नवौं पटक चुनावी मैदानमा पूर्वमन्त्री पिएस गुरुङ, लमजुङमा त्रिपक्षीय प्रतिष्पर्धा

नवौं पटक चुनावी मैदानमा पूर्वमन्त्री पिएस गुरुङ, लमजुङमा त्रिपक्षीय प्रतिष्पर्धा

लमजुङ : प्रतिनिधि सभा निर्वाचनको दिन आउन ६ दिन मात्र बाँकी रहँदा देशभर चुनावी गतिविधि तीब्र बनेको छ । पूर्वमन्त्रीदेखि स्वतन्त्र उम्मेदवार समेत रहेको लमजुङमा पनि चुनावी माहोल तातेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा ११ दल र एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा छन् ।

रोचक कुरा दुई जना पुराना उम्मेदवारसँग १० जना पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि लमजुङको राजनीतिमा सक्रिय नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा (पिएस) गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी बाहेक अन्य सबै उम्मेदवार नयाँ अनुहारको हुन् ।

गुरुङ २०७९ को निर्वाचनमा बिजयी बनेका थिए । सोही निर्वाचनमा धर्मराज केसी तेस्रो स्थान हासिल गर्दै पराजित भएका थिए । जसका कारण आसन्न निर्वाचनमा लमजुङमा मुख्य तीन दलबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिष्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिष्पर्धीमा थपिएको हो ।

लमजुङमा आठ वर्षपछि एक्ला–एक्लै प्रतिष्पर्धामा उत्रिएका एमाले, कांग्रेस, तत्कालीन माओवादी (अहिलको नेपाली कम्युनिष्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिष्पर्धी हुने भए पनि मुख्य प्रतिष्पर्धा एमाले, कांग्रेस र रास्वपाबीच हुने अनुमान धेरैले गरेका छन् । 
 २०७४ मा एमालेसँग मिलेर माओवादी र २०७९ मा कांग्रेस–माओवादीसहितको गठबन्धनविरुद्ध एमालेले जितेको थियो । विगतको मत परिणमा यस पटक हेरफेर हुन सक्ने आँकलन गरिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङको समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१ हजार १७८ मत ल्याउँदै पहिलो स्थान हासिल गरेको थियो । नेपाली कांग्रेस २७ हजार ७९६ मतसहित दोस्रो स्थानमा रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले ८,२१७ मत ल्याएर तेस्रो स्थान बनाउँदा तत्कालीन नेकपा (माओवादी केन्द्र) ६,४८३ मतसहित चौंथो स्थानमा सीमित भयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३०८ मत प्राप्त गरेको थियो । २०७९ को निर्वाचनमा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गरेका थिए । 
पृथ्वी सुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मत पाएका थिए ।  

मतान्तर ३,१८८ थियो । २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट तत्कालीन (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ विजयी बनेका थिए । अघिल्लो परिणामले परम्परागत दुई ठूला दलको प्रभाव बलियो रहेको देखाए पनि नयाँ शक्तिप्रति पनि मतदाताको आकर्षण बढ्दै गएको संकेत गरेको छ । एमालेबाट ‘हेभिवेट’ उम्मेदवारका रूपमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी धर्मराज केसी र नेपाली कम्युनिष्ट पार्टीबाट हरिजङ्ग तामाङ रहेका छन् । चारै जनाले जित्ने दाबी गर्दै मतदाता रिझाइरहेका छन् । 

लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेशनल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे चुनावी मैदानमा छन् । उनीहरू पनि चुनावी अभियानमा आफूहरूले जित्ने दाबी गर्दै आएका छन् ।

एमाले र कांग्रेसबीच मुख्य प्रतिष्पर्धा देखिए पनि रास्वपाको सम्भावित वृद्धि वा राजनीतिक समीकरणले परिणाममा फेरबदल ल्याउन सक्ने देखिएको छ । अन्ततः उम्मेदवारको विश्वसनीयता, जनसम्पर्क, संगठनको सक्रियता र स्थानीय मुद्दाप्रतिको संवेदनशीलताले नै २०७९ को परिणाम दोहोरिन्छ कि नयाँ इतिहास बन्छ भन्ने तय गर्ने छ । निर्णय भने मतपेटिकाले नै गर्नेछ । 

पृथ्वी सुब्बा गुरुङ २०४३ सालदेखि हरेक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ मा उनी उम्मेदवार थिए । यसअघि ८ पटक चुनाव लडेका पृथ्वी सुब्बा गुरुङ २०६४, २०७४ र २०७९ मा मात्रै गरी ३ पटक निर्वाचित भए । बाँकी ५ पटक हारे ।

अमृत साइन्स क्याम्पसमा २०३४ मा बीएससी अध्ययन सकेर आफ्नै गाउँ हाल क्व्होलासोंथर गाउँपालिका–९, गिलुङमा रहेको हालको बुद्धोदय माविमा उनी शिक्षक बने । विज्ञानका शिक्षक करिब ७ बर्ष प्रधानाध्यापकमा रहँदै गर्दा राजिनामा दिएर २०४३ मै जनपीक्षय उम्मेदवार बने । ‘एक वाम–एक ठाम’ नारा दिएर चुनाव लड्दा राष्ट्रिय पञ्चायत सदस्यमा लेखनाथ अधिकारीसँग उनी हारेका थिए ।

२०४८ मा उनी कांग्रेसका रामबहादुर गुरुङसँग पराजित भए । २०५१ मा उनी पुनः उनै रामबहादुरसँग हारे ।  २०५६ मा कांग्रेसका हरिभक्त अधिकारीसँग हारे । एमाले तेस्रो पार्टीमा खुम्चिँदा २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै उनी निर्वाचित भए । २०६५ देखि २०६९ सम्म आदिवासी जनजाति सभासदको समूह ककसको संयोजक बनेका उनी खसआर्य समुदायमाझ विवादित बनाइँदा २०७० को दोस्रो संविधान सभा चुनावमा कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७२ मतले पराजित भए ।

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पृथ्वीसुब्बा लमजुङ प्रदेश (ख) बाट निर्वाचित हुँदै गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने । तत्कालीन नेकपामा आएको खटपटपछि तत्कालीन माओवादी केन्द्र समर्थित सांसदहरूले समर्थन फिर्ता लिँदा उनी २०७८ जेठ २७ गते पदमुक्त भए । मुख्यमन्त्री हुँदा उनले प्रदेश संरचनालाई बलियो बनाउन गण्डकी विश्वविद्यालय स्थापना गरे । एक घर एक धारको अभियान चलाएर घरघरै धारा पुर्‍याए ।

हरेक पालिका केन्द्रसम्म पक्की सडकको योजना अघि सारे । उज्ज्यालो प्रदेशको परिकल्पना गरे । मुख्यमन्त्रीहरूलाई भेला गरेर केन्द्रीय एकीकृत अधिकारबारे धावा बोले । संवैधानिक अधिकार मागे । २०७९ को निर्वाचनमा विजयी उनी २०८१ असार ३१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा चुनिए । सत्तामा रहेको १५ महिना नबित्दै गत भदौ २३ को जेन्जी आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढल्यो ।

लमजुङमा कति छन् मतदाता ?
लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यस पटक मतदाताको संख्या तीन हजार ४०७ जनाले बढेको छ । मतदानका लागि १३० मतदान स्थलमा  र एक अस्थायीसहित १९३ मतदान केन्द्र रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.