उद्यमसँग जोडिँदै ग्रामीण महिला
भोजपुर : पौवादुङमा गाउँपालिका–३ की देउकुमारी तामाङ बिहानबेलुकै गोठतिर लाग्छिन्। केही वर्षअघिसम्म घरायसी काममै सीमित उनको दैनिकी हिजोआज फेरिएको छ। गोठका गाईहरू उनका सपना र आत्मनिर्भरताका आधार बन्न थालेका छन्। पौवादुङमा गाउँपालिकाले महिलालाई लक्षित गरेर सञ्चालन गरेको उद्यमशीलता कार्यक्रमपछि देउकुमारीको जीवनमा परिवर्तन आएको छ। गाउँपालिकाबाट गाईपालनका लागि सहयोग पाएपछि देउकुमारीले आफ्नै घरबाट व्यवसाय सुरु गरेकी छन्।
अहिले उनी मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकी छन्। ‘पहिले श्रीमान्को कमाइमै निर्भर थिएँ,’ उनी भन्छिन्, ‘अहिले आफ्नै मेहनतले आम्दानी गर्न सकेकी छु। आत्मविश्वास बढेको छ, घरखर्च चलाउन सहज भएको छ।’ गाउँपालिकाले महिलाको सीप, रुचि र क्षमताअनुसार कार्यक्रम ल्याएपछि मात्र आफूजस्ता धेरै महिला उद्यममा जोडिन थालेको उनी बताउँछिन्। गाईपालन मात्रै होइन, तरकारी खेती, बाख्रापालन, सिलाइकटाइ, साना व्यवसायजस्ता कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिएको छ।
उनका अनुसार गाउँपालिकाले सञ्चालन गरेका महिला लक्षित कार्यक्रमबाट ६ वटै वडाका काम गर्न इच्छुक ग्रामीण महिलाहरू कुनै न कुनै उद्यममा जोडिएका छन्। ‘पहिले अवसरको अभाव थियो, अहिले चाहना भएकालाई बाटो खुलेको छ,’ उनी भन्छिन्। स्थानीय तहबाट प्रदान गरिएको तालिम, अनुदान र प्राविधिक सहयोगले महिलाको जीवनशैलीमै परिवर्तन ल्याएको छ। घरभित्र सीमित महिलाहरू आज आर्थिक गतिविधिमा सक्रिय देखिन थालेका छन्। यसले केवल आम्दानी मात्र बढाएको छैन, परिवार र समाजमा महिलाको निर्णय क्षमतासमेत मजबुत बनाएको छ।
पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमुना कार्यक्रम विस्तार गरेको हो।
कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रका महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, व्यावसायिक खुर्सानी खेती, गाईपालन, बंगुरपालन, बाख्रापालन, कुखुरापालन, तरकारी तथा फलफूल खेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालन जस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सुनाइन्।
नियमित रूपमा कार्यक्रम सञ्चालन स्थल तथा सहभागी महिलाको घर–घरमा पुगेर उद्यमको अवस्था, चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवाद गर्दै आएको उनी बताउँछिन्। महिलालाई लक्षित गरेर गत आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । तीनवटा मध्ये ३९ वटा उन्नत जातका गाई वितरण गरिएको उपाध्यक्ष राईले सुनाइन्। ‘हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौं,’ उपाध्यक्ष राईले भनिन्, ‘ग्रामीण दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौं। अहिले धेरै महिला आयआर्जनमा सक्रिय हुनुहुन्छ। भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं।’
महिलाको आर्थिक अवस्था सुधारसँगै महिलाको सशक्तीकरणमा भूमिका खेल्न गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास वोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई पहिलो प्राथमकितामा राख्ने गरिएको उनी बताउँछन्। उनका अनुसार गाउँपालिकाले प्रोत्साहन गरेसँगै धेरै महिलाहरू उद्यममा जोडिएको छ।
गाउँपालिकाले महिला उद्यमलाई जोड दिन खालका कार्यक्रममा प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले स्थानीयको आर्थिक पक्षलाई मजबुद बनाउँदै लगेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !