लोकतन्त्रमा अल्गोरिदम : अदृश्य आदेश

लोकतन्त्रमा अल्गोरिदम : अदृश्य आदेश
सुन्नुहोस्

सामाजिक सञ्जालका अल्गोरिदमले प्रयोगकर्ताका रुचि, भय र बानी अध्ययन गरी सूक्ष्म सन्देश देखाउन थाले।

डिजिटल युगले लोकतन्त्रको आधारलाई नै नयाँ किसिमले चुनौती दिएको छ। लोकतन्त्र नागरिकको स्वतन्त्र र सचेत छनोटमा टेकेर उभिएको व्यवस्था हो— सूचना बुझ्ने, तुलना गर्ने, बहस गर्ने र नतिजासम्म पुग्ने प्रक्रियामा। तर अहिले निर्णयहरू प्राय:  प्रत्यक्ष आदेश वा घोषित नीतिबाट होइन, अवचेतनमा रोपिएका सूक्ष्म संकेत—रंग, शब्द, शीर्षक, ध्वनि, दृश्य संरचना र पुनरावृत्त कथाबाट निर्देशित हुन थालेका छन्। यसलाई नै ‘सब्लिमिनल मेसेजिङ’ भनिन्छ। यो कुनै षड्यन्त्रको कथाभन्दा बढी, आधुनिक सत्ता–अभ्यासको परिष्कृत रूप हो। आज सत्ता बन्दुक र कानुनद्वारा मात्र सञ्चालन हुँदैन; भाषा, दृश्य, प्रस्तुति र अल्गोरिदमद्वारा पनि चल्छ। आदेश दिइँदैन— धारणा मोडिन्छ।

डरको उद्योग :  राजनीतिक सन्देशहरूमा सब्लिमिनल प्रभाव सबैभन्दा तीव्र देखिन्छ। देश संकटमा छ, अब बलियो नेतृत्व चाहिन्छ, अब बर्बाद हुने भो, खत्तम भो, यी आए भने राष्ट्र अस्थिर हुन्छ— यस्ता वाक्यहरू नीतिगत प्रतिबद्धताभन्दा बढी भावनात्मक उद्दीपन हुन्। उद्देश्य समाधान होइन, डर जगाउनु हो। डरले आलोचनात्मक सोच कमजोर पार्छ; डराएको नागरिक कार्यक्रमभन्दा अनुहार, वैकल्पिक उपायभन्दा शक्ति रोज्छ।

त्यसैले चुनाव नजिकिँदै जाँदा अपराध, सीमा, आप्रवासन, राष्ट्रघात, धर्मजस्ता विषय हठात् बहसको केन्द्रमा आइपुग्छन्। तथ्यहरू पहिले पनि थिए, तर अहिले फ्रेमिङ—शब्द चयन, शीर्षकको गति, ग्राफिकको रंग, ओभरले, संगीत र क्लिपको कट—मार्फत त्यही तथ्यलाई भयको कथामा रूपान्तरण गरिन्छ। एकै सन्देशको निरन्तर पुनरावृत्तिले अवचेतनमा ‘सत्यको अनुभूति’ पैदा गर्छ। न त नयाँ तथ्य थपिन्छ, न त पुरानो तथ्य हट्छ; तर अर्थको दिशानिर्देशन बदलिन्छ।

समाचार– सूचनामात्र होइन, धारणा निर्माण:  हामीमध्ये धेरैले समाचारलाई निष्पक्ष ‘तथ्य’ मान्ने बानी बनाएका छौं। तर आधुनिक मिडियामा समाचार केवल सूचना होइन, धारणा–निर्माणको माध्यम पनि बनिरहेको छ। एउटै घटनालाई ‘प्रहरीद्वारा गोली प्रहार’ र ‘स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो’ भनेर प्रस्तुत गर्दा अर्थको राजनीतिकता परिवर्तन हुन्छ।

दोस्रो वाक्यले हिंसालाई ‘अपरिहार्य’ र ‘व्यावसायिक’ बनाउँछ। यही हो फ्रेमिङ प्रभाव— के लेखियो भन्दा पनि कसरी लेखियो भन्ने निर्णायक बन्नु। शीर्षक–आधारित उपभोग, छोटो भिडियो र ‘हुक’को आक्रामक प्रयोगले सन्दर्भ काट्छ– सन्दर्भविहीन सत्य झन् खतरनाक बन्छ। पत्रकारिता अञ्जानमै, कहिलेकाहीँ जानाजान—सत्ता अभिव्यक्तिको औजारमा बदलिन सक्छ। सम्पादकीय विवेकभन्दा ट्रेन्ड–ग्राफ र एन्गेज्मेन्ट–कर्वले निर्णय गर्नेबित्तिकै समाचार ‘सेवा’भन्दा ‘उत्पादन’मा झर्छ।

इतिहासको ऐना– प्रचार, पुनरावृत्ति र शत्रु–निर्माण : सब्लिमिनल सन्देशको अवधारणा करिब एक शताब्दीअघिको मनोविज्ञानसँग सुरु हुन्छ। सन् १८९०–१९०० को दशकमा विलियम जेम्स र सिग्मन्ड फ्रायडले मानिसको धेरै निर्णय चेतनले होइन, अवचेतनले निर्देशित गर्छ भन्ने सिद्धान्त प्रस्तुत गरे। यही आधारपछि ‘चेतनलाई बाइपास गर्दै मनमा प्रभाव पार्ने संकेत’ सम्भव छ भन्ने धारणा बलियो बन्यो। सन् १९३०–५० को समयमा फिल्म–उद्योगले दृश्य–मनोविज्ञानलाई प्रयोग गर्न थाले। सोभियत निर्देशक सेर्गेई आइजनस्टाइनले ‘मोन्टाज’ प्रयोगमार्फत छविहरूको क्रमले अवचेतनमा भावनात्मक प्रभाव पार्न सक्छ भन्ने प्रमाणित गरे। हलिउडमा पनि कट, रंग, ध्वनि र प्रकाशको संयोजनले दर्शकको मनस्थितिमा सूक्ष्म परिवर्तन ल्याउने रणनीति बसालियो।

सब्लिमिनल इतिहासमा सबैभन्दा चर्चित मोड सन् १९५७ मा आयो। बजार–अनुसन्धानी जेम्स भिकारीले सिनेमा हलमा ‘ड्रिंक कोकोकोला’ र ‘इट पपकर्न’ भन्ने शब्द फ्ल्यास गर्दा बिक्री बढेको दाबी गरे। पछि यो दाबी असत्य ठहरिए पनि यसले विश्वभर सब्लिमिनल सन्देशप्रति गहिरो भय र चासो पैदा गर्‍यो। यही घटनापछि सरकार, विज्ञापन उद्योग र वैज्ञानिक समुदायले अवचेतन सन्देशका सम्भावित प्रभावबारे व्यापक बहस सुरु गरे। शीतयुद्ध (सन् १९५०–७०) को समयमा अमेरिका र सोभियत संघले प्रचारप्रसार, फिल्म, रेडियो र सांस्कृतिक सामग्रीमार्फत मनोवैज्ञानिक युद्धको रूपमा सूक्ष्म सन्देश प्रयोग गर्न थाले। राष्ट्रवाद, डर र शत्रु–निर्माणका कथाले जनमानसमा गहिरो असर पारे।

सन् १९७०–९० मा विज्ञापन उद्योगले सब्लिमिनल संकेतलाई नियन्त्रित रूपमा प्रयोग गर्न थाल्यो, रंग–मनोविज्ञान, छविभित्र लुकेका आकृति, न्यून ध्वनि संकेत र व्यवहार–आधारित आकर्षणमार्फत उपभोगप्रेरणा निर्माण गरियो। इन्टरनेटपछि (सन् १९९०–२०१०) सब्लिमिनल संकेत डिजिटल माइक्रो–टार्गेटिङ मा प्रवेश गर्‍यो। सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्ताका रुचि, भय र बानी अध्ययन गरी सूक्ष्म सन्देश देखाउन थाले।

शक्तिशाली रूप अल्गोरिदमिक सूचना–नियन्त्रण :  आज सब्लिमिनल प्रभावको सबैभन्दा शक्तिशाली रूप अल्गोरिदमिक सूचना–नियन्त्रण हो— थम्बनेल, छोटा क्लिप, मेमे, पुनरावृत्ति र सिफारिस–प्रणालीमार्फत मानिसको अवचेतनमा विचार, भावनात्मक प्रतिक्रिया र राजनीतिक धारणा निर्माण हुन्छ। सब्लिमिनल सन्देशको इतिहास मूलत:  एउटै कथामा सीमित छ—सूचना होइन, अवचेतनमा प्रभाव पार्ने शक्ति कसरी विकसित हुँदै गयो।

आजको लडाइँ सूचना र असूचनाबीच मात्र होइन; चेतन र अवचेतनबीच हो। नदेखिने सन्देशले निर्देशित नागरिक लोकतन्त्रको शक्ति होइन, कमजोरी हुन्छ। त्यसैले प्रश्न गर्नु विकल्प होइन— नागरिक कर्तव्य हो। 

सब्लिमिनल हेरफेर नयाँ होइन। नाजी जर्मनीमा एडोल्फ हिटलर र जोसेफ गोएब्ल्सले प्रचार–मेसिनलाई संस्थागत गरे— रेडियो, चलचित्र, पोस्टर, भाषण र सार्वजनिक कार्यक्रमका माध्यमबाट सन्देशको पुनरावृत्ति, सरलीकरण, भावनात्मकरण र शत्रु–निर्माण। जनमतलाई ‘अनिवार्य’ दिशामा धकेल्ने यो प्रविधिले आलोचनात्मक चेत सुस्त पार्‍यो। आज माध्यम फरक छन्— स्मार्टफोन, रिल, मेमे, माइक्रो–टार्गेटिङ— तर सिद्धान्त उही छन्:  बारम्बारता, सरलीकरण, भावनात्मकरण र शत्रु–निर्माण। फरक यति मात्र हो— अहिले प्रचार केन्द्रबाट प्रसारितमात्र होइन, प्रयोगकर्ताद्वारा पुन:  उत्पादित हुन्छ, जसले त्यसलाई ‘सामाजिक प्रमाण’को आवरण दिन्छ।
विज्ञापनको मनोविज्ञान, ‘म पुगिसकेको छैन’ भन्ने कमी :  विज्ञापन उद्योगले सब्लिमिनल संकेतको सबैभन्दा व्यवस्थित प्रयोग गर्छ। कसैले तपाईंलाई सिधै ‘तिमी राम्रा छैनौं’ भन्दैन। तर उज्यालो छाला, परिमार्जित शरीर, विलासी जीवनशैली, ‘हसल’ संस्कृति, अनायास सफलताको दृश्य— यी सबै मिलेर एक सूक्ष्म सन्देश रोप्छन्:  ‘तिमी अहिलेसम्म यस्तो भएकै छैनौ।’ त्यसको समाधान के ? उपभोग। यसरी वस्तु होइन, भावना बेचिन्छ। राजनीतिक बजारमा पनि उस्तै:  नीतिभन्दा छवि, रोडम्यापभन्दा परफर्मेटिभ करिश्मा। जब निर्णय भावनात्मक राहतको खोजीमा हुन्छ, दीर्घकालीन नीति धैर्यले हार्छ।

अल्गोरिदम– नयाँ सम्पादक, अदृश्य सेन्सर :  सामाजिक सञ्जालमा सम्पादक अब अल्गोरिदम हो। तपाईंले एकपटक जुन किसिमको सामग्रीमा समय बिताउनुहुन्छ, त्यही किसिमको सामग्री फेरि–फेरि देखिन्छ। यसरी प्रतिध्वनि कक्ष बन्न थाल्छ, जहाँ फरक मत कमै देखिन्छ। सबैले यही सोचिरहेका छन् भन्ने भ्रम बढ्छ। प्लेटफर्महरूको व्यवसाय– मोडेल इंगेजमेन्ट– समय र प्रतिक्रियामाथि अडिएको हुनाले, उत्तेजक, आक्रामक, विभेदकारी सामग्री स्वाभाविक रूपमा ‘पुरस्कार’ पाउँछ। नतिजा— ध्रुवीकरण गहिरिन्छ, घृणा सामान्य बन्छ, असहमतिको ‘मानवीयता’ हराउँछ। लोकतन्त्र संवादबाट होइन, चर्को आवाजको प्रतिस्पर्धाबाट चल्न थाल्छ। अदृश्य सेन्सर कुनै मन्त्रालयमा होइन, सिफारिस–सिस्टमको ब्ल्याक–बक्समा बस्छ।

पप–संस्कृति र सामान्यीकरण :  गीत, फिल्म, वेब–सिरिज—‘मात्र मनोरञ्जन’जस्तो देखिने सामग्रीले पनि निरन्तर मान्यता–सीमा कोर्दै जान्छ। विषाक्त सम्बन्धलाई प्रेम, नियन्त्रणलाई माया, हिंसालाई साहस, प्रदर्शनलाई सफलता भनेर चित्रित गर्दा व्यवहारको सीमारेखा खुम्चिन्छ। एउटै फिल्मले समाज बदल्दैन; तर लामो समयसम्मको पुनरावृत्तिले गलत व्यवहारलाई ‘सामान्य’ बनाउँछ। नेपाली समाजमा पनि भिजुअल ग्ल्यामर, क्षणिक लोकप्रियता र प्रदर्शन–केन्द्रित सफलताको स्क्रिप्टले युवा मनमा प्रभाव पारिरहेको छ। मूल्यको बहसलाई दृश्यको शोभाले विस्थापित गर्दा सार्वजनिक निर्णयहरू पनि सतहमै अडकन थाल्छन्।

नागरिकको प्रतिरक्षा, चेतनाको राजनीति

यो चुनौती केवल कानुनले समाधान हुँदैन; चेतनाको राजनीति चाहिन्छ। व्यावहारिक उपायहरू—
पहिलो, फ्रेमिङ–साक्षरता :  के भनियो ? मात्र होइन, किन यसरी भनियो ? सोध्ने बानी। कुन शब्दले अपराधलाई अपरिहार्य र भ्रष्टाचारलाई आवश्यक सम्झौता बनाउँदै छ ? 
दोस्रो, स्रोत–विविधता :  एउटै च्यानलमा सीमित नहुनु; फरक धारका स्रोतहरू नियमित उपभोग गर्नु। आफ्नै धारणाको विरोध गर्ने सामग्रीलाई पनि सुरक्षित दूरीमा हेर्ने अभ्यास बढाउनु।
तेस्रो, तथ्य–पुष्टीकरण :  दावा देख्नासाथ बाँड्नुभन्दा अघि मिति, स्थान, मूल स्रोत, क्लिपको सन्दर्भ जाँच्नु। पुरानो सामग्रीलाई ताजा बनाएर बेचिएको त होइन ? 

चौथो, भावना–अलर्ट :  कुनै पोस्ट÷भिडियोले अत्यधिक रिस, डर वा घृणा जगायो भने— १० सेकेन्ड नियम अपनाउनु। ठूलो भावनात्मक प्रतिक्रियाको माग गर्ने सामग्री प्राय:  इन्जिनियर गरिएको हुन्छ।
पाँचौं, नीति–केन्द्रित बहस :  व्यक्तित्व–केन्द्रित दलीलभन्दा रोडम्याप, बजेट, समयरेखा, मापनयोग्य सूचकमा प्रश्न सोध्ने बानी। कति पैसाले, कति समयमा, के नतिजा ? 
— बारम्बार सोध्नु।
छैटौं, डिजिटल हाइजिन :  नोटिफिकेसन थ्रेसहोल्ड घटाउने, आउट्रेज–फार्मिङ गर्ने पेज÷च्यानल अनफलो वा म्युट गर्ने, नियमित डूम–स्क्रोलिङ डिटक्स।

संस्थागत बाटो– पारदर्शिता र उत्तरदायित्वसिस्टम पक्षमा पनि स्पष्ट सुधार आवश्यक छन्। जुन निम्नानुसार छन् : –
विज्ञापन पारदर्शिता :  राजनीतिक विज्ञापन कोष, टार्गेटिङ मानक, र चलाइएको सामग्रीको सार्वजनिक अभिलेख।

अल्गोरिदमिक उत्तरदायित्व :  सिफारिस प्रणालीको स्वतन्त्र अडिट, उच्च–जोखिम सामग्रीको अतिरिक्त पारदर्शिता र नागरिक–सूचना फिडमा ‘किन यो देखियो ? ’ भन्ने स्पष्टता।
मिडिया साक्षरता :  विद्यालयदेखि विश्वविद्यालय र कार्यस्थलसम्म क्रिटिकल थिंकिङ र डिजिटल लिटरेसीलाई अभ्यास–केन्द्रित पाठ्यक्रमका रूपमा विस्तार।

आत्म–नियमन र आचारसंहिता :  पत्रकारिता र इन्फ्लुएन्सर– अर्थतन्त्र दुवैमा सन्दर्भ–जोड, तथ्य–जाँच र सुधार–प्रोटोकलको कडाइ।
सूचना होइन, चेतनाको प्रतिस्पर्धा :  आजको लडाइँ सूचना र असूचनाबीच मात्र होइन; चेतन र अवचेतनबीच हो। नदेखिने सन्देशले निर्देशित नागरिक लोकतन्त्रको शक्ति होइन, कमजोरी हुन्छ। त्यसैले प्रश्न गर्नु विकल्प होइन— नागरिक कर्तव्य हो। डर, घृणा र उक्साहटको बजारमा शान्त, मापनयोग्य, प्रमाण–आधारित बहस नै ठूलो काउन्टर–न्यारेटिभ हो। भाषा–फ्रेमिङलाई पारदर्शिताको कसौटीमा राखौं; एल्गोरिदमलाई उत्तरदायी बनाऔं र आफ्नो निर्णयलाई व्यक्तित्वभन्दा नीतिमा, नारा–स्लोगनभन्दा नतिजामा तौलिऔं। जनताले लडेर ल्याएको लोकतन्त्रलाई सूक्ष्म सन्देश इन्जिनियरिङले कमजोर नबनाओस्। यही हो आजको चेतनाको राजनीति।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.