त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा लैजान खोज्ने एक चिनियाँसहित दुई जना पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्। बुधबार दुई फरक उडानमार्फत विदेश जान लागेका एक चिनियाँ र एक नेपाली नागरिकलाई जाँचका क्रममा विदेशी मुद्रासहित पक्राउ गरिएको हो।
त्रिअबि सुरक्षा कार्यालयका अनुसार चीनको कुनमिङ जान लागेका ५१ वर्षीय चिनियाँ नागरिक मो युलोङबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको छ। उक्त रकम नेपाली रुपैयाँमा ११ लाख ३४ हजार ३ सय बराबर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै कतारको दोहा जान लागेका सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थायी घर भएका ४० वर्षीय बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल फेला परेको छ। उक्त रकम नेपाली रुपैयाँमा १७ लाख ५८ हजार ७ सय ५२ बराबर रहेको छ।
प्रहरीका अनुसार दुवै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा चेकिङका क्रममा शरीर खानतलासी गर्दा विदेशी मुद्रा लुकाएर बाहिर लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो।
बरामद गरिएको विदेशी मुद्राको कूल नेपाली मूल्य २८ लाख ९३ हजार ५२ रुपैयाँ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !