काठमाडौं : नेकपा एमालेले महाधिवेशनबाटै पार्टीलाई नयाँ ढंगले लाने विषयमा छलफल गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बसेको सचिवालय बैठकमा पार्टीलाई नयाँ ढंगले लाने विषयमा कुरा उठेको छ। पार्टीको पुनर्गठनको विषयमा पनि छलफल भएको छ।
सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलगायत विषय छिट्टै महाधिवेशन गरेर सम्बोधन गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। उनले भने, ‘देशैभरि चिन्ता छ, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको आवाज पनि उठेको छ। संकटको बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेछ। आमजनता र युवापुस्ताको मागलाई सम्बोधन गर्नु छ। महाधिवेशनबाटै अहिले उठेका सबै प्रश्नलाई सम्बोधन गर्नेर्छौं।’ उनले पार्टीको एकतालाई सुदृढ गर्नुपर्ने पनि बताए। उनले शनिबारको सचिवालय बैठकले यस विषय एजेन्डा तयार पार्ने पनि बताए। पार्टीमा दुई धार नरहेको उनले दाबी गरे। एमालेले जेन–जीले उठाएका जायज मागको पक्षमा रहेको जनाएको छ।
‘२३ गते उठेको जेन–जीका आवाजहरू स्वाभाविक थिए, उहाँहरू स्वयंले पनि आन्दोलन शान्तिपूर्ण हुन्छ, हामी निषेधित क्षेत्र तोड्दैनौं, सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्दको विषयमा दबाब सृजना गर्छौं, भन्नुभयो तर दिउँसो घुसपैठ भएको छ, यति ठूलो घटना भयो,’ उनले भने। उनले २४ गते देश, लोकतन्त्र, गणतन्त्रमाथि नेपालको इतिहासमा नै ठूलो आक्रमण भएको बताए। उनले यसको गहिरो अनुसन्धान गरेर सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।
जेन–जीसँग आग्रह गर्दै उपमहासचिव ज्ञावालीले लोकतन्त्र, गणतन्त्र, इतिहास रहे मात्रै उनीहरूको भविष्य सुरक्षित हुने बताए।२४ गतेको हिंसाबाट आफूलाई अलग गर्न पनि उनले आग्रह गरेका छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण र देश आर्थिक विकासको मामिलामा जेन–जीका सुझाव मान्न एमाले तयार रहेको पनि स्पष्ट पारे।
एमाले निर्वाचनबाट नभाग्ने पनि उनले स्पष्ट पारे। तर, सरकार चुनाव गर्नेभन्दा पनि मुडभेड गराउनेतिर लागेको आरोप पनि लगाए। सरकार मुलुकलाई तिक्तता, तनाव र मुडभेडतर्फ लैजान उद्यत रहेको एमालेको निष्कर्ष छ। निर्वाचन गर्ने भन्ने विषयमा गम्भीर आंशका रहेको उनले बताए। उनले अहिले सबै दललाई साथमा लिएर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा सरकार उल्टो बाटो गइरहेको बताए।
‘सरकार दलहरूलाई साथ लिनेभन्दा पनि निषेधको बाटोमा हिँडिरहेको छ,’ ज्ञवालीले भने। प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्रीको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए।
राजनीतिक दलको नेतृत्वमाथि भौतिक आक्रमणका धम्की आइरहेको पनि बताएका छन्। उनले सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण बनाउनुपर्ने बताए। सर्वदलीय बैठक राष्ट्रपतिले नभई प्रधानमन्त्रीले बोलाउनुपर्ने एमालेको धारणा छ। उपमहासचिव ज्ञवालीले सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गरेको बताए। बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित आफूहरू सबैले पार्टीबाट बिदा लिने प्रस्ताव राखिन् भने उपाध्यक्ष विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउन आग्रह गरे।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका छन्। झन्डै ६ घण्टासम्म सचिवालय बैठक चलेको थियो। सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ।।
प्रतिक्रिया दिनुहोस !