काठमाडौं : फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम मैजारोतिर पुगेको छ । प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ वटाको परिणाम आइसकेको छ । अब दुई वटाको मात्र परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी दुईमध्ये धनुषा–१ को परिणाम तत्काल सार्वजनिक नगर्न निर्वाचन आयोगले भनेको छ ।
हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १२५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेस हालसम्म १८ सिटमा जित निकालेको छ । यस्तै नेकपा एमाले आठ सिटमा जितसहित एक स्थानमा अग्रता लिइरहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात सिटमा जितसहित एक स्थानमा अगाडि छ । यस्तै माटो चुनाव चिन्हको श्रम सँस्कृति पार्टी प्रत्यक्षमा तीन सिटमा जित निकाल्न सफल भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ । यस्तै एक स्वतन्त्र उम्मेदवार डा. महावीर पुन चुनाव जित्दै संसदको यात्रा तय गरेका छन् ।
हालसम्मको मत परिणाम अनुसार यस पटकको प्रतिनिधि सभा निर्वाचनमा ६८ दलमध्ये ६ दल मात्रै अब संसदमा देखिने भएका छन् । प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेका र समानुपातिकतर्फ पनि अपेक्षित मत ल्याउन नसकेका दलहरुको सूची लामो छ ।
अब संसदमा जम्मा ६ दलको मात्रै उपस्थिति रहने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ बहुमतसहित पहिलो दल बन्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मात्रै अस्तित्व रहने देखिएको हो ।
२०७९ सालको निर्वाचनबाट बनेको प्रतिनिधिसभामा १२ वटा दलहरूको प्रतिनिधित्व थियो । जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाको उपस्थिति थियो । तर यस पटक मतदाताले साना र क्षेत्रीय दलहरूलाई पाखा लगाउँदै मुख्य शक्तिहरूलाई मात्रै संसद प्रवेशको अनुमति दिएका छन् ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ हालसम्म ४५ लाख ६४ हजार ३१४ मत ल्याएको छ । त्यस्तै, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेस १५ लाख ३० हजार ३०९ समानुपातिक मतसहित दोस्रो स्थानमा छ । प्रत्यक्षमा आठ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १२ लाख ७६ हजार ४५१ मत ल्याएको छ । प्रत्यक्षमा ७ सिट जितेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हालसम्म समानुपातिकतर्फ ६ लाख ८७ हजार १३६ मत पाएको छ । प्रत्यक्षतर्फ एक सिट जित निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा तीन लाख २ हजार २०३ मत ल्याएको छ ।
यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा राप्रपाभन्दा बढी मत ल्याएको छ । प्रत्यक्षमा तीन सिट जितेको श्रम सँस्कृतिले समानुपातिकतर्फ तीन लाख २४ हजार ५३३ मत ल्याएको छ । भदौ २३ र २४ गतेको घटनापछि गठन भएका दलहरुमध्ये यस पार्टीले छोटो समयमै राम्रो मत पाएको अवस्था छ । श्रम सँस्कृति ‘थ्रेसहोल्ड’ नजिकै छ ।
यी बाहेक अन्य दलले प्रत्यक्षमा एक सिट जित्न सकेका छैनन् । समानुपातिकतर्फ पनि उनीहरु अपेक्षाकृत मत ल्याउन सकेको देखिएको छैन । जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले हालसम्म समानुपातिकमा २० हजार ४४७ मत बढी मात्रै मत ल्याएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसहित दर्जनौं दलहरुको समानुपातिक मत दयनीय छ ।
राप्रपाबाट झापा–२ का उम्मेदवार भद्रप्रसाद नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ एक हजार मत पनि कटाउन सकेको छैन । हालसम्म पाँच सय ३१ मत मात्रै छ । त्यस्तै, जनप्रिय लोकतान्त्रिक पार्टीले पनि हजार मत कटाउन सकेको छैन । हालसम्म ७ सय १७ मत ल्याएको देखिन्छ । अब यी सबै दल सदन बाहिरै हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस !