आक्रमणकारीमाथि ५९ मुद्दा, नयाँ वर्षका कार्यक्रम रद्द
बोन्डाइ (अस्ट्रेलिया ) : बोन्डाइ समुद्र किनारमा पुगेका मानिसहरूका पहिरन पनि छाल झै विविध देखिन्थे। कोही स्विमसुटमा आत्मविश्वासका साथ उभिएका थिए। बिकिनी र बाथिङ सुटमा आउनेहरूको पनि कमी थिएन। कसैको शरीरमा हल्का र छिटो सुक्ने पोसाक थियो। घाम र हावासँग खेल्न तयार। कभर–अप र स्पोट्र्स वेयरमा सजिएका केही, खुलापन र सहजताको सन्तुलन खोजिरहेका देखिन्थे।
कसैले सर्ट वा स्पोट्र्स टी–सर्ट लगाएरै पानीसँग मित्रता गाँस्न आएका थिए। कतै भने सामान्य सर्ट र प्यान्टमै, आफ्नै संस्कृति र परम्परालाई बोकेर समुद्र किनारमा उभिएका दृश्य पनि देखिन्थे। समुद्रमा पस्नु वा पौडिनुअघि धेरैले स्विमसुट लगाउन थालेका थिए। कसैले शरीरका धेरै अंश देखिने गरी कपडाको बोझ फुकाले, कसैले भने सुरक्षित र आरामदायी पोसाकमै समुद्रसँग साक्षात्कार गर्न रोजे। तर, त्यो दिन सबै पहिले झै कुदेर झ्याम्म समुद्रमा हाम फालेनन्। छालासँगै दौडिने उत्साहभन्दा उनीहरू किनारमै रोकिन चाहन्थे। समुद्री किनारमा मानिसहरू बिस्तारै भेला हुँदै थिए। किनारका अनेक स्थानमा छुट्टाछुट्टै समूहहरू आपसमा गोलो मानव घेरा बनाएर उभिएका थिए। बोन्डाइको तटमा यसरी मौन संवादमा डुबेको मानव घेराको दृश्य यसअघि कहिल्यै देखिएको थिएन।
सधैं अति रोमाञ्चक दृश्यहरूले भरिने
यो गर्मी मौसममा पहिले त समुद्र किनारमा पुग्नेहरू कुनै हिचकिचाहट बिनासोझै पानीमा डुबुल्की मार्थे। छालासँग खेल्दै आनन्द लिन्थे। तर, बुधबार त्यो दृश्य दोहोरिएको थिएन। किन त्यस्तो भइरहेको छैन ? यही प्रश्न किनार भरी आपसी कुराकानीमा सुनिन्थ्यो। बालबालिका हुन् वा युवा, समुद्री छालसँग खेल्दै पानीमा डुबुल्की मार्ने उत्साह त थियो, तर त्यसलाई व्यवहारमा उतार्न सबैजना अलि ढिलो गरिरहेका देखिन्थे।
खुलेआम समुद्रमा पौडिनु प्राकृतिक सौन्दर्यसँग रमाइलो गर्ने एउटा अनुपम अवसर पनि हो। कसैले पानीमा सिधै जम्प गरेर डुबुल्की मार्छन्, कसैले भने छालको चाल बुझ्दै बिस्तारै समुद्रभित्र पस्छन्।
समुद्री तटमा देखिने यस्ता गतिविधि मनोरञ्जनमा मात्र सीमित हुँदैनन्। यी क्षणहरूले मानिसलाई प्राकृतिक वातावरणसँग जोड्ने सांस्कृतिक अनुभव पनि संगाल्छन्। गर्मीको रमाइलो र उत्साहलाई अझ गहिरो बनाउँछन्।
त्यही किनारमा, सयौं पौडी खेल्नेले एउटै लयमा उभिएर मानव वृत्त निर्माण गरेका थिए। एकअर्काको काँधमा हात राखी शिर निहुराउँदै उनीहरू मौन भावमा उभिएका दृश्य समुद्रभन्दा पनि गहिरो अनुभूति दिइरहेको थियो। ‘मैले यस्तो कहिल्यै देखेकी थिइन्। अहिले सबै समुद्रमा गहिरो समवेदनसहित आँसु बगाउन भेला भएका छन्,’ समुद्री किनारको वातावरणसँग मिल्ने दुइ टुक्रे बीचवयर र आँखामा कालो गगल्स् लगाएकी त्सारिनाले भनिन्, ‘यो पीडा सबैको साँझा हो। त्यसैले पौडिनु अघि कुनै न कुनै रूपमा मृकतहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै मानवीयता देखाउन म पनि आएकी छु।’
आइतबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरूको सम्झनामा, समुद्र तट र समुन्द्रमै अस्ट्रेलियन युवा–युवतीहरू पौडिनुअघि स्वतःस्फुर्तरूपमा मौन श्रद्धाञ्जलि अर्पण गरिरहेका थिए। छालमा पस्नुअघि क्षणभर रोकिने त्यो क्षण उनीहरूको सम्मान, एकता र मानवीय संवेदनाको शक्तिशाली अभिव्यक्ति बनेको थियो। फुलका गुच्छासहित श्रद्धान्जलि व्यक्त गर्न जानेहरूमध्ये धेरैका आँखाबाट आँसु बगेको देखिन्छ। सहरदेखि समुद्रसम्ममा समवेदना व्यक्ति भइरहेका बेला पूर्वअस्ट्रेलियाली कोषाध्यक्ष जोस फ्राइडेनबर्गले पनि मृतकहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीजको तीव्र आलोचना गरेका छन्। आक्रमणअघि बढ्दो यहुदी विरोधी गतिविधिलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै फ्राइडेनबर्गले उक्त घटनाबारे शाही आयोग गठन गर्न माग गरेका छन्। ‘बोन्डाइमा भएको नरसंहार राष्ट्रको इतिहासमा सबैभन्दा ठूलो दाग हो,’ उनले भने।
यसैबीच न्यूसाउथ वेल्स प्रहरीले आतंकवादी आक्रमणका आरोपी नावीद अकराममाथि ५९ वटा अभियोगसहित स्थानीय अदालतमा मुद्दा दर्ता गरेको छ। २४ वर्षीय अकराम आक्रमणकै क्रममा भएको सुरक्षाकारबाहीमा घाइते भएका थिए। उनी उपचारका लागि सिड्नीकै सेन्ट भिन्सेन्ट अस्पतालमा प्रहरी निगरानीमा छन्। प्रहरीका अनुसार १५ जनाको हत्या अभियोग र एक आतंकवादी गतिविधिसहित थुप्रै गम्भीर मुद्दा चलाइएको छ। जसमा प्रतिबन्धित आतंकवादी प्रदर्शन गरेको अभियोग र एउटा भवनभित्र वा नजिकै विस्फोटक पदार्थ राखेको अभियोग पनि लगाइएको छ। नावीदलाई अस्पतालमै बेडसाइड सुनुवाइमार्फत अदालतमा उपस्थित गराइएको हो।
बोन्डाइमा आयोजना हुने पहिलो ठूलो नयाँ वर्षको कार्यक्रम आतंकवादी आक्रमणपछि रद्द गरिएको छ। १० वर्षपछि आयोजना हुन लागेको पहिलो ठूलो नयाँ वर्षको कार्यक्रम रद्द गरिएको हो। स्थानीय अधिकारीहरूले सुरक्षा कारणले यस्तो कदम उठाउनु परेको बताएका छन्। आक्रमणले समुदायमा व्यापक चिन्ता र सुरक्षासम्बन्धी जोखिम बढाएको कारण उत्सवको पूर्वयोजना स्थगित गरिएको हो।
प्रतिक्रिया दिनुहोस !