प्रतिनिधि सभा निर्वाचन-२०८२
रामेछाप निर्वाचन : विरासत फर्काउने तयारीमा एमाले, ठूला दललाई रोक्न संघर्ष गर्दै रास्वपा
काठमाडौंबाट नजिकैको जिल्ला भएपनि गत भदौ २३ र २४ गतेको आन्दोलनको प्रभाव कम परेको जिल्ला हो रामेछाप।
काठमाडौं : ‘तीन लालको जिल्ला’ नामले परिचित रामेछापमा पछिल्लो समय निर्वाचनमा ‘गठबन्धन संस्कृति’बाट उम्मेदवार विजयी हुँदै आएका छन्। राजधानीबाट नजिक रहेर पनि रामेछाप विकासमा पछाडि परेको जिल्ला हो।
१९ दिनपछि हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रामेछाप देशभर सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्र हो। निर्वाचन आयोगका अनुसार रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा अहिले मतदाता थपिएका छन्। ३ जना स्वतन्त्र उम्मेदवार समेत गरी जिल्लामा १७ जनाले उम्मेदवारी दिएका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा संविधान निर्माणपश्चात कहिले एमाले-माओवादी (हाल नेकपा) र कहिले माओवादी - कांग्रेस गठबन्धनका उम्मेदवारले निर्वाचन जितिरहेका छन्। तर यस पटक भने दल एक्ला-एक्लै निर्वाचनमा होमिएकाले रामेछापमा मुख्य त नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच झिनो मतान्तरले जित-हारको सम्भावना रहेको विश्लेषण हुन थालेको छ। यद्यपी, शहरबाट गाउँ गएर मतदान गर्ने मतदाताको वेग हेर्दा रास्वपालाई पनि कम आँकलन गर्न सक्ने अवस्था छैन।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट माधवप्रसाद ढुंगेल, नेपाली काँग्रेसबाट रामचन्द्र खडका, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णहरी बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङ, नेपाल मजदुर किसान पार्टी केशरी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अर्जुन बहादुर थापा मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बीरेन्द्र श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ, नेशनल रिपब्लिक नेपालबाट यम बहादुर मोक्तान, श्रम संस्कृति पार्टीबाट ढाल बहादुर खपाङ्गी मगर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट यमुन बहादुर बस्नेत, उज्यालो नेपाल पार्टीबाट दिप बहादुर योञ्जन, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट पदम बहादुर तामाङ र स्वतन्त्र उम्मेदवार अरुण कार्की, बाबुकाजी खड्का, सन्तोष घिमिरे उम्मेदवार बनेका छन्। ९६ मतदानस्थल रहेको रामेछापमा २२७ मतदान केन्द्र रहेका छन्।
यस अगाडि कसले, कसरी जितेका छन् ?
संविधान निर्माण अगाडि रामेछापमा २ वटा निर्वाचन क्षेत्र रहेका थिए। २०४८ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेस र क्षेत्र नम्बर २ मा संयुक्त जनमोर्चा विजयी भएको थियो। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका देवशंकर पौडेल र क्षेत्र नम्बर २ मा कांग्रेसका पद्मशंकर अधिकारी विजयी भए।
वि.सं.२०५६ मा भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेबाटै कमलप्रकाश सुनुवार र क्षेत्र नम्बर २ बाट कांग्रेसका रामहरि ढुंगेल विजयी भएका थिए। सशस्त्र द्वन्द्वका कारण लामो समय नेपालमा निर्वाचन हुन सकेन। सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याएपछि र दोस्रो जनआन्दोलन २०६२/६३ पश्चात २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने नेकपा माओवादीले दुवै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्यो। उक्त निर्वाचनमा नेकपा माओवादीले क्षेत्र नम्बर १ मा तारानारायण श्रेष्ठ र क्षेत्र नम्बर २ मा डिल्लीमान तामाङलाई जिताउन सफल बन्यो।
पहिलो संविधान सभा विघटन भएपछि पुन: २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने क्षेत्र नम्बर १ मा कांग्रेसका आङटावा शेर्पा र क्षेत्र नम्बर २ मा एकीकृत माओवादीबाट श्यामकुमार श्रेष्ठलाई विजयी भए। उक्त निर्वाचनमा १ मा माओवादी दोस्रो र २ मा एमाले दोस्रो बनेको थियो।
संविधान जारी भएपछि पालैपालो गठबन्धन
संविधान सभामार्फत संविधान जारी भएपछि भने रामेछापलाई प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र कायम गरियो। २०७४ को निर्वाचनमा भने कांग्रेसका विरुद्ध नेकपा एमाले र माओवादीका संयुक्त उम्मेदवार बनेर ४२ हजार ११७ मत ल्याउँदै श्यामकुमार श्रेष्ठ विजयी भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले ३५ हजार ७७१ मत मात्र प्राप्त गरे। प्रदेशमा भने वाम गठबन्धनबाट एमालेका शान्तिप्रसाद पौडेल र कैलाश ढुंगेल निर्वाचित बनेका थिए।
एक्ला-एक्लै निर्वाचनमा होमिएकाले रामेछापमा मुख्य त नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच झिनो मतान्तरले जित-हारको सम्भावना रहेको विश्लेषण हुन थालेको छ।
यसैगरी वि.सं. २०७९ सालमा भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले भारी मतले विजय हासिल गरे। गठबन्धनबाट तामाङले ४७ हजार ९९ मत ल्याउँदा एमाले फुटेपनि कैलाश प्रसाद ढुंगेलले ३० हजार ७३० मत प्राप्त गरेका थिए। दुवै निर्वाचनमा समानुपातिकतर्फको मत हेर्दा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो बनेको थियो।
विरासत फर्काउने तयारीमा एमाले, ठूला दललाई रोक्न संघर्ष गर्दै रास्वपा
काठमाडौंबाट नजिकैको जिल्ला भएपनि गत भदौ २३ र २४ गतेको आन्दोलनको प्रभाव कम परेको जिल्ला हो रामेछाप। जिल्लामा केही युवाले सामान्य र्याली निकालेपनि अन्य जिल्लामा झैं तोडफोड र आगजनी हुनबाट जोगिएको थियो। रामेछाप जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्।
पछिल्ला वर्षहरूमा समानुपातिकतर्फको मत हेर्दा एमाले पहिलो छ। एमालेलाई पछ्याउँदै कांग्रेस र नेकपा (माओवादी+एकीकृत समाजवादी) रहेका छन्। निर्वाचन आयोगका अनुसार २०७४ र २०७९ सालको निर्वाचनको मत परिणाम हेर्दा मुख्य तीन दलबीच ३-४ हजारको मात्र मतान्तर रहेको छ। गत दुई निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन गरेका दलहरू यस पटक भने एक्ला-एक्लै निर्वाचनमा होमिएकाले मतदातालाई उम्मेदवार छान्न थप सहज छ।
२०७४ सालमा समानुपातिक निर्वाचनतर्फ एमालेको २६ हजार ८५२, कांग्रेसको २६ हजार ६२७, माओवादीको १९ हजार ४३७ मत रहेको थियो। २०७९ सालमा समानुपातिकतर्फ एमालेले २८ हजार १५०, कांग्रेसले २४ हजार १०१, माओवादी केन्द्रले २१ हजार ५४, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६२३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ हजार ३४८ मत प्राप्त गरेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फ १ लाख ८१ हजार ३७७ मतदाता रहेको रामेछापमा ८९ हजार ४७३ मत खसेको थियो। जसमध्ये ८४ हजार ८१६ मत सदर भएको थियो।
राजनीतिमा लामो समय संघर्ष गरेका अनुभवी, पुराना- नयाँ अनुहारका नेता र पार्टीबीच यस पटक रामेछापमा रोचक प्रतिस्पर्धा हुने भएको छ।
एमाले
निर्वाचन राजनीतिक दलको शक्ति परीक्षणसमेत भएकाले एमालेले यस पटक नयाँ रणनीतिका साथ चुनावी अभियान अगाडि बढाएको छ। संगठनात्मक आधार बलियो रहेको एमालेले पार्टीमा केन्द्रीय कमिटीमा ४ पटक निर्वाचित भइसकेका अनुभवी र युवामाझ लोकप्रिय मानिएका नेता माधवप्रसाद ढुंगेललाई टिकट दिएर मैदानमा पठाएको छ। देशभर नयाँ उम्मेदवारको चर्चा भइरहेको जिल्लाबासीको माग बमोजिम नै एमालेले अनेरास्ववियूको केन्द्रीय अध्यक्ष र राष्ट्रिय युवा परिषद्मासमेत दुई कार्यकाल उपाध्यक्ष, एमालेको संगठन विभाग सचिव भएर जिम्मेवारी पूरा गरिसकेका नेता ढुंगेललाई निर्वाचनमार्फत संसदीय मोर्चामा पहिलो पटक पठाउन लागेको जनाएको छ।
उनले युवा परिषद्मा रहँदा नै युवालाई राजनीतिमा आकर्षण गर्न नमुना संसद्, युथ पार्लियामेन्ट जस्ता कार्यक्रम सञ्चालन गरेका थिए। यसैगरी विदेशबाट स्वदेश फर्किएका जनशक्तिको ज्ञान, सीप, पुँजी र प्रविधिको भरपुर उपयोग गर्न पार्टीको जनसंगठनको रुपमा रिटर्नी फेडेरेसन नेपाल’ अवधारणा सारेका थिए। विदेशमा रहेर फर्किएकालाई मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको लक्ष्यसहित पार्टीको जनसंगठनको रुपमा आबद्ध गराइ ‘रिटर्नी फेडेरेसन नेपाल’ बनाउन उनको महत्वपूर्ण योगदान छ। उनले आगामी दिनमा यसलाई संसदीय मोर्चामार्फत पनि अझ परिस्कृत गर्दै लैजाने बताए।

‘सूर्य’ चिन्ह लिएर उम्मेदवार बनेका ढुंगेलले एमालेको संगठित संरचना र विगतमा एमालेले ल्याएको समानुपातिक मतले नै आफ्नो जित्ने आधार भएको दाबी गरे। ‘एमाले रामेछापको संगठनात्मक आधार बलियो छ। जिल्लाको र रामेछाप-काठमाडौं सम्पर्क मञ्चको सदस्यता हेर्ने हो भने संगठित सदस्य नै साढे ८ हजारमाथि छ। कमिटीगत प्रणाली व्यवस्थित छ, हाम्रो आन्तरिक एकता छ। जिल्ला, पालिका, वडा हुँदै टोलसम्म कमिटीका सदस्य तथा कार्यकर्ता सक्रिय हुनुहुन्छ, उहाँहरू आफ्नो क्षेत्रमा खटिरहनुभएको छ।’ उनले भने,‘रामेछापमा एमालेले युवा र संसद्मा प्रभावकारी भूमिका खेल्न सक्ने उम्मेदवार पठाएकोमा खुसी छौं भनेर भेटघाटमा जनताले भनिरहेका छन्। म पहिलो पटक सांसदको उम्मेदवार हुँदैछु, मलाई युवादेखि अनुभवी नेतृत्वको साथ छ। जिल्लाबासीको अपेक्षा पूरा गर्न, सदनमा जनताको आवाज गुञ्जाउन र नीति निर्माण गर्न सक्षम छु, हाम्रो पार्टीको भिजन जनतामाझ स्पष्ट छ। अहिलेको समसामयिक परिवेशलाई समेत मतदातालाई बुझाइरहेको छु, वडा-वडामा पुग्दा सकारात्मक सन्देश प्राप्त गरिरहेको छु।’
उनले विगतका निर्वाचनमा एमालेको समानुपातिकतर्फको मतको प्याटन पनि अगाडि देखिएकाले मतदाता एमालेप्रति भरोसा भएको बताए। ‘जितको तेस्रो आधार भनेको रामेछापमा समानुपातिक मतको प्याटन हेर्ने हो भने समानुपातिकतर्फ ४ हजार मतले एमाले अगाडि देखिएको छ। त्यो मतमा यस पटक थप हुन्छ।’ ढुंगेलले भने,‘सबैसँग समन्वय गर्दै रामेछाप र देशलाई समृद्ध बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको छु। घरदैलोमार्फत जनताका गुनासा सुनिरहेको छु, आफ्ना भिजन, रणनीति र प्रतिबद्धता सुनाइरहेको छु, आगामी योजना निर्माण गरिरहेको छु। देश र नीति निर्माणमा एमाले आवश्यक छ भन्ने सन्देश जनताबाट पनि पाएका छौं। मेरो उम्मेदवारीले झन् पार्टीको मत बढ्ने विश्वास छ।’
उनले जब एमाले सरकारमा पुग्छ तब देशमा विकास निर्माणका कार्य रफ्तारमा अगाडि बढ्ने भएकाले पनि जनताले मत दिने बताए। ढुंगेलले एमालेको नेकपा (एमाले) को स्पष्ट दृष्टिकोण, जनताको बहुदलीय जनवादमार्फत मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास हासिल गरी राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र राष्ट्रवादी अडानलाई जनताले दह्रोसँग बुझेकाले स्वस्थ प्रतिस्पर्धासहित एमाले भारी मतले विजयी हुने बताए।
संविधान सभादेखि लगातार प्रतिनिधि सभा बाहिर रहेको एमालेले यसपटक कांग्रेस र नेकपालाई पछि पार्दै संसद्मा ‘कमब्याक’ गर्ने योजना बनाएको छ। पछिल्लो मतलाई आँकलन गरेर एमालेले एक्लाएक्लै चुनाव लड्नुको फाइदा यसपटक उठाउने प्रयास गरेको देखिन्छ।
कांग्रेस
नेपाली कांग्रेसबाट ‘रुख’ चिन्ह लिएर उम्मेदवार बनेका रामचन्द्र खड्का जिल्लाका पूर्व सभापति हुन्। ६५ वर्षीय खड्का जिल्लामा बलियो र अनुभवी उम्मेदवार भएपनि विशेष महाधिवेशनमा पार्टीमा भएको आन्तरिक द्वन्द्वका कारण आफ्नै पार्टीका मतदाताले मत के गर्ने हुन् भन्नेमा कांग्रेस चिन्तित देखिएको छ। कांग्रेसभित्र टिकट वितरणलाई लिएर केन्द्र तहमा असन्तुष्टि र गुटगत खिचातानी देखिएको छ। रामेछापमा सुरुमा विघटित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले टिकट दिएको भएपनि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन खड्काले टिकट हात पारेका थिए।जिल्लामा पनि देखिएको असन्तुष्टि र आन्तरिक गुट-उपगुटको द्वन्द्वलाई व्यवस्थापन गर्न मेहनत गर्दा खड्काको पनि बलियो सम्भावना छ।
खड्काले आफूले अरुलाई बिझाउने गरी अभिव्यक्ति नदिने गरेको बताए। ‘मैले लामो समय शिक्षण पेशा अंगाले, शिक्षक संगठनको नेतृत्व पनि गरेँ। पार्टीमा पनि लामो समय जिल्ला सभापति बने। यसका कारण मलाई हाम्रो मात्र होइन अन्य संगठनमा आवद्ध शिक्षकको पनि मलाई साथ हुन्छ भन्ने विश्वास छ। मैले लाखा र पाखाको राजनीति गरेको छैन। मैले ठूलो आश्वसन दिएर घोषणा पत्र बनाएको छैन। रामेछापको समृद्धि हासिल गर्न जिल्लामा आवश्यक पर्ने विषय र जनतालेे खोजेको मात्र समेटेको छु। मैले प्रिन्सिपलको कुरा मात्र राखेको छु।’ खड्काले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पार्टीभित्र घात अन्तर्घातको विषयमा केन्द्रबाटै मौलाएको हो तर मलाई लाग्छ रामेछापमा अब त्यस्तो हुँदैन। म पूरानो र अनुभवी नेता, अब लोभ लालचमा फस्दैन, जिल्ला नेतृत्व गरिसकेको खड्कालाई टिकट दिँदा पार्टीले जित्छ भनेर नै मलाई युवाहरूले टिकट दिएका हुन्। आगामी दिनमा निर्वाचन लड्दिनँ भनेर मैले भनि पनि सकेको छु। मलाई कुनै व्यक्तिगत स्वार्थ पूरा गर्नु छैन, म जनताकै सेवाका लागि खट्ने हो।’

उनले हिजो विपी कोइरालाको विचार एक हल गोरु, एउटा दुहुनो गाई र एउटा झुपडीमा ठिक थियो तर अब समय परिवेश अनुसार गगन-विश्वको विचार र प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता भएको देशैभरीका साथीहरूले भनिरहेकाले साथ दिएर अगाडि बढेको उल्लेख गरे।
खड्काले रामेछापमा कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने उल्लेख गरे। ‘जिल्लामा कांग्रेस, एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने हो। हामी २ हजारको मतान्तरले जित हार हुने अवस्था छ।’ उनले भने,‘नयाँ भनिएका रास्वपा र उज्यालो पार्टीको जित्ने संगठनात्मक आधार छैन। वर्तमान अवस्थामा उहाँहरुको मोबिलाइज बाहिर केही देखिएपनि जिल्लामा खास छैन, उहाँहरुलाई भूगोलको ज्ञान छैन, भूगोलमा उम्मेदवार परिचित हुनुहुन्न। मैले जिल्लामा नेतृत्व गर्दा प्रत्येक वडामा पुगेको छु, ५०० जनामध्ये कम्तीमा २०० जनाको ब्याकग्राउण्ड के छ म नजिकबाट भन्न सक्छु, दुख-सुखमा सँगै छु। एमाले, माओवादीका नेताहरुलाई पनि थाहा छ, साथीहरुले पनि पक्कै बुझ्नु भएको होला। नयाँ पार्टीका साथीहरुलाई जनताका समस्या वडातहमा पुगेर लिन सक्नुभएको छैन। नयाँ साथीलाई भावनात्मक एकता गर्ने कसरी थाहा छैन। उहाँहरू भूगोलमा आत्मीयता भएजस्तो लाग्दैन, राम्रै मत आउला तर हामीसँग प्रतिस्पर्धामा आउनुहुन्न। म निर्वाचन जित्छु।’
खड्का २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा खड्का क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दा माओवादीका श्यामकुमार श्रेष्ठसँग पराजित भएका थिए। त्यो समय क्षेत्र नम्बर १ मा कांग्रेस नै विजयी भएको थियो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाटै कांग्रेस विजयी भएकाले साख जोगाउनुपर्ने मुख्य चुनौती छ।
नेपाली कम्युनिष्ट पार्टी
नेपाली कम्युनिष्ट पार्टीका नेता दुई पटक गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर श्यामकुमार श्रेष्ठ ‘कुशल’ विजयी भएर संसदीय मोर्चाको अनुभव बटुली सकेका नेता हुन्। ‘तारा’ चुनाव चिन्ह लिएर तेस्रो पटक संसदीय यात्रामा अगाडि बढ्ने गरी उनी चुनावी मैदानमा आएका छन्। पूर्वगृहराज्यमन्त्री बनेका श्रेष्ठलाई यसपटक एकीकृत समाजवादीको पनि साथ छ।
श्रेष्ठले पार्टीले चुनाव जित्ने पहिलो आधार राजनीतिक एजेण्डा भएको दाबी गरे। उनले संविधान निर्माणका अपूरा कार्यलाई आफूले जितेर गएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘गत भदौमा भएको जेन्जी विद्रोहमा उठेका एजेण्डा, जनताद्वारा निर्वाचित कार्यकारीको एजेण्डा त्यो हाम्रै एजेण्डा हो। संविधान जारी गर्ने बेला लिपिबद्ध गरौं भनेकै हो, अरु दल नमान्दा पारित हुन सकेन। त्यो मागको सम्बोधन नेकपाले मात्र गर्न सक्छ। अर्को भ्रष्टाचार र कुसुशासनबाट जनता आजित छौं । त्यसैले सुशासन कायम गर्ने सवालमा हाम्रो पार्टी सरकारमा पुगेको समयमा कामले नै त्यो देखाइसकेको छ।
निर्वाचनमा जनताले अवश्य मूल्याङ्कन गर्नेछन् भन्ने मेरो विश्वास छ।’ उनले अन्नपूर्ण पोस्ट्सँग भने ,‘मलाई ७० मा संविधान निर्माणका लागि जनताले जिताएर पठाएका थिए। मैले त्यो जिम्मेवारी पूरा गरेर फर्किएँ। केही विषयमा पार्टीले नोट अफ डिसेन्ट राखेकै हो। अब ति विषय सम्बोधन गर्न पनि मैले र हाम्रो पार्टीले जित्नु आवश्यक छ। पार्टीले बहुमत ल्याउँदा प्रत्यक्ष कार्यकारीको माग पूरा हुन्छ।’

उनले तेस्रो आधार संगठन भएको बताए। उनले एकताबद्ध संरचना वडा वडामा रहेकाले जनतालाई आफ्ना कुरा बुझाउन सहज भएको बताए। दोस्रो पटक निर्वाचित हुँदा रामेछापको भौतिक विकासको खाँका कोरेँ। धुले सडक भएपनि पुगेको छ। निर्माणाधीन सडकलाई कालोपत्रे पूरा गर्ने दायित्व अब मेरो छ। रामेछापमा पहिले भन्दै धेरै विकास निर्माणका काम अगाडि बढेको छ। ठूलो हाइड्रोपावरको डिपीआर तयार भएपनि अगाडि बढ्न सकेको छैन, त्यो अगाडि बढाउन र बीचमा रोकिएका कार्यलाई पनि आफूले अगाडि बढाउन मलाई जनताले जिताउनुपर्छ, जिताउनुहुन्छ। सडक, बिजुलीमा काम गरेँ तर जनताका माग र अपेक्षा र माग सबै ठाउँमा पूरा हुन सकेको छैन, जनताका केही गुनासा छन्, त्यसमा म आत्मआलोचना पनि गर्छु तर सोचेजति काम नभएपनि अरुले भन्दा मैले जित्दा रामेछापलाई फाइदा हुन्छ।’
माओवादीले भूमिगतरुपमा जनयुद्ध लडेर गणतन्त्रको पक्षमा लडेका कारण नै अहिले रास्वपालगायतका दलहरू प्रतिस्पर्धामा आउन पाएको बुझ्नु आवश्यक रहेको उनको भनाई छ। उनले २ नम्बर क्षेत्रका केही व्यक्ति उज्यालोमा गएको भनेर बाहिर प्रचार गरिएजस्तो भूगोलमा नरहेको बताए। उनले भने,‘भर्खर खुलेका उज्यालो लगायतका दलको स्पष्ट भिजन र एजेण्डा छैन। नेकपाको दृष्टिकोण जनताले बुझेका छन्, मलाई रामेछापका भूगोलका जनताले चिनेका छन्, गरेको काम देखेका छन्, प्रतिस्पर्धामा उत्रिने दलको संवैधानिक अधिकार हो तर निर्वाचन जित्न सक्दैनन्।’
नेकपाले जेन्जी विद्रोहले उठाएको एजेण्डा आफ्नै भएको उल्लेख गर्दै पुन: प्रतिनिधि सभामा उपस्थित गराउने तयारी गरेको छ।
रास्वपा
अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार समीक्षा श्रेष्ठले १ हजार ४५७ मात्र मत प्राप्त गरेकी थिइन्। ८९ हजार ४७३ मत खस्दा रास्वपाले समानुपातिकतर्फ ४ हजार ६२३ मत मात्र प्राप्त गर्दै चौथो दल बनेको थियो। नयाँको नारा दिइरहेको रास्वपाले पछिल्लो समय भने संगठन विस्तार गर्दै लगेको छ। यद्यपी हालसम्म सबै वडामा वडा समिति विस्तार हुन सकेको छैन्, कतिपय वडामा तदर्थ समिति मात्र गठन भएका छन्।
देशभर जनमत बढिरहेकाले रामेछाप पनि त्यसको प्रभाव पर्ने रास्वपाको दाबी छ। ‘घण्टी’ चुनाव चिन्ह लिए उम्मेदवार बनेका कृष्णहरी बुढाथोकीले देशभर रास्वपाको जनलहर रहेकाले रामेछापमा आफू विजयी हुने दाबी गरे। उनले अन्नपूर्णसँग भने,‘रास्वपाको जनलहर बढेको छ। जनजनमा मनमनमा घण्टी भन्ने अभियान चलेको छ। रामेछापमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले हो। हामी प्रत्यक्षमा ४० प्रतिशत र समानुपातिकमा ६० प्रतिशत मत प्राप्त गर्ने छौं। हामीलाई अभियानको क्रममा प्रत्यक्ष अर्को उम्मेदवारलाई दिएपनि समानुपातिक तपाईंहरुलाई दिन्छौं भन्नुभएको छ।’
अब अवस्था परिवर्तन गर्न भावनात्मक होइन, तथ्यमा आधारित नीति आवश्यक रहेको उनको भनाई छ। ‘लामो समयदेखि रामेछापसहित समग्र देशको सुशासन, प्रभावकारी जनसेवा र समतामूलक समृद्धिका लागि निरन्तर खोज, अध्ययन, अनुसन्धान र व्यवहारिक रुपमा मानवीय सेवा र सामाजिक भूमिका एवम् समृद्ध रामेछापको अभियानमा संलग्न रहँदै आएको छु। वित्तीय क्षेत्रको करिब दुई दशकको अनुभव, अर्थशास्त्र र विकाससम्बन्धी गहिरो अध्ययन तथा नीति–विश्लेषणबाट प्राप्त ज्ञानलाई अब प्रत्यक्ष नीति निर्माण र कार्यान्वयनमार्फत जनताको सेवामा रूपान्तरण गर्ने दृढ संकल्पका साथ म चुनावी मैदानमा उत्रिएको छु।’ उनले भने, ‘कृषि, पर्यटन, जलस्रोत, सीपयुक्त जनशक्ति र सांस्कृतिक सम्पदाको हिसाबले सम्पन्न हुँदाहुँदै पनि आजसम्म संरचनागत विकास, रोजगारी र गुणस्तरीय जनसेवाबाट पछि परेको वास्तविकता हामी सबैले भोगिरहेका छौँ। अब यो अवस्था परिवर्तन गर्न भावनात्मक होइन, तथ्यमा आधारित नीति आवश्यक हुन्छ। नारा होइन नतिजामुखी नेतृत्व आवश्यक छ।’
उनले सुसंस्कृत राजनीति, नैतिकवान र उत्तरदायी नेतृत्व, जनमुखी नीति तथा समृद्ध रामेछाप निर्माणका मतदातासँग मत मागिरहेको बताए। उनले पूर्वाधार र पहुँच अभिवृद्धि गर्न, सडक, विद्युत्, सिँचाइ, डिजिटल सेवा र स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तारमा पहलकदमी लिने, ढिलासुस्ती, भ्रष्टाचार र पहुँचको राजनीतिविरुद्ध स्पष्ट नीति, पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा आफ्नो पहलकदमी हुने बताए।
देशभर कांग्रेस, एमाले र नेकपाका बीचमा कार्यकर्तामा देखिएको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न रास्वपा र उज्यालो नेपाल पार्टी लागि परिरहेको छ। रास्वपाकै नेता भन्छन्,‘रामेछापमा ठूला दलकै दबदबा रहेको अवस्था छ। तर, एमाले र हाम्रो नयाँ युवा उम्मेदवार हुन्, माओवादी र कांग्रेसले पुरानै उम्मेदवार उठाएकाले पनि हामी प्रति मतदाता आकर्षित छन्। ३ दलले आलोपालो गठबन्धन गरेर जितिरहेको अवस्थामा प्रत्यक्षतर्फ हाम्रो केही कम मत आउनसक्छ। पहिलेभन्दा हाम्रो माहोल बढिरहेको छ जसले गर्दा पहिलो हुन सकिएन भनेपनि हामी दोस्रो हुन्छौं। तर समानुपातिकतर्फ भने हामी जिल्लामा पहिलो हुने गरी लागि परेका छौं। नाम त नभनौं तर धेरै मतदाताले भेटमा र टेलिफोनमा प्रत्यक्षमा दिन आनाकानी गरेपनि समानुपातिकमा एक मत दिने बताउनुहुन्छ।’
यता रामेछापमा रास्वपा मात्र नभई उज्यालो नेपाल पार्टीले पनि पुराना दललाई टक्कर दिने नेताहरु बताउँछन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङकै जिल्ला भएकाले पनि कार्यकर्ता उनको पार्टीमा आकर्षण बढिरहेको छ। माओवादी केन्द्रका उर्जा विभाग सदस्य रहेका घिसिङले नयाँ पार्टी खोलेपछि माओवादीका धेरै कार्यकर्तालाई पार्टीभित्र भित्र्याइरहेका छन्। योञ्जनले उम्मेदवारी दिएकाले सुनापति, दोरम्बा, खाँडादेवी गाउँपालिका मतदाताको मत पाउने पार्टीको अपेक्षा छ। जसले गर्दा माओवादीको केही मत घट्ने छ।
राजनीतिमा लामो समय संघर्ष गरेका अनुभवी, पुराना र नयाँ अनुहारका नेता र पार्टीबीच रोचक प्रतिस्पर्धालाई मतदाताले नजिकबाट नियालिरहेका छन्। प्रदेश र केन्द्रमा पार्टीले गठबन्धन गरेर मत हाल्न नपाएका रामेछापका नेता-कार्यकर्ता यस पटक खुसी देखिन्छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जनताले कसलाई रोज्छन् ? मतपेटिकामा खसालेको मतगणनाले निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस !