कम्युनिष्ट ‘लालकिल्ला’ मा कांग्रेसको ऐतिहासिक पुनरागमन : इलाम–१ मा निश्कल राई विजयी

कम्युनिष्ट ‘लालकिल्ला’ मा कांग्रेसको ऐतिहासिक पुनरागमन : इलाम–१ मा निश्कल राई विजयी

इलाम : इलामको राजनीतिक इतिहासमा विरलै देखिने दृश्य यस पटक क्षेत्र नम्बर–१ मा देखियो, जहाँ दशकौंदेखि जरा गाडेर बसेको कम्युनिष्ट वर्चस्वलाई तोड्दै २६ बर्षपछि नेपाली कांग्रेसले विजयको नयाँ इतिहास रचेको छ ।

वामपन्थी राजनीतिका हस्तीहरू झलनाथ खनाल र महेश बस्नेतले लामो समय राज गरेको यस क्षेत्रमा यस पटक परिवर्तनको वेग यसरी चल्यो कि वर्षौदेखिको ‘लालकिल्ला’ भत्किन पुग्यो । विगतमा एक पटक बेनुपराज प्रसाईले कांग्रेसको तर्फबाट जित निकाले बाहेक हरेक निर्वाचनमा पराजय भोग्दै आएको कांग्रेसका लागि निश्कल राईको यो जित एउटा पुनर्जन्म जस्तै बनेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका ३५ बर्षीय निश्कल राईले   १४    हजार ५४३ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थान सुरक्षित गरे ।

यस क्षेत्रमा सधैँ पहिलो वा दोस्रो स्थानमा रहने नेकपा एमालेका काजीमान कागते भने यस पटक ११ हजार ९६६ मतसहित तेस्रो स्थानमा खुम्चिन पुगेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाउँदा नेकपाका रनबहादुर राईले ७ हजार ६६५ मतमा चित्त बुझाउनु पर्‍यो ।

यो चुनावी नतिजाले इलाम–१ को परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूर्ण रूपमा उल्टाई दिएको छ । कहिल्यै नहार्ने किल्लाका रूपमा चिनिएको यो क्षेत्रमा कम्युनिष्ट मत विभाजित हुनु र नयाँ शक्ति मानिएको श्रम संस्कृति पार्टीको उल्लेख्य उदय हुनुले स्थानीय राजनीतिमा नयाँ बहस छेडिदिएको छ । एमाले जस्तो संगठित शक्ति तेस्रो स्थानमा पुग्नु र कांग्रेसले दशकौँपछि आफ्नो विरासत फर्काउनुले मतदाताहरू पुराना अनुहार र कार्यशैलीभन्दा नयाँ विकल्प र ऊर्जाको खोजीमा रहेको प्रष्ट पार्छ ।

विजयको घोषणापश्चात् आफ्ना समर्थकहरू माझ भावुक मुद्रामा देखिएका निश्कल राईले यो जितलाई संयमताका साथ ग्रहण गरे । उनले विजय र्‍यालीका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जित आफ्नो व्यक्तिगत सफलता नभएर इलाम क्षेत्र नम्बर–१ का सचेत मतदाताहरूको विवेकको जित भएको टिप्पणी गरे । राईले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण नागरिकप्रति आभार प्रकट गर्दै आफूले पाएको यो जनमतको भारीलाई जिम्मेवारीपूर्वक बहन गर्ने प्रतिबद्धता जनाए ।

राईले अबका पाँच वर्ष आफ्ना लागि विश्रामको समय नभएर कामको परीक्षा भएको बताए । उनले यस क्षेत्रका ग्रामीण सडक, कृषि उपजको बजार व्यवस्थापन र शिक्षा–स्वास्थ्यका क्षेत्रमा रहेका जटिल समस्याहरू समाधान गर्न आफू अहोरात्र खट्ने अठोट गरे । निर्वाचनका बेला जनताको घरदैलोमा पुग्दा देखेका अभाव र सुनाएका पीडाहरूलाई नै आफ्नो मार्गनिर्देशन बनाउने भन्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी काम गर्ने प्रण समेत गरे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.