ठगी, आपराधिक र विश्वासघात गरेको आरोपमा तत्कालीन सहसचिव पक्राउ
काठमाडौं : ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्गका तत्कालीन सहसचिव पदमा कार्यरत भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्की रहेका छन्।
नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने–लिने सम्झौता बदनियत पूर्वक भएको खुलेको सीआईबीले जनाएको छ।
नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी गैरकानुनी तवरले ठगी, आपराधिक विश्वासघात गरी विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुलेको सीआईबीले जनाएको छ।
यसबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !