कसले बनाउला जलेको देश ?

सामयिक विश्लेषण

कसले बनाउला जलेको देश ?

काठमाडौं : एउटा भनाइ छ– हामी कतिपय व्यक्ति रेस्टुरेन्टमा गएर मेनु माग्छौं । सिरानदेखि पुछारसम्म गडेर हेर्छौं । र, अन्त्यमा मःम माग्छौं । 

हरेक चुनावलाई हामी यसैसँग दाँज्ने गथ्र्यौं– मतदाता दलहरूलाई वल्टाई–पल्टाई हेर्छन् । विश्लेषण गर्छन् । अन्त्यमा कांग्रेस–एमालेलाई मत दिन्छन् । 

के यसपालि चुनावी परिकारमा ‘मःम’ नै बिक्ला ? कि मतदातामा चाउमिन, थुक्पा, बर्गर, सिज्लर, पिज्जा वा दाल–भात–तरकारी वा अरू कुनै परिकार चाख्ने भोक जागेको होला ? 

आउनुस्, राजनीतिक रेस्टुरेन्टका केही परिकारमाथि विहंगम विश्लेषण गरौं । 

पुरानै मेनु, उस्तै स्वाद
दशकौंदेखि नेपाली राजनीति उही अनुहार वरिपरि घुमिरहेको छ । एउटा ढल्छ । अर्को आउँछ । मान्छे भने तिनैमध्ये पर्छ । फेरि ढल्छ । फेरि नयाँ आउँछ । तर पात्र पुरानैमध्ये हुन्छ । 

२०४६ पछि व्यवस्था फेरिए । संविधान फेरियो । शासन प्रणाली बदलियो । तर सत्ता सञ्चालन गर्ने पात्र प्रायः उही रहे । कांग्रेस, एमाले र तिनका विभाजन–पुनर्मिलनबाट जन्मिएका दलले पालैपालो सरकार चलाए । बीचमा शक्तिशाली बनेर माओवादी आयो । खिइँदै, मेनुको कुनाकाप्चामा छिर्दै गयो । अघिल्लोपालि ‘कम्फर्टेबल’ सिट ल्याएर पहिलो र दोस्रो दललाई केही समय मज्जैले रिङ्यायो । 
यी दलका फेरि–फेरि आएका सत्तामा जनजीवनमा अनुभूत हुने परिवर्तन भने सीमित रह्यो । सत्ता हस्तान्तरण त भए । शासन–संस्कार रूपान्तरण र पुस्तान्तरण भएनन् ।

चुनावका समयमा भाषणहरू फेरिन्छन् । घोषणापत्र मोटिन्छन् । ‘समृद्धि’, ‘सुशासन’, ‘रोजगारी’ र ‘भ्रष्टाचार नियन्त्रण’ अझ राम्रा अक्षरमा लेखिन्छन् । ठूला स्वरमा घन्किन्छन् । तर व्यवहारमा सरकार बनेपछि प्राथमिकतामा अरू नै जिनिस पर्छन् । मन्त्री बाँडफाँट, गठबन्धन संरक्षणको गणित र सत्ता जोगाउने चलखेल हावी हुन थाल्छ । मेलम्ची, वाइडबडी, ललिता निवास जग्गाजस्ता प्रकरणदेखि नक्कली भुटानी शरणार्थी काण्डसम्म यसका उदाहरण हुन् । जुन काण्ड भए तर किनारा लाग्न सकेनन् । 

तथ्यांकले पनि यस्तै देखाउँछ । नेपालमा बेरोजगारी दर ११–१२ प्रतिशत वरिपरि छ । तर, हरेक वर्ष करिब ५ देखि ६ लाख युवा जागिर खोज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुइँ छाड्छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकमा नेपाल अति भ्रष्टाचार हुने देशको पुछार समाउन कहिल्यै छाड्दैन । यी यावत् सूचकले शासन सुधारको दाबी र जनजीवनको वास्तविकताबीच गहिरो खाडल प्रस्तुत गर्छन् ।

यो परिवेशले जनविश्वासमा निरन्तर क्षति ल्याएको छ । पहिले–पहिले ‘कम्तीमा यिनै त छन्’ भन्ने ठानिन्थ्यो । अचेलत ‘यी पनि उस्तै रहेछन्’ भन्ने दिन आयो । यही निराशाले वैकल्पिक राजनीति, स्वतन्त्र उम्मेदवार र नयाँ शक्तितर्फ जनचासो झाँगिएको हो । पुराना दलले आत्मसमीक्षा त गरेनन्–गरेनन्, आलोचनालाई इबीका साधन बनाउन थाले । परिणामतः, राजनीतिक रेस्टुरेन्टको मेनुमा जनताका नजर पृथक् परिकार खोज्न भौतारिन थाले । 

जनमतमाथि निरन्तर कुठाराघात
चुनाव भरोसाको दिवस हो । त्यसदिन हरेक मतदाता लाइनमा उभिन्छ । मत खसाल्दा ठूलो विश्वास राख्छ । त्यसअघि घोषणापत्र पढ्छ । ध्यानपूर्वक भाषण सुन्छ । र, गतिलै परिवर्तनको अपेक्षा गर्छ । चुनावपछि ठीक उल्टो पाउँछ । त्यही जनादेशबाट सत्ताका पोसाक सिलाउनेहरू क्रमशः जनमतभन्दा टाढा पुग्छन् । सरकार बनेको केही महिना नपुग्दै गठबन्धन फेरिन्छ । नीतिभन्दा सत्ता जोगाउने प्राथमिकता छर्लङै देखिन्छ । राजनीतिक अभ्यास शनैशनै अपारदर्शी हुन्छ ।

केही परिघटना यसका प्रस्ट प्रमाण हुन् । २०७४ को जनादेश स्थायित्वका लागि थियो । तर, दुईतिहाइ नजिकको सरकार आन्तरिक कलहले ढल्यो । जोडिएर बनेको नेकपा छिन्नभिन्न भयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपल्ट संसद् विघटन गरे । अदालतले पुनस्र्थापना गरायो । २०७९ को चुनावपछि पनि मतदाताका अनपेक्षित गठबन्धनहरू बने । चुनावअघि आपसमा अस्वीकार गरिएका शक्तिहरू चुनावपछि गठजोड गर्दै सत्ताको केन्द्रमा पुगे । यसले मतको अर्थमाथि गम्भीर प्रश्न उब्जायो ।

त्यसमाथि यसबीच भ्रष्टाचारका भीमकाय काण्डहरूले राजनीतिक विश्वासमा चोट पुर्‍याए । ती प्रकरणमा सत्ता र शक्ति केन्द्रकै नाम जोडिए । तत्–तत् निकायबाट अनुसन्धान त भए । तर ठ्याक्कै निष्कर्ष विरलै आए । कारबाहीहरू चयनात्मक देखिए । सत्ता नजिकका पात्र सदा सुरक्षित रहे । यसले ‘कानुन सबैका लागि बराबर’ भन्ने विश्वासको जग हल्लायो । 

महालेखापरीक्षक र सार्वजनिक लेखा समितिका प्रतिवेदनहरूले हरेक वर्ष अर्बौँ रुपैयाँ बेरुजु औंल्याइरहेका छन् । तर तीउपर राजनीतिक जवाफदेहिता झन् घटेको पो छ, बढेको छैन । बरु तिनै पात्रका चुनावी नारामा भ्रष्टाचारविहीनता एजेन्डा बनेर उर्लिने गरेको छ । 
खासमा जनमत साधन बन्दै आयो, मार्गदर्शक हुन सकेन । मतदाताले दिएको शक्तिलाई आत्मसात् गर्नेभन्दा बरु उल्ट्याइदिने प्रवृत्ति हावी भयो । यही कारण जनविश्वास क्रमशः राजनीतिबाट टाढिँदै गयो । यसलाई केवल असन्तोष ठान्न मिल्दैन, लोकतन्त्रका लागि दीर्घकालीन चेतावनी हो भन्ने घुस्नुपर्छ । 

विकल्प जन्मिए, टिकेनन् यो भुल्नु हुँदैन– ठूला दलहरूप्रतिको निराशाबाटै वैकल्पिक शक्ति जन्मिएका हुन् । ‘नयाँ राजनीति’, ‘पुरानो शैलीको अन्त्य’ र ‘नैतिक नेतृत्व’का तिनका नाराले ऐनमौकामा धेरैलाई आकर्षित गरे । २०६२/६३ पछिका चुनावमा यस्ता दल र समूहहरूले उल्लेखनीय चर्चा पाउँदै गए पनि । सामाजिक सञ्जालमा तिनको समर्थन बढ्यो । सडकमा उत्साह छायो । तर, त्यो उमंग संगठन, नीतिगत स्पष्टता र दीर्घकालीन रणनीतिमा परिणत हुन सकेन ।

सार्वजनिक जिम्मेवारी अर्थात् संघीय संसद् र स्थानीय तहमा पुगेपछि वैकल्पिक शक्तिहरूको परीक्षा सुरु भयो । संसद्मा छाएका केही नयाँ दलले वैकल्पिक आवाज उठाउने प्रयत्न गरे । ती पनि संसदीय अभ्यासमै आन्तरिक विवाद, पदलोलुपता र शक्ति संघर्षमा रुमलिए । सरकारमा जाने कि नजाने भन्ने निर्णय वा सत्तारुढ अभ्यासमै टुटे–फुटे । स्थानीय तहमा निर्वाचित कतिपय प्रतिनिधि पनि प्रशासनिक जटिलता, अनुभव अभाव र दलभित्रकै दबाबमा कमजोर साबित भए ।

कतिपय वैकल्पिक दल संसद् छिर्नेबित्तिकै पुरानै दलसँग सहकार्य गर्न अति–आतुर देखिए । आफैंले आलोचना गरेका अभ्यासहरूसँग सम्झौता गरे । यसले तिनका समर्थकलाई निराश बनायो । ‘हामी फरक छौं’ भन्ने जिकिर व्यवहारतः पुष्टि हुन सकेन । विकल्पले विकल्पको काम गर्न सकेन, जनविश्वास पुनः खस्कियो ।

यो प्रवृत्तिले आन्तरिक लोकतन्त्र कमजोर भयो । नेतृत्व केन्द्रित निर्णय प्रक्रिया, आलोचनाप्रति असहिष्णुता र आत्मसमीक्षाको अभाव मौलाउँदै गयो । सबैमा । (पुरानाको रोग नयाँमा सर्‍यो ।) वैकल्पिक शक्तिले पुरानो राजनीति बदल्न खोज्दा, अन्ततः त्यही संस्कार काँधैमा बोकेर अघि बढे । परिणामतः, विकल्पको परिवेश जन्मिए पनि टिक्नै सकेन । तैपनि यसले कठोर पाठ दिएको छ । विकल्प केवल नारा होइन, यो संस्थागत क्षमता, दीर्घकालीन धैर्य र नैतिक स्थायित्व हो भन्ने प्रमाणित भयो । त्यसो नहुँदा नयाँ शक्ति पुरानै स्वादमा विलिन हुँदा रहेछन् । घटनाक्रमले त्यही देखायो । 

फरक परिवेश, फरक समीकरण
हो, यसपालि भने राजनीतिक परिदृश्य अघिल्ला चुनावभन्दा पृथक् देखिन थालेको छ । विगतमा वैकल्पिक शक्तिहरू आ–आफ्नै झन्डा बोकेर भिडे । मत विभाजित भयो । फाइदा पुरानै दलले लिँदै आए । २०७९ को अनुभूतिले साझा निष्कर्ष देखायो– एक्लाएक्लै लड्दा विकल्प टिक्दैन । यही चेतबाट यसपालि अलि बृहत् सहकार्य र एकगठको अभ्यास सुरु भएको छ । हेरौं, त्यो कति दिगो र प्रभावकारी हुन्छ । null

नयाँ चुनावतिर जानुअघि अघिल्लोको स्थानीय तह परिणाम नियालौं । काठमाडौं, धरान, धनगढीजस्ता सहरमा स्वतन्त्र उम्मेदवार विजयी भए । ती केवल व्यक्ति–विजय थिएनन् । तिनले पुराना दलविरुद्ध मौन सन्देश अवश्य दिए । काठमाडौं महानगरमा बालेन्द्र शाहको विजयले ‘मान्छे लोकप्रिय भए दलबिना पनि जित्न सकिन्छ’ भन्ने विश्वास जन्मायो । धरानमा हर्क साम्पाङको जितले स्थानीय मुद्दा र प्रत्यक्ष संवादको शक्ति देखायो । धनगढीका गोपाल हमालको जितसँगै ‘जनताका मान्छे जनताले रोज्छन्’ भन्ने देखायो । त्यसभन्दा बढी, यी उदाहरणले वैकल्पिक राजनीति सम्भव छ भन्ने आत्मविश्वास जगाए । 

त्यस्तै, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक दलहरूले सांकेतिक उल्लेखनीय सिट हात पारे । संख्यात्मक रूपमा सरकार बनाउने हैसियतमै नपुगे पनि, संसद्िभत्र फरक आवाज गुञ्जाउन सक्षम बने । पुराना दललाई असहज प्रश्न सोध्ने जनप्रतिनिधि रोस्ट्रममा उभिए । क्रमशः पारदर्शिता, खर्च, सुशासन र जवाफदेहिताबारे बहस बढ्यो । यसले वैकल्पिक शक्तिलाई अलग–अलग होइन, साझा एजेन्डामा सँगसँगै अघि बढ्नुपर्ने दबाब बढायो ।

वर्तमानको एकीकरण विगतको कमजोरीबाट सिक्ने प्रयास हो भने, यसमा जोखिम उत्तिकै छन् । यो एकता व्यक्ति केन्द्रित भयो भने, वा केवल चुनावी सहमतिमा सीमित रह्यो भने, अघिल्ला विकल्पजस्तै अल्पकालीन बन्न सक्छ । मतदाता यसपालि भावनाले होइन, व्यवहारले मूल्यांकन गर्ने अठोटमा छन् । वर्तमानको फरक समीकरण त्यसमा अवसर अवश्य हो । तर त्यसलाई विश्वाससहितको विजयमा बदल्ने परीक्षा अझै बाँकी छ ।

जेन–जीका नयाँ–नयाँ प्रश्न
नेपाली राजनीतिमा जेन–जी नयाँ पहिचान हो । नयाँ प्रवेश हो । यो मतदाता मात्रै होइन, नयाँ प्रश्न पनि हो । यो पुस्ताले यथार्थमा राजनीतिक इतिहासको भारी बोकेर आएको छैन । अतः यो ‘फलानाले गतिलो आन्दोलन गर्‍यो’ भन्ने कथाले मात्र सन्तुष्ट हुँदैन । उसलाई बरु जवाफ चाहिन्छ– रोजगारी कहाँ छ ? शिक्षा किन महँगो छ ? उपचार किन पहुँमा सीमित छ ? विदेश जानैपर्ने बाध्यता किन आयो ? यस्तै प्रश्नले परम्परागत राजनीतिको भाषालाई असहज बनाइरहेको छ ।

यसको प्रकटीकरण सडक र सञ्जाल दुवैतिर देखियो । भ्रष्टाचार, मूल्यवृद्धि, खराब परीक्षा प्रणाली, बेरोजगारी र कुशासनविरुद्ध उनीहरू सडकमा उत्रिए । यी आन्दोलनमा कुनै परम्परागत दलको झन्डा थिएन । नेतृत्व औपचारिक देखिएन । प्रश्न भने तीखा थिए । सामाजिक सञ्जालमा फैलिएका ती प्रश्नले पुराना दल र सरकारलाई प्रतिक्रिया दिन बाध्य बनायो ।

जेन–जीको राजनीतिक संलग्नता चुनावी नतिजामा पनि देखियो । २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारप्रतिको समर्थनमा युवा मतदाताको भूमिका निर्णायक रह्यो । यसले देखायो– जेन–जी दल होइन, व्यवहार हेर्छ । नाराभन्दा परिणाम खोज्छ । परिवर्तन चाहन्छ । समृद्धिमा आतुर छ । 

तथ्यांकले पनि यसखाले मनोविज्ञान पुष्टि गर्छ । वैदेशिक रोजगारीमा जानेमध्ये ठूलो हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये अधिकांश तिनै युवा छन् । ती सूचना छिटो पाउँछन् । तुलना गर्ने क्षमता राख्छन् । विदेशका शासन प्रणाली देख्छन् । र, आफ्नै देशसँग तुलना गर्छन् । त्यही तुलनाले प्रश्न जन्माउँछ– हामी 

किन पछि ? 
यही प्रश्न वर्तमान राजनीतिका लागि सबैभन्दा असहज छ । आगामी चुनावी परीक्षाको सम्भवतः सबैभन्दा जटिल प्रश्नै यही हो । जसको उत्तर चित्तबुझ्दो हुन्छ, उही उत्तीर्ण हुन्छ । किनभने, जेन–जी डराउँदैन । उसलाई सन्तुष्ट पार्न भाषणले पुग्दैन । जवाफै चाहिन्छ । राजनीतिले त्यसको उत्तर दिन सक्दैन भने, जेन–जी राजनीतिबाट होइन, राजनीतिले जेन–जीबाट दूरी बढाउनैपर्ने जोखिम छ । त्यो दूरी लोकतन्त्रका लागि गम्भीर चुनौती बन्न सक्छ । कसैले यसको ख्याल गरेको छ ? 

  •  २०४६ पछि व्यवस्था फेरिए। संविधान फेरियो। शासन प्रणाली बदलियो। तर सत्ताा सञ्चालन गर्ने पात्र प्रायः उही रहे।
  •     सरकार बनेपछि प्राथमिकतामा अरू नै जिनिस पर्छन्। मन्त्री बाँडफाँट, गठबन्धन संरक्षणको गणित र सत्ताा जोगाउने चलखेल हावी हुन थाल्छ। 
  •     २०७९ को अनुभूतिले साझा निष्कर्ष देखायो– एक्लाएक्लै लड्दा विकल्प टिक्दैन। यही चेतबाट यसपालि अलि बृहत् सहकार्य र एकगठको अभ्यास सुरु भएको छ। हेरौं, त्यो कति दिगो र प्रभावकारी हुन्छ। 
  •     जेन–जी डराउँदैन। उसलाई सन्तुष्ट पार्न भाषणले पुग्दैन। जवाफै चाहिन्छ। राजनीतिले त्यसको उत्तार दिन सक्दैन भने, जेन–जी राजनीतिबाट होइन, राजनीतिले जेन–जीबाट दूरी बढाउनै पर्ने जोखिम छ। 
  •     ‘बासी मःम’ फेरि प्लेटका प्लेट खपत हुन सक्छ। वा, कुनै नयाँ परिकार तिक्खर बनेर मन जित्न पनि सक्छ। आखिर राजनीतिको रेस्टुरेन्ट मतदाताको छनोटले चलायमान हुन्छ। 

सामाजिक सञ्जाल : फरक निर्णायक
नियालेर हेरौं त, हामीकहाँ राजनीतिक आन्दोलनको स्वरूप बदलिँदै गएको छ । पहिले आन्दोलन झन्डा, मञ्च अनि भाषण थियो । अहिले यो सडकमा मात्र होइन, मोबाइलको स्क्रिनमा पनि हुन्छ । एउटा भिडियो, कुनै पोस्ट वा एकथान ह्यासट्यागले बृहत् बहस निम्त्याउँछ । पासा पल्टाउन सक्छ । नेतृत्व केन्द्रित आन्दोलनभन्दा मुद्दालक्ष्यित दबाब बलियो बन्दै 
गएको छ ।
काठमाडौंमा स्वतःस्फूर्त निस्केका युवा प्रदर्शन, परीक्षा प्रणाली, मूल्यवृद्धि, भ्रष्टाचार र शासकीय असक्षमताविरुद्ध आन्दोलन कुनै दलका औपचारिक आह्वानमा थिएनन् । सडकमा उत्रिएका धेरै युवाले सामाजिक सञ्जालबाटै समन्वय गरे । 

फेसबुक लाइभ, टिकटक भिडियो र ट्वीटर पोस्टमार्फत कुरा राखे । यसको प्रभाव उत्तिकै सशक्त बन्यो । 
सामाजिक सञ्जालले सूचनाको एकाधिकार तोडिदियो । पहिले घटना छानिन्थ्यो । अहिले यसलाई लुकाउन गाह्रो छ । कतिपय सरकारी निर्णय, बजेट खर्च, सार्वजनिक अभिव्यक्ति तुरुन्तै आलोचनाका कठघरामा पर्छन् । गलत भनाइ वा विवादास्पद निर्णय केही घण्टामै राष्ट्रिय टिप्पणी बन्छन् । यसले सत्ता अभ्यासमा नवीन निगरानी थपेको छ ।

फर्केर हेरौं, चुनावी राजनीतिमा पनि यसको प्रभाव देखिन थालिसकेको छ । २०७९ को चुनावमा धेरै उम्मेदवारले प्रचार–प्रसारको मुख्य माध्यम सामाजिक सञ्जाल बनाए । प्रत्यक्ष संवाद, लाइभ अन्तर्वार्ता र व्यक्तिगत जवाफले तिनीहरूसँग मतदाता जोडिए । परम्परागत प्रचार खर्चिलो र प्रभावहीन हुँदै गएको सन्दर्भमा यो परिवर्तन कामयावीसमेत सावित भयो । यसमा युवा मतदातामा मुख्य निर्णायक बन्यो ।

यो रूपान्तरण जोखिमरहित भने छैन । सामाजिक सञ्जालमा गलत सूचना, भावनात्मक उत्तेजना र क्षणिक आक्रोश उत्तिकै चुलिएको छ । आन्दोलन क्षणिक हुन सक्छ । तैपनि यथार्थ यही हो– सडक र सञ्जाल अब अलग छैनन् । दुवै मिलेर सत्ता अभ्यासमा दबाब बढाइरहेका छन् । यसलाई बेवास्ता गरेको खण्डमा– राजनीति झन् जनताबाट टाढा पुग्न सक्नेछ । 

राष्ट्र निर्माणको अधुरो गृहकार्य
२०७२ मा संविधान जारी भएपछि नेपालले नयाँ राजनीतिक धरातल पायो । संघीय व्यवस्था, तीन तहको सरकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरियो । तर कार्यान्वयन अझै अधुरो छ । समानुपातिकलगायत कतिपय प्रावधानको व्यावहारिक दुरुपयोगले प्रश्न जन्माएको छ । संघ र प्रदेशबीच जिम्मेवारी स्पष्ट छैनन् । स्थानीय तहलाई शक्ति त दिइयो, स्रोत, क्षमता र निगरानीबाट टाढा राखियो । परिणामतः, निर्णय ढिला हुन थाल्यो । विकास योजना बीचमै अड्किए । र, जनतामा निराशा बढ्यो । यो हुँदै नहुनुपर्ने हो । 

अर्कातिर, राजनीतिक प्राथमिकतामा स्पष्टता कम छ । सत्ता टिकाउने र गठबन्धन असन्तुलित हुनबाट जोगाउने खेलले दीर्घकालीन योजना पछाडि धकेलिए । अर्थ मन्त्रालयको बजेट प्रवाह राजनीतिक हस्तक्षेपमा पर्नु, युवा रोजगारी कार्यक्रम अवरुद्ध हुनु र स्थानीय विकासको प्राथमिकता चुनावी गठबन्धनको गणितमा घुल्नु– यसका दर्बिला उदाहरण हुन् । 

राष्ट्रिय एजेन्डा खासमा निजी दल र समूहको हितसँग मेल खान गए । साझा लक्ष्यमा कमजोर रहे । यस्तो अधुरो गृहकार्यले दीर्घकालीन असर पक्कै पार्छ । नीति र नेतृत्व स्पष्ट नभएका अवस्थामा समृद्धिका महत्वाकांक्षी योजना स्थगित हुन्छन् । जनता असन्तुष्ट बन्छन् । राजनीतिक स्थायित्व कमजोर हुन जान्छ । र, निर्वाचनमा मतदाताको विकल्प खोज्ने मनोविज्ञान अझ बलियो हुन्छ ।

युवा पलायन : चेतावनी घण्टी
युवालाई राजनीतिक अस्थिरता, बेरोजगारी र भविष्यप्रतिको आलस्यताले देश बाहिर धकेलिरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रबाट पनि युवा विदेशको बाटो समाउँछन् । यो वास्तविकता राजनीतिक अर्थ–व्यवस्थासँग जोडिन्छ । भ्रष्टाचार, कुशासन र अपरिपक्व नेतृत्वले देश हाँक्न सक्दैन । रोजगार सिर्जना गर्दैन । विकास योजना अलमलिन्छन् । युवा आफ्नो भोलि सुरक्षित छैन भन्ने ठानेर विदेश जान विवश हुन्छ । यसले मतदाता मनोविज्ञानमा असर पार्छ । 

साथै, पलायनले सामाजिक–सांस्कृतिक प्रभाव निम्त्याउँछ । गाउँ–सहरमा ज्येष्ठ नागरिकको जनसंख्या बढ्छ । ग्रामीण अर्थतन्त्र सुस्त हुन 
जान्छ । यो स्थिति चेतावनीको घण्टी हो– राजनीतिले युवा समस्यालाई प्राथमिकतामा राखेन भने, तिनको भोट त मिल्दैन–मिल्दैन, देशको भविष्यसमेत संकटमा होमिन्छ ।

उसो भए, मःम कि अर्कै परिकार ? 
यो सत्य र निर्विवाद छ कि– यसपालि मतदाता मःमको स्वादमा अल्झिन लालयित छैनन् । त्यही भएर कांग्रेस, एमाले र ताल परे नेपाली कम्युनिस्ट पार्टीसमेत चुनावी गठबन्धनको गृहकार्यमा छन्, भनिन्छ । बाक्ला भेट, परिवेश र प्रवृत्ति हेर्दा त्यो हुन पनि सक्छ ।

 अनि, ‘बासी मःम’ फेरि प्लेटका प्लेट खपत हुन सक्छ । वा, कुनै नयाँ परिकार तिक्खर बनेर मन जित्न पनि सक्छ । आखिर राजनीतिको रेस्टुरेन्ट मतदाताको छनोटले चलायमान हुन्छ । तिनले जे रोज्छन्, त्यही परिकार बढ्ता बिक्छ !

भ्रष्टाचार : स्वाद बिग्रिएको एक परिकार
भ्रष्टाचार नीति र कानुनको समस्या मात्र होइन । यो राजनीतिक संस्कारभित्रै गहिरोसँग समाहित छ । जनता र सरकारको अविश्वास बढेको मुख्य कारण पनि यही हो । जेन–जी आन्दोलनको एक प्रमुख एजेन्डा भ्रष्टाचार निर्मूलीकण थियो । जसको आगोले अन्ततः शक्तिशाली ओली सरकारलाई कुर्सीबाट उठाएर पर सार्‍यो । दीर्घरोग बनेको त्यही भ्रष्टाचारले राजनीतिक रेस्टुरेन्टको मेनुमा स्वाद स्वाट्टै बिगारेको छ । यस परिप्रेक्ष्यमा मतदाताले के र कसरी ‘अर्डर’ गर्ने हुन्, समयले बताउला । 
भ्रष्टाचारको परिणाम वा प्रभाव केवल आर्थिक हुँदैन । यसले राजनीतिक मनोविज्ञानमा पनि असर गर्छ । मतदाता पुरानै दल, नयाँ विकल्प र स्वतन्त्र उम्मेदवारबीच भ्रम/अन्योलमा पर्छ । आशा र निराशाको दोधारमा झुल्छ । त्यहीबीच विदेश जानुअघि झाँक फेरेर कुन ‘अभ्रष्ट’ स्वादमा आकर्षित हुन्छ, पत्तो हुँदैन । चुनाव लड्नेलाई यसको हेक्का हुनुपर्छ । जसले हेक्का पुर्‍याउँछ, उसैलाई पत्याउने परिवेश बनेको छ । 

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.