कृषि मेलामा कृषकलाई सम्मान
तानसेन : बगनासकाली गाउँपालिका पाल्पाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ। कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने,स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले आयोजित मेलामा गाउँपालिकाका विभिन्न वडाबाट कृषकहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रदर्शनीमा सहभागी कृषकहरूमध्ये विभिन्न विधामा उत्कृष्ट ठहरिएका २१ कृषकहरूलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरियो।
तरकारी विधामा बगनासकाली–७ खानीगाउँका पूर्ण मिधुनको फर्सी प्रथम,वडा नं.५ दर्लामडाडाका कृषक खिमानन्द भट्टराइको बन्दा द्वितीय र वडा नं.१ चिरतुंगधाराका कृषक भक्तमाया चिदीको मुला तिृतीय र वडा नं. ८ बराङ्दीकी लुमकला घिमिरेको कुरिलोले सान्तवना पुरस्कार हात पारेका छन्।
फलफूल विधातर्फ वडा नं.८ बराङ्दीकी राधा बस्यालको केरा प्रथम, वडा नं. ९ का ओमबहादुर सारुको भुइँकटहर द्वितीय र वडा नं.६ यम्घाका हिरालाल बस्यालको अमिलो तृतीय र वडा नं. ७ खानीगाउँका डिला खाम्चाको एभोकार्डले सान्तवना पुरस्कार हात पारेका छन्। खाद्यान्न, दलहन तथा तेलहन विधाअन्तर्गत वडा नं. १ चिरतुंगधाराका कृषक रिता चिदीको मकै प्रथम, वडा नं.७ खानीगाउँकी कृषक बालकुमारी ठाडाको जौ द्वितीय र वडा नं. २ का कृषक तोरीमा मित्रलाल बस्यालको तोरी तृतीय र वडा नं. १ चिरतुंगधाराका कृषक ताराबहादुर सिंजालीको धानले सान्तवना पुरस्कार हात पारेको छ।
मसला तथा नगदे बाली विधातर्फ वडा नं.९ चापपानीका कृषका यज्ञप्रसाद बस्यालको अदुवा प्रथम,सोही स्थानकै दिलकुमारी थापाको बेसार द्वितीय,वडा नं. ७ का कृषका खुमानन्द पाठकको कफी तृतीय र वडा नं.१ चिरतुंगधाराका जानुका रेस्मीको धनियाँले सान्तवना पुरस्कार हात पारेको छ।
स्थानीय रैथाने तथा विविधअन्तर्गत दुई जना कृषकको उत्पादन प्रथम भएको छ जसमा वडा नं.८ बराङ्दीकी राधिका बस्यालको पिँडालु र वडा नं.७ खानीगाउँ भीषण अधिकारीको तरुल प्रथम, वडा नं.८ बराङ्दीकी भवीन्द्र बस्यालको फूल द्वितीय,वडा नं. ७ खानीगाउँकी वेदकला गौतमको गहते सिमी तृतीय र वडा नं. ९ चापपानीका शिवकुमार मल्लको च्याउँले सान्तवना पुरस्कार पाएको छ।
विजेता कृषकहरूलाई विधागत रूपमा प्रथम हुनेलाई ४ हजार,द्वितीयलाई ३ हजार,तृतीयलाई २ हजार र सान्त्वना पुरस्कार स्वरूप १ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। यस प्रदर्शनीले स्थानीय स्तरमा लुकेर रहेका कृषि उत्पादनलाई बाहिर ल्याउन र कृषकहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिएको छ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बगनासकालीको समृद्धिको मुख्य आधार नै कृषि भएको बताइन्। प्रदर्शनी केवल उत्सव मात्र होइन कृषकहरूको पसिनाको सम्मान र उत्पादनलाई बजारसँग जोड्ने थलो भएको अध्यक्ष चिदीले बताइन्। आगामी नीतिमा हामीले कृषकलाई केवल अनुदानमा मात्र सीमित नराखी ‘उत्पादनमा आधारित प्रोत्साहन’दिने र उनीहरूको उत्पादनको निश्चित बजार ग्यारेन्टी गर्ने योजना पालिकाले बनाएको अध्यक्ष चिदीले बताइन्।
उपाध्यक्ष हरिप्रसाद पाठकले प्रदर्शनी तथा कृषि मेलाले कृषकहरूबीच स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने र एक–अर्काको प्रविधि सिकेर उत्पादन विविधीकरणमा सहयोग पुग्ने बताए। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पालिकाले कृषि आधुनिकीकरणका लागि सिँचाइ र उन्नत बिउबिजनमा लगानी बढाएको बताउँदै प्रदर्शनीबाट प्राप्त तथ्यांकका आधारमा आगामी बजेटका प्राथमिकता तय गरिने बताए।
कृषि शाखा प्रमुख किशोर खत्रीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन पालिकाले प्राविधिक सहयोग, माटो परीक्षण र रोग नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !