महोत्तरीमा हराएका ३ वर्षीय बालक मृत अवस्थामा फेला
महोत्तरी : महोत्तरीमा हराएका ३ वर्षीय बालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साँझ करिब ५ बजे घर नजिकै खेल्न गएका बालक अचानक सम्पर्क विहीन भएका थिए। परिवार तथा आफन्तले खोजतलास गर्दा बालक कतै फेला नपरेपछि प्रहरीमा जानकारी दिइएको थियो ।
प्रहरीका अनुसार बालकको उचाइ करिब २ फिट, गहुँगोरो वर्ण, लामो कपाल रहेको तथा दुवै हातमा चाँदीको बाला लगाएका थिए। त्यसपछि लगातार खोजी कार्य जारी रहेका बेला जेठ २४ गते साँझ करिब ५:२५ बजे सम्सी गाउँपालिका–५ ब्रम्हस्थानस्थित राजकिशोर शाह तेलीको पोखरी नजिक पानीमा तैरिरहेको बोराभित्र बालकको शव फेला परेको हो।
घटनापछि प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। बालकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !