इलाम–१ मा कांग्रेसका निश्कल राईको प्रतिबद्धता : कृषि ऐनदेखि पूर्वाधार क्रान्तिसम्म

इलाम–१ मा कांग्रेसका निश्कल राईको प्रतिबद्धता : कृषि ऐनदेखि पूर्वाधार क्रान्तिसम्म

इलाम : नेपाली कांग्रेसका इलाम क्षेत्र नं. १ का उम्मेदवार निश्कल राईले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, रोजगारी, सामाजिक न्याय र सुशासन समेटिएको विस्तृत तथा संरचनागत प्रतिबद्धता–पत्रसहित चुनावी मैदानमा छन् । 

उनले अघि सारेका कृषि ऐन, किसान वर्गीकरणसहितको परिचय पत्र र भूमिहीन तथा सीमान्तकृत किसानको अधिकार स्थापना जस्ता विषयलाई यस क्षेत्रमा हालसम्म कुनै उम्मेदवारले प्राथमिकतामा नराखेको नयाँ राजनीतिक एजेण्डाका रूपमा हेरिएको छ ।

राईले कृषि क्षेत्रलाई कानुनी संरक्षण र संस्थागत ढाँचाभित्र ल्याउन संघीयस्तरमा कृषि ऐन निर्माण तथा सुदृढीकरण पहल गर्ने घोषणा गरेका छन् । उनका अनुसार कृषि पेशालाई औपचारिक अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न किसानलाई कानुनी हैसियत, सामाजिक सुरक्षा र उत्पादनको मूल्य सुनिश्चितता आवश्यक छ । त्यसका लागि किसानको दर्ता, उत्पादन अभिलेखीकरण र अनुदान वितरणलाई पारदर्शी बनाउने कानुनी व्यवस्था आवश्यक रहेको उनको तर्क छ ।

उनले इलाम–१ का सम्पूर्ण कृषकलाई वर्गीकृत किसान परिचय पत्र (किसान आईडी कार्ड) उपलब्ध गराउने योजना अघि सारेका छन् । यसअन्तर्गत व्यावसायिक किसान, साना किसान, सीमान्तकृत किसान, भूमिहीन किसान तथा महिला किसानलाई स्पष्ट रूपमा वर्गीकरण गरी अनुदान, बीमा, सहुलियत कर्जा, प्राविधिक सेवा र बजार पहुँचमा प्राथमिकता दिने व्यवस्था गरिने उल्लेख गरिएको छ । विशेष गरी भूमिहीन, सीमान्तकृत र महिला किसानको अधिकारलाई कृषि ऐनमै स्पष्ट प्रावधानसहित समावेश गराउन पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

प्रमुख नगदे तथा खाद्य बाली-चिया, अलैंची, आलु, दुग्ध र सुपारीका लागि न्यूनतम समर्थन मूल्य निर्धारण, मूल्य स्थिरीकरण कोष स्थापना तथा उत्पादन बीमा कार्यक्रम लागू गर्ने योजना पनि सार्वजनिक गरिएको छ । किसान उत्पादनलाई प्रशोधन र मूल्य अभिवृद्धिसँग जोड्न ‘इलाम कृषि औद्योगिक क्षेत्र’ स्थापना गर्ने, बीउ परीक्षण प्रयोगशाला, कोल्ड स्टोर, ग्रेडिङ तथा प्याकेजिङ केन्द्र निर्माण गर्ने र डिजिटल मूल्य सूचना प्रणाली सञ्चालन गर्ने कार्ययोजना घोषणापत्रमा समेटिएको छ ।

राई भन्छन्, ‘इलामको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्नु नै मेरो मूल प्रतिबद्धता हो ।’ राईले कृषि, पर्यटन, डिजिटल सेवा आदि क्षेत्रमा युवा लक्षित प्रमाणपत्र र ‘सीपदेखि रोजगार’ कार्यक्रम लागू गर्दै स्वदेश फर्किएका युवालाई सीप मापन, तलबयुक्त अभ्यास र उद्यम÷रोजगारमा जोडिने  विदेशबाट फर्केका युवाहरुका लागि उद्यम कार्यक्रमको व्यवस्था गर्ने उल्लेख गरेका छन् । 

युवा–उद्यम विकास प्लेटफर्म स्थापना गरी बैंक, सहकारी र बजारसँग समन्वयमा स्टार्टअप सिड ग्रान्ट, सुलभ कर्जा, कानुनी र व्यवसाय परामर्श, दर्ता तथा निर्यात सहजीकरण, युवा नेतृत्वमा व्यवसाय दर्ता छिटो र शुल्क कम गरिने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् । 

रेमिट्यान्स लगानीमा सह–लगानी योजना, ब्याज छुट वा कर लाभ र विदेशी कार्य अनुभवलाई बैंकले उद्यम क्रेडिट योग्यतामा मान्यता दिने व्यवस्था पनि अघि बढाउन पहल गरिने उनको प्रतिवद्धतामा उल्लेख छ ।  ‘स्थानीय सरकारको सहकार्यमा गाउँस्तरीय नवप्रवर्तन र सहकार्य केन्द्र स्थापना गरी उच्च गतिको इन्टरनेट, डिजिटल उपकरण र व्यावसायिक सल्लाह उपलब्ध गराइनेछ’, राईले भनेका छन् । 

उनले युवा–नेतृत्वमा डिजिटल सेवा उद्यम (रिमोट वर्क, डिजिटल मार्केटिङ, पर्यटन मिडिया, ई–कमर्स) प्रवद्र्धन गरिने, ई–कमर्स र थोक बजारसँग प्रत्यक्ष उत्पादकदेखि खरिदकर्ताको माध्यम सिर्जना गरिने,  निजी लगानी आकर्षित गर्न ‘इलाम–१ लगानी सम्मेलन’ आयोजना गरिने प्रतिवद्धता समेत जायर गरेका छन् । 

बहुउद्देश्यीय खेल मैदान, तालिम सुविधा र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै पदकपछि बिर्सिने राज्य प्रवृत्ति अन्त्य गर्दै खेलाडीलाई छात्रवृत्ति, प्रशिक्षण, रोजगारी र मेन्टरशिपमार्फत खेल–अर्थतन्त्रमा जोडिने नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख गरेका छन् । 
युवा नीति मञ्च र वार्षिक युवा विकास सभाहरूमार्फत युवालाई नीतिगत प्राथमिकता र परियोजनामा प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने उनको प्रतिवद्धतामा उल्लेख छ । 

उनले पर्यटन र स्थानीय अर्थतन्त्रको विकासका लागि इलाम–१ लाई संघीयस्तरमा पूर्वी नेपाल पर्यटन सर्किटको हिस्सा बनाउने प्रस्ताव अघि बढाई चिया बगान दृश्यावलोकन, पहाडी ट्रेल, जैविकविविधताका क्षेत्र र सांस्कृतिक महत्वका क्षेत्रहरुलाई एकीकृत गरिने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलका पर्यटन सूचना बोर्डहरु, विदेशस्थित नेपाली दूतावासका प्रचार सामग्री, ‘भिजिट नेपाल’ अभियान र विदेशी टुर अपरेटरहरुमा इलाम–१ का गन्तव्य समावेश गरिने उल्लेख गरेका छन् । 

प्रतिवद्धतामा चिया किसान तथा उद्योगहरूसँग सहकार्य गरी अवलोकन केन्द्र, चिया बगान भ्रमण मार्ग, टेस्टिङ केन्द्र, कारखाना भ्रमण, किसान–होमस्टे र चिया संस्कृति संग्रहालय समेटिएको ‘चिया पर्यटन क्लस्टर’ कार्यक्रम विकास गरिने समेत उल्लेख छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका संकेतकहरू, सुरक्षा चौकी, विश्रामस्थल र डिजिटल नक्सांकनसहित हिमाली पदमार्ग (ट्रेल) प्रणालीको विस्तार गरिने उनको प्रतिबद्धतामा उल्लेख छ । 

राईले रेडपाण्डा, काँडेभ्याकुर जस्ता दुर्लभ पशुपंक्षीहरू समेटिएको इको–पर्यटनलाई अनुसन्धान तथा विदेशी स्वयंसेवक कार्यक्रमसँग जोडि बसोबास, उद्धार केन्द्र र गाइड सेवासहित ट्रेलमा आधारित भित्री–तराईदेखि पहाडसम्मका ठाउँहरुलाई ट्रान्जिट हबमा विकास गरिन उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘स्थानीय युवालाई केन्द्रमा राख्दै ट्रेकिङ, माउन्टेन बाइकिङ, जङ्गल वक र सम्भाव्यता अध्ययनमा आधारमा रिसोर्ट, होमस्टे र स्थानीय सेवासँग जोडेर, प्याराग्लाइडिङ, रक क्लाइमिङ आदि जस्ता साहसिक पर्यटन सर्किटको विकास गरिनेछ ।’
होमस्टे प्रमाणीकरण तथा स्तरोन्नतिका लागि अनुदान प्रवन्धदेखि ट्रेल, पार्किङ र प्रवेश सेवा स्थानीय समूहले व्यवस्थापन गरी आम्दानी स्थानीयस्तरमै उपयोग गर्न मिल्ने सामुदायिक पर्यटन राजस्व मोडेलको प्रस्ताव गर्ने समेत उनको प्रतिवद्धतामा उल्लेख छ । 

उनले महिला र युवा नेतृत्वका पर्यटन उद्यमलाई विशेष अनुदान र तालिमको लागि पहल गरिनेछ । स्थानीय सरकारहरूको साझेदारीमा सामुदायिक सांस्कृतिक केन्द्र, संग्रहालय तथा वार्षिक रुपमा ‘इलाम सम्पदा तथा संस्कृति प्रवर्धन महोत्सव’ सञ्चालन गर्ने योजना बनाएका छन् । 

शिक्षा तथा सीप केन्द्र विकासका लागि  इलाम–१ लाई प्राविधिक तथा सीप शिक्षा प्राथमिकता क्षेत्र घोषणा गरी संघीय अनुदानमा एक प्राविधिक संस्थान र मागअनुसार क्षेत्रगत (चिया, अलैंची-जडीबुटी, आतिथ्य, कृषि मेशिनरी आदि) सीप केन्द्र स्थापना गरिनेदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित (STEAM) शिक्षा जोडिने पाठ्यक्रम, शिक्षक डिजिटल प्रशिक्षण र विषयगत शिक्षक साझेदारी प्रभावकारी बनाउन सहकार्य र बजेटका लागि पहल गर्ने उल्लेख छ ।  स्थानीय सरकारसँग सहकार्यमा ‘भविष्य जनशक्ति विकास प्रयोगशाला’ कार्यक्रम सञ्चालन गरी इलामबाट अर्को पुस्ताका वैज्ञानिक र नवप्रवर्तक तयार गर्ने रचनात्मक कार्यक्रम समेत राईको प्रतिवद्धता पत्रमा परेको छ । 

उम्मेदवारले शिक्षा क्षेत्रलाई उत्पादन र बजारसँग जोड्ने योजना अघि सारेका छन् ।  प्रतिबद्धता पत्रअनुसार अब शिक्षण संस्थाको गुणस्तर मापन गर्न अनिवार्य ‘दुई–वर्षे शिक्षण नतिजा अडिट’ गरिनेछ । प्रधानाध्यापकहरूसँग नतिजामुखी कार्यसम्पादन सम्झौता गरिने र विद्यार्थीहरूको सर्वांगीण विकासका लागि नियमित परामर्श कार्यक्रम लागू गरिने उल्लेख छ ।

विशेष गरी ‘सीपदेखि–बजार’ कार्यक्रममार्फत सार्वजनिक अनुदान पाउनुअघि शिक्षण संस्थाहरूले रोजगार साझेदारीलाई अनिवार्य गर्नुपर्ने व्यवस्था गरिनेछ । इलामको पहिचान चिया र जैविक विविधतालाई ध्यानमा राख्दै विश्वविद्यालय र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयमा ‘चिया, हिमाली कृषि तथा जैविक विविधता अनुसन्धान केन्द्र’ स्थापना गर्ने योजना निकै उत्साहजनक देखिन्छ ।

त्यस्तै, माइजोगमाई–सन्दकपुर क्षेत्रलाई ‘रेडपाण्डा र हिमाली पर्यावरण’ अनुसन्धानको हब बनाइनेछ । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि फिल्ड–स्टडी क्षेत्रको रूपमा विकास गरी ग्रामीण नवप्रवर्तन प्रयोगशाला स्थापना गरिने प्रतिबद्धतामा उल्लेख छ । इलामको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन कृषि–प्रशोधन, दुग्ध, चिया र जडीबुटीमा आधारित साना औद्योगिक क्षेत्रहरूको विकास गरिने उम्मेदवारको योजना छ । सहकारी र साना तथा मझौला उद्यम का लागि मेसिनरी अनुदान र ’साना उद्यम ऋण ग्यारेन्टी योजना’ लागू गर्न पहल गरिनेछ, जसले गर्दा उद्यमीहरूले कम धितोमा ऋण प्राप्त गर्न सक्ने छन् । 

सहकारी क्षेत्रमा बढ्दो अनियमितता रोक्न पारदर्शिता, डिजिटल अडिट, र किसान भुक्तानीको डिजिटाइजेसनलाई अनिवार्य गरिनेछ। साथै, सितली, देउराली, नयाँबजार, फिक्कल र पशुपतिनगर जस्ता मुख्य बजारहरूलाई गुरुयोजना बनाएर व्यवस्थित सहरका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

स्वास्थ्य क्षेत्रमा ’२४-७ सेवा’ को अवधारणा अघि सारिएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई प्रयोगशाला, प्रसूति र आपतकालीन क्षमतासहित स्तरोन्नति गरिनेछ । दुर्गममा काम गर्ने चिकित्सकका लागि विशेष प्रोत्साहन प्याकेज र टेलिमेडिसिन सेवा विस्तार गरिने प्रतिबद्धतामा उल्लेख छ ।

पछिल्लो समय जनस्वास्थ्यमा चुनौती बनेका मुटु रोग, मधुमेह, क्यान्सर र मानसिक स्वास्थ्य समस्याको स्क्रिनिङका लागि विद्यालय र समुदायस्तरमा कार्यक्रम चलाइनेछ। विशेष गरी जेष्ठ नागरिक र न्यून आय भएका परिवारका लागि स्वास्थ्य बीमा र निःशुल्क जाँच अभियानलाई तीव्रता दिइनेछ ।

पूर्वाधार विकासमा उम्मेदवारले वैज्ञानिक पद्धति अपनाउने बताएका छन् । उनका अनुसार पहिलो वर्षमै फिल्ड भेरिफिकेशन गरी प्राथमिकताका आधारमा योजना छनोट गरिनेछ । रणनीतिक चक्रपथ, तराई, पहाड जोडेने सडक, बैकल्पीक सडकहरु निर्माणको योजना पनि प्रतिबद्धता पत्रमा छ । 

पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न कूटनीतिक पहल गर्ने र कृषि निर्यातका लागि क्वारेन्टाइन सुविधाहरू सुदृढ गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । उच्च प्रयोग हुने ग्रामीण सडकलाई ’बायो–इन्जिनियरिङ’ सहित बाह्रै महिना चल्ने बनाइने र कृषि उत्पादन संकलनका लागि ’हाटबजार स्टल’ निर्माण गरिनेछ ।

महिला नेतृत्वका उद्यमहरूलाई विशेष वित्तीय सहायता र उपकरण अनुदान दिने योजना अघि सारिएको छ। एकल महिला, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक समुदायका लागि लक्षित सीप प्याकेज ल्याइने उल्लेख छ । आजको डिजिटल युगमा बढ्दो अनलाइन ठगी र सामाजिक सद्भावमा आँच आउने क्रियाकलाप रोक्न उम्मेदवारले ‘सतर्क बसौँ, सम्मान गरौँ, सकारात्मक सोचको विकास गरौँ’ भन्ने अभियानको घोषणा गरेका छन् । यसले समाजमा जिम्मेवार डिजिटल संस्कृतिको निर्माण गर्ने विश्वास लिइएको छ।

सुशासन र जवाफदेहिताको नयाँ मोडल
राजनीतिमा पारदर्शिताको कमी महसुस गरिरहेका मतदाताका लागि उम्मेदवारले ‘प्रतिबद्धता ट्रयाकिङ ड्यासबोर्ड’ को अवधारणा ल्याएका छन् । गैर–दलीय विज्ञ सल्लाहकार समूहको गठन गर्ने, हरेक ६ महिनामा बजेट कार्यान्वयनको अवस्था सार्वजनिक सुनुवाइमार्फत जानकारी दिने, ठेक्कापट्टामा प्रगतिसूचकका आधारमा प्रतिवेदन प्रणाली लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

संघीय नीति र सेवा प्रणालीमा प्रभावकारी उपस्थिति
संघीय संसदमा युवा पुस्ताको भावना समेट्ने गरी संविधान संशोधनका लागि वकालत गर्ने र शिक्षकहरूको सेवा सुविधा निजामती कर्मचारी सरह बनाउन शिक्षा विधेयकका लागि पहल गर्ने प्रतिबद्धता उम्मेदवारको छ । सार्वजनिक खरिद ऐनमा सुधार गरी गुणस्तरका आधारमा निर्माण व्यवसायी छनोट गर्ने प्रणालीका लागि दबाब दिइनेछ ।

आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सिधै जोडिन इलाममा स्थायी सम्पर्क कार्यालय र काठमाडौँमा समन्वय कार्यालय स्थापना गरिने छ । नागरिकका गुनासाहरूलाई ’डिजिटल टिकट’ प्रणालीमार्फत व्यवस्थापन गरिने र व्यक्तिगत सांसद कोषको एक हिस्सा शिक्षा र सीप विकासमा खर्च गरिने राईले घोषणा गरेका छन् । ‘मलाई भाषणले होइन, मापनयोग्य नतिजाले मूल्याङ्कन गर्नुहोस्’, राईको प्रतिबद्धतामा उल्लेख छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.