घुससहित पक्राउ परेका मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खरिदार भण्डारीविरुद्ध काभ्रेको साविक दोलालघाट गाउँपालिका-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा भण्डारीलाई २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू हकवाला जग्गाधनीको नाममा छुट जग्गा दर्ता गर्ने गराउने प्रयोजनार्थ सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
भण्डारीविरुद्ध २ लाख विगो र सजायको माग दावी गरिएको आरोप- पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !