स्वतन्त्रका नाममा डमी उम्मेदवार
निर्वाचन केवल मत खसाल्ने प्रक्रिया र जित, हारमात्र होइन।निर्वाचन भनेको स्वच्छ, स्वस्थ र मर्यादित हुनुपर्छ।निर्वाचन प्रक्रियामा कुनै पनि खालका शंका वा धाँधलीको बिउ रोपिनुहुन्न।
निर्वाचन जित्न जुनसुकै हतकन्डा अपनाउनु लोकतान्त्रिक चरित्र होइन। निर्वाचन जसै जित्नुपर्छ भन्नेहरूले गर्ने एउटा हतकन्डामध्ये हो नक्कली अर्थात् डमी उम्मेदवार खडा। स्वतन्त्रका नाममा उम्मेदवार उठाउने तर आफ्नै लागि प्रयोग गर्ने प्रवृत्ति छ। जो यसपालिको चुनावमा विभिन्न जिल्लामा देखिएको छ।भक्तपुरका डमी उम्मेदवारबारे विवाद सार्वजनिक भएको छ। यो प्रवृत्ति लोकतान्त्रिक अभ्यासमाथिको भद्दा मजाक हो।
निर्वाचन आयोगले चुनाव प्रचार गर्न एकजना उम्मेदवारलाई सीमित दायरा तोकेको हुन्छ। सीमित साधन प्रयोग गर्न पाइने व्यवस्था गरेको हुन्छ र निश्चित रुपैयाँमात्रै खर्च गर्ने प्रबन्ध गरेको हुन्छ। मतदान केन्द्रमा एकजना उम्मेदवारको एकजना प्रतिनिधि राख्न पाइन्छ। यही सुविधा हडप्न दलहरूले आफ्नाहरूलाई नै स्वतन्त्रको बर्को ओढाएका छन्। डमी उम्मेदवार उठाउँदा तिनले सुविधा प्रयोग गर्छन्, तर जसले उठाएको हो, उसैका लागि ।उम्मेदवार बनेका छन्, आफूलाई भोट मागेका छैनन्, तर सुविधा प्रयोग गरेका छन् भने बुझिन्छ कि ती डमी उम्मेदवार हुन्।
यो मामलामा भक्तपुरमा निष्ठावान् भनिएको नेपाल मजदुर किसान पार्टी पनि अगाडि नै देखिन्छ र नयाँ हौं भनेकाहरूमा पनि यस्तै प्रवृत्ति छ। संसदीय निर्वाचनमा चुर्लम्म डुबेका पुराना पार्टीमा नहुने कुरै भएन। भक्तपुरमा कांग्रेस, एमाले, रास्वपा र नेमकिपा सबैले आफ्ना कार्यकर्तालाई स्वतन्त्रको नाममा उठाउनु संयोगमात्रै मान्न सकिन्न।
यो नियोजित हतकन्डा नै हो। निर्वाचनलाई विचारको प्रतिस्पर्धा, एजेन्डाको प्रतिस्पर्धा बनाउनु साटो अस्वस्थ तवरले जित्नु खोज्नु लोकतान्त्रिक अभ्यास पटक्कै मान्न सकिन्न। यो त आफैंमा लोकतन्त्रको धज्जी हो।निर्वाचन प्रणालीका छिद्रहरूलाई दुरुपयोग गर्नु आफैंमा अनैतिक कृत्य पनि हो।
निर्वाचन जित्नै साम, दाम, दण्ड र भेदको प्रयोग गर्नु कुनै पनि अर्थमा जायज मान्न सकिन्न।साध्यलाई साधनले जायज ठहर्याउन सक्दैन। असल उद्देश्यका लागि असलै साधन प्रयोग गर्नुपर्छ भन्ने नैतिक मान्यता हुन्छ भन्ने दलहरूले बिर्सिएका छन्। नयाँ दाबी गर्नेहरूले पनि उही प्रवृत्ति दोहोर्याउँदा पुस्ता फेरिए पनि प्रवृत्ति नफेरिएको पुष्टि हुन्छ। अन्ततः यी सबै लोकतन्त्रका लागि हानिकारक हुन्छन्।
डमी उम्मेदवार खडा गर्नु केवल चुनावी रणनीति होइन। यो मतदाताप्रतिको घोर अपमान हो। आज चुनाव जित्न डमी उम्मेदवार उठाउनेले भोलि सत्ता टिकाउन ‘डमी सम्झौता’ नगर्लान् भन्न सकिन्न। यसले राजनीतिक संस्कारलाई दूषित बनाउँछ।सुधारको साँचो मतदाताको हातमा छ।
मतदाताले अब चिह्नमात्र होइन, चरित्र हेर्नुपर्छ। डमी उम्मेदवार खडा गर्ने दल र नेता तथा उम्मेदवारलाई पहिचान गरेर मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्छ। स्वतन्त्रका नाममा डमी उम्मेदवार राख्ने र तिनैलाई संलग्न गराएर निर्वाचनमा धाँधली र बेथिति ल्याउने कामलाई आयोगले समेत निगरानी राखेर आवश्यक ध्यानाकर्षण गराउन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !