डीवाइसी धनकुटालाई ४७ औं हाङथुम कप फुटबलको उपाधि
सङ्खुवासभा : ४७ औं आमन्त्रित हाङथुम कप फुटबल प्रतियोगिताको उपाधि डीवाइसी धनकुटाले हात पारेको छ। शनिबार सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कको खेल मैदानमा भएको प्रतियोगितामा भारतको दूधे फुटबल क्लब दार्जिलिङलाई ४–१ गोल अन्तरले हराउँदै डीवाइसी धनकुटा विजयी भएको हो।
खेलको १७ औं मिनेटमा डीवाइसीका सन्दीप लिम्बुले पहिलो गोल गरेका थिए। धनकुटाका लागि युगन राईले २७ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दिए। दोस्रो हाफको नवौं मिनेटमा युगनले धनकुटाका लागि थप एक गोल गरे। नितेश लिम्बुले दोस्रो हाफको ३६ औं मिनेटमा धनकुटा लागि चौथो गोल गर्न सफल भए।
नयन प्रधानले दोस्रो हाफको २४ औं मिनेटमा गरेको एक गोलमा सीमित रह्यो दार्जिलिङ दुधे। सेमिफाइनलमा कोशी प्रदेश प्रहरीलाई हराउँदै डीवाइसी फाइनलमा प्रवेश गरेको थियो। त्यसैगरी म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई हराउँदै दूधे फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगिताको विजेता डीवाइसी धनकुटाले नगद २ लाख ४२ हजार रुपैयाँको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको भारतको दार्जिलिङको दूधे फुटबल क्लबले उपविजेताले १ लाख २१ हजार रुपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गरेको हो। प्रतियोगितामा कोशी प्रदेश प्रहरी विराटनगर, लिखु भुजी रामेछाप युवा क्लब रामेछाप सहित ८ टोलीको सहभागी छन्। प्रतियोगिता माघ ५ देखि १० सम्म सञ्चालन भएको हो।
प्रतिक्रिया दिनुहोस !