पर्यटन व्यवसाय थप मर्कामा
पोखरा : मुख्य पर्यटकीय सिजन सुरुको चरणमै भएको जेन-जी आन्दोलनका कारण नेपाल आउने अधिकांश पर्यटकले सेप्टेम्बर महिनाको यात्रा रोकेर बुकिङ रद्द गर्दा मारमा परेको पर्यटन उद्योग मौसम जन्य कारणले थप मर्कामा परेको व्यवसायीले बताएका छन्।
जेन-जी आन्दोलनपछि लगत्तै सेप्टेम्बर महिनामा नेपाल आउन बुकिङ गरेका पर्यटकमध्ये करिब ४५ प्रतिशत पर्यटकले होटल बुकिङ तथा पदयात्राका लागि गरेको बुकिङ क्यान्सिल गरेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। जेन-जी आन्दोलनअघि पर्यटकीय सिजन सुरुवाती चरण भएकाले पोखराका होटलमा ३५ प्रतिशत अकुपेन्सी रहेको थियो। जेन-जी आन्दोलन र त्यसपछिको मौसमका कारण एकादशीबाट कोजागत पूर्णिमासम्म आन्तरिक र विदेशी पर्यटकसहित कम्तीमा ७० देखि ८० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा ३० प्रतिशत पनि नरहेको अध्यक्ष सुवेदीले बताए।
जेन-जी आन्दोलनका कारण सेप्टेम्बर महिनामा मात्र ४५ प्रतिशत पर्यटकले यात्रा क्यान्सिल गरेका थिए। जेन-जी आन्दोलनपछि फेरि विस्तारै विदेशी र स्वदेशी पर्यटक आउने क्रम बढ्न सुरु हुँदा मौसम विज्ञान विभागबाट प्रक्षेपण भएबमोजिम असोज १७ देखि २० सम्म सतर्कता अपनाउने सूचना जारी भएसँगै आवतजावतमा समेत रोक लगाउने अवस्था आएका कारण पर्यटक आगमन घटेको व्यवसायीले बताएका छन्।
अंग्रेजी महिनाको अक्टोबरमा विदेशी पर्यटकले फाट्टफुट्ट बुकिङ क्यान्सिल गरेको अध्यक्ष सुवेदीले बताए। असोज १८ गते केही प्रदेशमा भएको ठूलो वर्षापछि गएको पहिरोको कारण सडक र हवाई उडानमा समेत असर परेपछि पोखरामा रहेका पर्यटक बाहिर जान चाहने र पोखरा आउन चाहने पर्यटक समस्या परेको थियो। असोज १८ गते सडक र हवाई उडानसमेत ठप्प हुँदा धेरै पर्यटकको अन्तर्राष्ट्रिय उडानसमेत छुटेको पर्यटन व्यवसायी मिलन तिवारीले बताए।
गण्डकी प्रदेशका राजमार्ग, सडक सञ्जाल र अन्नपूर्ण, मनास्लुलगायत क्षेत्रका पदयात्रा क्षेत्रमा कुनै असर नपरे पनि पदयात्रामा रोक लगाइएकोले पर्यटक पदयात्रामा जान नपाएको बताएका छन्। यस्तै, गरी गण्डकी प्रदेशभित्रका राजमार्गको यात्रामा पनि रोक लगाउँदा पर्यटकको यात्रा अवरुद्ध भएको थियो। अन्तर्राष्ट्रिय उडान तालिका नै प्रभाव पर्ने अवस्थाका पर्यटकलाई काठमाडौं पुग्ने वातावरण सरकारले बनाउनु पर्ने थियो भन्ने पर्यटन व्यवसायी भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !