पर्यटकीय गन्तव्य पौवादुङमाको च्यांग्रे पोखरी

पर्यटकीय गन्तव्य पौवादुङमाको च्यांग्रे पोखरी
सुन्नुहोस्

भोजपुर : भोजपुरको ऐतिहासिक हाटबजारले चिनिने ‘च्यांग्रे’सँग जोडिएको च्यांग्रे पोखरी पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ। ऐतिहासिक, धार्मिक र प्राकृतिक विशेषता बोकेको यो पोखरीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको हो।

जिल्लाको प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ मानिने तिवारी भञ्ज्याङबाट करिब पाँच किलोमिटर दूरीमा अवस्थित च्यांग्रे पोखरी मध्यपहाडी लोकमार्गसँग जोडिएको छ। सहज पहुँच र बढ्दो भौतिक पूर्वाधारका कारण यहाँ पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।

अहिले पोखरीलाई पूर्णता दिन पोखरी परिसरमा बोटिङ, विभिन्न आरामदायी चौतारी, विभिन्न जानकारीमूलक भोजपुरका ऐतिहासिक महत्त्वका धरोहर तथा वीर योद्धाका प्रतिमाहरू स्थापित गरिएका छन्। स्थानीय रामजी राईका अनुसार बाह्य पर्यटनलाई लक्षित गर्दै निर्माण गरिएका संरचनाले पोखरीको आकर्षण बढाएको छ। ‘गाउँपालिकाले दीर्घकालीन योजना बनाएर संरक्षण र प्रवर्द्धनमा ध्यान दिएको छ, त्यसको असर अहिले देखिन थालेको छ,’ उनी भन्छन्।

करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरी ऐतिहासिक तथा धार्मिक महत्त्वले समेत भरिपूर्ण छ। स्थानीय किंवदन्तीअनुसार वर्षौंअघि यहाँ च्यांग्राहरू आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने गर्दथे। त्यसैबाट ‘च्यांग्रे पोखरी’ नाम रहन गएको विश्वास छ। स्थानीय रणबहादुर भन्छन्, ‘सानो छँदादेखि अहिलेसम्म पोखरीको पानी कहिल्यै सुकेको देखेको छैन। जति खडेरी परे पनि पानी यथावत् रहन्छ, यसमा कुनै दैविक शक्ति छ जस्तो लाग्छ।’ उनका अनुसार यस्ता ऐतिहासिक सम्पदाको संरक्षण आवश्यक रहेको बताए।

पोखरीको मध्यभागमा अवस्थित पञ्चकन्या मन्दिर यस क्षेत्रको अर्को धार्मिक आकर्षण हो। मन्दिरमा नियमित पूजाआजा हुने गरेको छ भने बालाचर्तुदशी, शिवरात्री र रामनवमीजस्ता पर्वमा टाढाटाढाबाट भक्तजनको ठूलो भीड लाग्ने स्थानीय हर्क फुँयल बताउँछन्।

पर्यटकको चहलपहल बढेसँगै च्यांग्रेबजार क्षेत्रमा होटेल, लज र पसल व्यवसाय पनि फस्टाउन थालेका छन्। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाएको छ। स्थानीयबासी पोखरीलाई योजनाबद्ध रूपमा विकास गरेर दीर्घकालीन पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिन्छन्। स्थानीय यामबहादुर कार्कीले भने, ‘च्यांग्रे पोखरीको परिसरलाई जसरी सजाइएको छ, यहाँको पर्यटन एकदमै फस्टउँदो छ, जसकारण यस क्षेत्रको आर्थिक आयामहरू खुलेका छन्।’

गाउँपालिकाका अनुसार पोखरीको संरक्षण र प्रवर्धनका लागि डीपीआरसहितको थप भौतिक पूर्वाधार निर्माण अघि बढाइएको छ। पोखरीको पर्खाल निर्माण, घेराबारा, ढल तथा कुलो व्यवस्थापन, पानी शुद्धीकरण, साथै पञ्चकन्या मन्दिरको संरचना विस्तार गर्ने योजना कार्यान्वयनको चरणमा छ। गाउँपालिकाकी उपप्रमुख ज्योत्सना राई भन्छिन्, ‘च्यांग्रे पोखरीको लोकप्रियता बढेसँगै स्थानीयको आयआर्जनका नयाँ विकल्प खुल्ने विश्वास लिएका छौं।’

पोखरीलाई थप आकर्षक बनाएर बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। ‘गाउँपालिकाकै मुटुमा रहेको च्यांग्रे पोखरीलाई व्यवस्थित गरेर पर्यटनमार्फत आयस्रोत वृद्धि गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय पहिचान बोकेको च्यांग्रे पोखरी आज केवल एउटा पोखरी मात्र होइन, पूर्वी भोजपुरको सम्भावनाले भरिएको पर्यटकीय गन्तव्य बन्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.