अनुभवको पूँजी लिएर संसद प्रवेश गर्ने पूर्व मेयर राईको ‘दाउ’
‘डिजिटल इलाम’ देखि कृषि सुपरजोनसम्मका आश्वासन
इलाम : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट संघीय प्रतिनिधिसभा निर्वाचन, इलाम क्षेत्र नं. १ का उम्मेदवार रणबहादुर राई यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाता माझ पुगिरहेका छन् । त्रिपक्षीय प्रतिष्पर्धा हुने इलाम क्षेत्र नम्बर–१ मा सूर्योदय नगरपालिकाका दुई कार्यकालका पूर्व नगर प्रमुख राई स्थानीय तहमा कमाएको प्रशासनिक अनुभव र विकासका आधारलाई संघीय संसदमा परिणामा देखाउने प्रतिवद्धतासहित चुनावी मैदानमा छन् ।
राई आफ्नो उम्मेदवारी पद र प्रतिष्ठाभन्दा पनि ‘समृद्ध इलामको स्पष्ट मार्गचित्र’ कार्यान्वयनका लागि भएको दाबी गर्छन् । उनी भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी शासन स्थापनाका लागि डिजिटल सुशासनलाई प्राथमिकतामा राख्ने बताउँछन् । नयाँ पुस्ताको अपेक्षाअनुसार जवाफदेहिता, प्रविधिमैत्री प्रशासन र तीन तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत आर्थिक वृद्धि हासिल गर्ने उनको भनाइ छ ।
कृषि र उद्योगलाई केन्द्रमा राख्दै राईले इलामका प्रमुख नगदे बाली-अलैंची, चिया, अदुवा, कफी, सुपारी, कागती र किवीको व्यवसायीकरण, ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी वाणिज्य नीति सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । निजी, सहकारी र सार्वजनिक साझेदारी मोडेलमार्फत उद्योगमा नयाँ लगानी भित्र्याउने, कच्चा पदार्थ र विद्युत आपूर्तिका समस्या समाधान गर्ने, इलाम क्षेत्र नं. १ लाई किवी र गाई ‘सुपरजोन’ का रूपमा विकास गर्ने, आलु विकास केन्द्रमार्फत वैज्ञानिक खेती प्रविधि विस्तार गर्ने योजना उनले अघि सारेका छन् ।
कृषि तथा पशु बीमालाई घरदैलोमै पुर्याउने, सुपारी खेतीलाई कृषि उपजमा सूचीकृत गराउने र भारतको क्वारेन्टाइन सूचीमा नपरेका उपजलाई सूचीकृत गराउन पहल गर्ने, मासुजन्य तथा दुग्ध उत्पादन वृद्धि गर्ने, खोरेतमुक्त क्षेत्र घोषणा गर्ने तथा नश्ल सुधारमार्फत पशुपालन आधुनिकीकरण गर्ने उनको आश्वासन छ ।
पर्यटन क्षेत्रतर्फ अन्तरपालिका पर्यटन गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक, शैक्षिक, कृषि र साहसिक पर्यटन सर्किट विकास गर्ने उनको लक्ष्य छ । भौतिक पूर्वाधारलाई आर्थिक विकासको मेरुदण्ड ठान्दै उनले मदन भण्डारी राजमार्गलाई इलाम क्षेत्र नं. १ को आर्थिक धुरीका रूपमा विकास गर्ने, विभिन्न केन्द्रसँग जोड्ने र शहर केन्द्रित ट्राफिक व्यवस्थापन सुधार गर्ने बताएका छन् । क्षेत्रका विद्यमान सडक सञ्जाललाई वर्गीकरण गरी अन्तरपालिका र जिल्लासँग जोड्ने सडकहरू व्यवस्थित गर्ने योजना पनि उनको प्राथमिकतामा छ ।
शिक्षा र नवप्रवर्तनमा उनले विद्यालय तथा क्याम्पसलाई डिजिटल ल्याब र अनुसन्धान केन्द्रमा रूपान्तरण गर्ने, विद्यालय तहदेखि नै कोडिङ र कृत्रिम बुद्धिमत्ता शिक्षा लागू गर्ने तथा विद्यार्थी र सरोकारवालाको आवश्यकताअनुसार नयाँ विधा र कार्यक्रम थप्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलामलाई कोशी प्रदेशकै ‘एजुकेसन हब’ का रूपमा विकास गरी उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने र शिक्षालाई सीपमूलक तथा रोजगारमुखी बनाउन नीतिगत सुधार गर्ने उनको योजना छ ।
स्वास्थ्यतर्फ सुविधा सम्पन्न क्षेत्रीय अस्पताल निर्माण, सबै नागरिकलाई राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध गर्दै ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणाली लागू गर्ने घोषणा उनले गरेका छन् । खानेपानी र सिँचाइमा अधुरा आयोजना सम्पन्न गरी हरेक घरमा शुद्ध खानेपानी पुर्याउने र आधुनिक प्रविधिसहित साना–ठूला सिँचाइ आयोजना निर्माण गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उनको लक्ष्य छ ।
सामाजिक सुरक्षामा बालबालिका, महिला र वृद्धवृद्धाका लागि बालमैत्री र बाधारहित पूर्वाधार निर्माण, भूमिहीन र सुकुम्बासी समस्याको स्थायी समाधान, वैदेशिक रोजगारीबाट फर्किएकाको सीप–पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल गर्ने उनले बताएका छन् ।
युवा तथा खेलकुदतर्फ गाउँदेखि नै खेलाडी उत्पादनका लागि एकेडेमी र व्यवस्थित खेल मैदान निर्माण, युवालाई परामर्श केन्द्र स्थापना गरी ‘संसद–युवा संवाद’ कार्यक्रममार्फत नीति निर्माणमा सहभागी गराउने योजना छ । भाषा, लिपी, कला र परम्परागत ज्ञानको संरक्षण गर्दै सांस्कृतिक पर्यटनसँग जोड्ने प्रतिबद्धता उनले दोहोर्याएका छन् ।
विपद् व्यवस्थापनमा हात्ती, बाँदर र बदेलबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक समाधान र क्षतिपूर्ति व्यवस्था, बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण तथा विपद् बीमा कार्यक्रम लागू गर्ने उनले बताएका छन् । तीन तहका सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय गरी दिगो विकास लक्ष्य हासिल गर्ने तथा इलामलाई डिजिटल हबका रूपमा विकास गर्दै स्वदेशी युवालाई गाउँमै बसेर आउट सोर्सिङमार्फत आम्दानी गर्ने वातावरण बनाउने उनको दीर्घकालीन दृष्टि छ ।
राई इलामको सूर्योदय नगरपालिकाको प्रमुखको रुपमा काम गर्दा कमाएको ख्यातीलाई जनतामाझ पस्केर यस पटकको निर्वाचनमा बाजी मार्ने दाउमा देखिएका छन् । उनले सूर्योदय नगरपालिकामा जति कुरा गरे उति उपलव्धी नभएको नागरिकहरुको आरोप छ । अहिले विगत कार्यकालका केही निर्णय र परिणामबारे स्थानीय तहमा फरक–फरक मूल्याङ्कन पनि भइरहेका छन् ।
राईको दाबी अनुसार सूर्योदय नगरपालिकाले दिगो विकास लक्ष्य (SDG) को सफल स्थानीयकरण गरेको र अन्तर्राष्ट्रिय ख्याती कमाएको दावी गरिरहेका छन् । यो उपलब्धि नीतिगत र कागजी हिसाबले महत्वपूर्ण मानिन्छ । यद्यपि, आलोचकहरूको प्रश्न छ दिगो विकास लक्ष्य सूचकहरू स्थानीय नागरिकको दैनिक जीवनमा कति रूपान्तरित भए ?
कृषि क्षेत्र, विशेष गरी चिया उत्पादनमा नगरपालिकाले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ ल्याउँदै कम्तीमा ४० प्रतिशत सुइरो भएको चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । यो नेपालमै पहिलो पटक स्थानीय सरकारले मूल्य तोकेको कदमका रूपमा चर्चा भयो । तर, कार्यान्वयन क्रममा विवाद चर्कियो ।
कार्यविधि आउनुअघि गुणस्तरीय चियाको मूल्य ७०–९० रुपैयाँसम्म पुग्ने गरेको किसानहरूको अनुभव छ । मूल्य तोकेपछि उद्योगीहरूले ४० रुपैयाँलाई नै अधिकतम मूल्यका रूपमा प्रयोग गर्न थालेको आरोप छ । फलस्वरूप, किसानहरूले मेची राजमार्गमा चियापत्ती पोखेर आन्दोलन गरेका थिए । उद्योग बन्द भए, सहमति पनि भयो, तर किसानहरूका अनुसार व्यवहारमा मूल्य समस्या समाधान भएन । अहिले पनि समस्या उस्तै छ ।
तथ्याङ्कीय रूपमा हेर्दा न्यूनतम मूल्य ४० रुपैयाँ तोकिए पनि धेरै किसानले औसत ३०–३५ रुपैयाँ मात्र पाएको गुनासो छ । उत्पादन लागत २०१८ को अध्ययनअनुसार ३७.३१ रुपैयाँ प्रतिकिलो थियो, तर हालको महँगी र मल अभावले लागत ४५ रुपैयाँ नाघेको किसानको दाबी छ । मूल्य ६ वर्षदेखि परिमार्जन नभएको, प्राङ्गारिक प्रमाणीकरण महँगो भएको र ९० प्रतिशत चिया भारत निर्यातमा निर्भर रहेकाले स्थानीय नीति मात्र पर्याप्त नहुने तर्क आलोचकहरूको छ । गुणस्तर मापनका लागि किसानसँग आफ्नै प्रयोगशाला नहुनु, बिचौलियाको भूमिका र सङ्कलन केन्द्रको अपारदर्शिता पनि समस्या मानिन्छ ।
डिजिटल सुशासनतर्फ नगरपालिकाले मोबाइल एप र अनलाइन प्रणाली सुरु गरी सेवा प्रवाह प्रविधिमैत्री बनाउने प्रयास गरेको थियो । कागजी प्रक्रिया घटाउने कदम सकारात्मक मानिए पनि अहिले पनि नगर पालिकामा कागजी प्रक्रिया विना सानो काम पनि अघि बढ्दैन।
पर्यटनतर्फ कन्याम र फिक्कल क्षेत्रमा पूर्वाधार विकास, पार्क निर्माण र ‘पर्यटकीय नगर’ घोषणाले आन्तरिक पर्यटन वृद्धि भएको देखिन्छ । तर ‘विश्व पर्यटन मानचित्रमा’ उल्लेख्य ब्राण्डिङ भएको दाबीलाई कतिपयले अतिरञ्जित ठान्छन् । अन्तर्राष्ट्रियस्तरको ठोस लगानी र प्रचार–प्रसार अभाव रहेको पर्यटन व्यवसायीहरुको टिप्पणी छ ।
शिक्षा र स्वास्थ्य सुधारमा केही विद्यालयमा प्राविधिक शिक्षा सुरु, स्वास्थ्य चौकी स्तरोन्नति जस्ता काम भए पनि ग्रामीण भेगका बिरामी अझै जटिल उपचारका लागि झापा वा विराटनगर धाउनुपर्ने बाध्यता कायमै छ। त्यसैले यी सुधारलाई आंशिक उपलब्धि मान्ने मत बलियो छ ।
यसैबीच राईले आगामी निर्वाचनका लागि सार्वजनिक गरेका एजेण्डामा कृषि सुपरजोन, उद्योगमा पव्लिक, प्राइभेट पाट्नरसिप मोडलको लगानी, डिजिटल हब स्थापना, क्षेत्रीय अस्पताल निर्माण, सिँचाइ विस्तार, भूमिहीन समस्या समाधान, युवा–खेलकुद एकेडेमी, विपद् बीमा, आइटी आउटसोर्सिङमार्फत रोजगारी सिर्जना जस्ता महत्वाकांक्षी योजना छन् । तर विगतमा सुरु भएका नीतिहरूको पूर्ण कार्यान्वयनमै चुनौती देखिएको अवस्थामा संघीय तहमा पुगेपछि ती वाचा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने प्रश्न मतदातामाझ उठ्न थालेको छ ।
रणबहादुर राईको कार्यकाल नीतिगत नवप्रयोग र संस्थागत पहलकदमीका लागि उल्लेखनीय मानिए पनि ‘प्रक्रिया’ र ‘परिणाम’ बीचको दूरीबारे बहस जारी छ । उपलब्धिको दाबी र कार्यान्वयनको वास्तविकता बीचको यही अन्तर नै आगामी निर्वाचनमा उनको सबल पक्ष र कमजोरी दुवै बन्न सक्ने देखिन्छ । अब अन्तिम निर्णय भने इलाम क्षेत्र नं. १ का मतदाताकै हातमा छ ।
प्रतिक्रिया दिनुहोस !