पर्यटक आकर्षण गर्न पोखरामा दाइँ महोत्सव
पोखरा : पर्यटकलाई नेपाली कृषि संस्कृति देखाउन पोखरामा शनिबार दाइँ महोत्सव गरिएको छ। पोखरा १९ चुरुंगामा दोस्रो दाइँ महोत्सव गरिएको हो। असार १५ मा रोपाइँ महोत्सव गर्दै आएको पोखरा पर्यटन परिषद्को आयोजनामा धान भित्र् याउने नेपाली संस्कृति पर्यटकलाई देखाएर बसाइ लम्ब्याउन दाइँ महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।
पछिल्लो समयमा पोखराका मुख्य धान उत्पादन हुने बिरौटा फाँट, कुँडहर फाँट, चाउँथे, लेखनाथका फाँटहरूमा बस्ती बसेपछि कृषि उत्पादन घट्दो छ। गाउँका बस्ती नै सहर झरेपछि गाउँका अधिकांश खेती हुने जमिन बाँझै छन्। पछिल्लो पुस्ताले परम्परागत कृषि संस्कृति पनि नदेख्ने अवस्था रहेकोले पर्यटकका साथै आन्तरिक पर्यटकलाई पनि दाइँ संस्कृति देखाउन दाइँ महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले बताए।
पछिल्लो समयमा जोत्न र दाइँ राख्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ। परम्परागत रूपमा १० भन्दा बढी गोरुको प्रयोग गरेर दाइँ राखिएको थियो। नेपाली परम्परागत दाइँ महोत्सवमा सहभागी पर्यटकले गोरु खेदेर सहभागी जनाएका थिए।यस्तो नेपाली परम्परागत कृषि कर्म देखाएर पर्यटकलाई आकर्षण गर्न सकिने पोखरा महानगरपालकाका मेयर धनराज आचार्यले बताए। कृषि पर्यटनको रूपमा पनि पर्यटन विकास गर्न सकिने उनले बताए। पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन खेती हुने र ४० हजार टन धान उत्पादन हुने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।
धान धेरै उत्पादन गर्ने किसान पुरस्कृत
धान महोत्सवमा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कारसहित सम्मान गरिएको छ। यसरी पुरस्कृत हुनेमा २ सय रोपनी खेतमा धान रोपेर ५ सय मुरी धान उत्पादन गर्ने पोखरा २३ का किसान फवेन्द्रप्रसाद गुरुङलाई १० हजार नगदसहति पुरस्कृत गरियो।
यसैगरी ४९ रोपनी क्षेत्रमा धान रोपेर १ सय मुरी धान उत्पादन गर्ने पोखरा १३ का किसान मलिन अधिकारीलाई ७ हजार र ४८ रोपनी क्षेत्रफलमा ९८ मुरी धान उत्पादन गर्ने किसन बालकृष्ण भण्डारीलाई ५ हजार नगदले पुरस्कृत गरिएको थियो।
महोत्सवमा धान चुट्ने, परालको भारी बाध्ने, परालको गुन्द्री बन्ने प्रतिस्पर्धामा प्रथम, द्वितीय तेस्रो हुने सहभागीलाई पनि पुरस्कृत गरिएको थियो। महोत्सवले ओझेलमा परेको पोखराको चुरुंगा गाउँको प्रवर्धन भएको स्थानीय चुरुंगा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !