पाइलटलाई नहुने निगमका पूर्वपाइलट ओम गुरुङ बताउँछन्। ‘क्याप्टेनले ‘वेदर राडर’ बाट मौसमको जानकारी पाउँछ, यदि त्यस्तो हो भने यात्रुलाई सिटबेल्ट लगाउन जानकारी गराइन्छ। तर, चट्याङ परेर जहाजको बाहिरी भागमा क्षति पुगेको क्याप्टेनले थाहा नपाउन सक्छ। ककपिटमा वार्निङ इन्डिकेटेर आयो भने मात्र क्याप्टेनले थाहा पाउन सक्छन्,’ पाइलट गुरुङ बताउँछन्। उडानको अवधीमा जहाजको बाहिरी भागमा भएको क्षतिमा क्याप्टेनले अरू केही गर्न नसक्ने उनी बताउँछन्। तर, हाम्रा जहाजमा अर्थिङ हुने भएकाले चट्याङका कारणले मात्र सार्कलेटमा क्षति पुग्ने भन्ने सामान्यता नहुने उनको तर्क छ।

निगमका पूर्वमहाप्रबन्धक एवं वरिष्ठ पाइटल केबी लिम्बू पनि बाहिरी भागमा हुने क्षतिका बारेमा ककपिटमा भएको पाइलटले जानकारी नपाउने बताउँछन्। तर, क्याप्टेनले वेदर राडरले दिएको सूचनाको आधारमा चट्याङ पर्ने ठाउँलाई छलेर उडान भर्न सक्ने उनको तर्क छ। ‘जहाजका क्याप्टेनले वेदर राडरको संकेतलाई भने बेवास्ता गर्दा ठूलो खतरा निम्तिन सक्छ। त्यतिबेला क्याप्टेनले रुटलाई केही परिवर्तन गरी सम्भावित जोखिमबाट बच्न सक्छ। न्यारोबडीको केसमा क्याप्टेनले प्रचुर मात्रामा ध्यान भने नदेखिएको देखियो,’ वरिष्ठ क्याप्टेन लिम्बूले भने।

सार्कलेट नभए पनि जहाज उड्न सक्ने भएकाले यसमा क्षति आउनु सुरक्षाको दृष्टिकोणले खतरा नभएको भन्दै लिम्बूले भने, ‘२ वटा सार्कलेटमध्ये एउटामा समस्या आउँदा कहिलेकाहीँ जहाज टर्न गराउँदा सन्तुलन भने बिग्रिन सक्छ। कि दुवै निकाल्नुपर्‍यो। सार्कलेटको मुख्य उद्देश्य भनेको नै इन्धनको किफायती खर्च गर्नु हो।’ nullnull

जहाजको सार्कलेट फेर्न मलेसिया लैजाने तयारी
निगमको न्यारोबडी जहाजको क्षति पुगेको सार्कलेट फेर्नुपर्ने देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १३ दिनदेखि ग्राउन्डेड जहाजको सार्कलेट फेर्न बिहीबार मलेसिया लैजाने तयारी भएको निगमका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। हङकङका इन्जिनियरले जहाजको उडानको दुई साइकललाई अनुमति दिएकोे छ। सोअनुसार हङकङबाट काठमाडौं अवतरण गर्दा एक साइकल सक्किएको छ भने अब मलेसियामा जाँदा अर्को साइकल सक्किने छ। बिहीबार मलेसिया लगेर सार्कलेट फेरेपछि उक्त जहाज शुक्रबारबाट नियमित उडानमा जाने श्रेष्ठले जानकारी दिए। 

जहाजको अन्य प्राविधिक कारणले भन्दा पनि प्राकृतिक कारणले जहाज ग्राउन्डेड भएको भन्दै सार्कलेट फेर्न लागेको खर्च बिमाबाट बेहोरिने उनले बताए। निगमको न्यारोबडी नउड्दा दिनमा करिब १ करोड घाटा हुने देखिन्छ। करिब १३ करोड रुपैयाँ नियमित उडानबापतको क्षति 
भएको छ। 

डेढ सातापछि निगमको वाइडबडीले गर्‍यो दोहाका लागि उद्धार उडान
मध्यपूर्वी क्षेत्रमा युद्ध सुरु भएसँगै नेपालबाट त्यस क्षेत्रमा जाने उडान करिब डेढ सातादेखि रद्द छन्। द्वन्द्वका कारण कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन गरी ९ देशले आफ्नो एयरस्पेस बन्द (हवाई क्षेत्रको प्रतिबन्ध) गरेका छन्। 

९ देशले गरिएको हवाई क्षेत्रको प्रतिबन्ध कारण नेपालबाट ती देशहरूमा हुने उडान प्रायः रद्द छन्। गत शनिबार (फेबु्रअरी २८ तारिक) बाट रद्द भएको नेपाल एयरलायन्सले पनि बुधबार भने काठमाडौं दोहा उद्धार उडान गरेको प्राविधिकतर्फका प्रवक्ता दीपेन्द्र पुनले जानकारी दिए। बुधबार राति करिब सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको वाइडबडी दोहो प्रस्थान गरेको हो। नेपाली र विदशी गरी करिब २ सय ७३ यात्रु बोकेर जहाज उडेको हो। 

मध्यपूर्वी क्षेत्रमा द्वन्द्वकाबीच पनि सरकारसँगको समन्वयमा निगमले उडान भर्ने पुनले जानकारी दिए। ‘नेपाल सरकारले उद्धार उडानका लागि तयार रहन भनेकाले पनि प्रतिबन्धित आकाश खुलेको बेलामा उद्धार उडान निगमले गर्छ,’ पुन बताउँछन्। दोहाबाट काठमाडौंका लागि हुने उडानमा पनि पूर्ण क्षमतामा यात्रु रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.