वर्षापछि महामारीको जोखिम, सतर्कताको प्रयास

वर्षापछि महामारीको जोखिम, सतर्कताको प्रयास

इलाम : इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा स्वास्थ्य समस्या भयो भने आपत्कालीन उपचारको प्रबन्ध छैन। मंगलबार दुई जना बिरामीलाई उपचारका लागि बाहिर ल्याउन सेनाको हेलिकप्टर प्रयोग गर्नुपर्‍यो। इलामसहित कोशी प्रदेशका बाढीपहिरो प्रभावित गाउँको अहिलेको अवस्था प्याङ गाउँको जस्तै हो। 

‘नागरिकले स्वास्थ्य सेवा लिन स्वास्थ्य केन्द्रसम्म आउने अवस्था पनि छैन’, सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकामार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छौं।’

अस्पताल र स्वास्थ्य केन्द्रहरूमा महामारी फैलिएमा आवश्यक पर्ने पर्याप्त औषधि छैन। तर, स्वास्थ्य कार्यालय, स्थानीय सरकारका स्वास्थ्य शाखा प्रमुखहरू भने ‘औषधि मगाउने तयारीमा रहेको’ रेडिमेट जवाफ दिइरहेका छन्।

बाढीपहिरोका कारण रुघाखोकी, ज्वरोका बिरामीसमेत गाउँमा बढिरहेका छन्। इलाम नगरपालिका—८ कि भीमा लिम्बूका अनुसार बाढी–पहिरोसँगै रुघाखोकीका बिरामी बढेका छन्। उनले भनिन्, ‘बाटो भएका ठाउँमा त अस्पताल पुग्ने अवस्था होला बाटो नै नभएका गाउँका मानिसमा गम्भीर स्वास्थ्य समस्या देखिएको छ।’

बाढीपहिरोले पिउने पानीका स्रोत, खोलाहरू, पाइपलाइनहरू दूषित भएका छन्। स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले यस्तो अवस्थामा महामारी फैलन सक्ने भन्दै पूर्वतयारी गरिरहेको बताए। यस्तो अवस्थामा झाडा पखाला, हैजा, टाइफाइडलगायतका रोगहरू बढ्न सक्नेप्रति सचेत रहँदै तयारीमा लागेको इलामको देउमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु भट्टराईले बताए। उक्त पालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको थियो। उनले झाडापखाला, ज्वरोलगायतका औषधि स्टकमा राखेर बसेको बताए। उनले भने, ‘सम्भावित महामारीबाट जोगिन हामी आवश्यक तयारीमा जुटेका छांै।’ 

यस्तो समयमा जमेको पानी, पोखरी र ओसिलो स्थलहरू लामखुट्टे र अन्य कीटहरूको प्रजननस्थल बन्न सक्ने भन्दै यसले डेंगु, मलेरिया र अन्य लामखुट्टेजन्य रोगहरूको संक्रमण विस्तार हुन सक्ने विज्ञको सुझाव छ। यसबाहेक छालाका रोगहरू, श्वासप्रश्वासप्रणाली सम्बन्धी रोगहरू, क्षयरोग, मानसिक स्वास्थ्य समस्याहरू देखिन सक्ने फिक्कल अस्पतालका जनस्वास्थ्य निरीक्षक फाजुङ शेर्पाले बताए। उनले अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बिरामी आउने गरे पनि महामारीको संकेत नदेखिएको बताए। उनले कम्तीमा पनि एक हप्तापछि महामारीको सामान्य लक्षणहरू देखिन सक्ने अनुमान लगाए। 

स्वास्थ्य कार्यालय इलामका प्रमुख शाक्यले अहिले जिल्लामा पाँच सय स्वास्थ्यकर्मी र एक हजार महिला स्वास्थ्य स्वयंसेविका क्रियाशील रहेको बताए। उनले भने, ‘सम्भावित स्वास्थ्य समस्यासँग जुध्न हामी तयारी अवस्थामा बसेका छौं।’

बाढीपहिरोका कारण ४७ जनाले ज्यान गुमाएको कोशी प्रदेशमा घाइतेहरू विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। कतिपय बिरामीले उपचारको क्रममा सरकारी तर्फबाट बेवास्ता भएको गुनासो गरेका छन्। इलाममा मात्रै मृतकको संख्या ३९ पुगेको छ। १ जना बेपत्ता छन्। बाढीपहिरोका कारण कोशी प्रदेशको पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको ज्यान गएको छ। इलामका ९ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले जिल्लाहरूमा स्वास्थ्य कार्यालय, स्थानीय सरकार र आयुर्वेद अस्पतालहरूले समन्वय गरेर काम गरिरहेको बताए। उनले भने, ‘यस्तो समयमा हुने जोखिमबाट बचाउन मन्त्रालयले सबै तयारी गरेको छ।’

उनका अनुसार मन्त्रालयले स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन विभाग र चिकित्सकहरूको दुई वटा टोलीलाई प्रभावित जिल्लाहरूमा पठाएको छ। सचिव डा. घिमिरेका अनुसार टोलीले बुधबारदेखि झापा र उदयपुरबाट काम सुरु गरेको छ। टोलीहरूले महामारी र संक्रमणजन्य रोगहरूको रोकथामका लागि जनचेतना अभियान सञ्चालन गर्दै प्रभावित क्षेत्रका स्वास्थ्य अवस्थाको मूल्यांकन र आवश्यक सहयोग प्रदान गर्ने जनाइएको छ। 
कोशी प्रदेश सरकारले स्वास्थ्य नीति २०८२ लागू गरिसकेको छ। जसमा आपत्कालीन स्वास्थ्य सेवाहरूको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ। 

रोकथामका उपायहरू
स्वच्छ पिउने पानी सुनिश्चित गर्ने  :  पानी उमालेर पिउने, क्लोरिन वा अन्य उपाय प्रयोग गर्ने; पानी भण्डारण गर्ने डिब्बाहरू सुरक्षित र आवरणयुक्त राख्ने।
स्वच्छता र व्यक्तिगत स्वास्थ्य व्यवहार सुधार्ने  :  खाना अघि, शौचालयपछि राम्रोसँग साबुनपानीले हात धुने; खाना राम्रोसँग पकाउने; फलफूल र तरकारी राम्ररी धुने; फोहोर व्यवस्थापन राम्रो गर्ने।
नियन्त्रण  :  जमेको पानी छिटो खाली गर्ने, लामखुट्टे प्रजननस्थल हटाउने, मच्छडदानी प्रयोग गर्ने; संक्रमित कीट नियन्त्रणका औषधि वा स्प्रे प्रयोग गर्ने।
स्वास्थ्य सेवा पहुँच बढाउने  :  अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने; स्वास्थ्य टोलीहरूलाई प्रभावित क्षेत्रमा तात्कालिक पठाउने; जल शुद्धीकरण औषधि, प्राथमिक उपचार उपकरणहरू उपलब्ध गराउने।
जनचेतना र सूचना प्रसार  :  रेडियो, टेलिफोन, सामाजिक सञ्जाल, सबै समुदायका स्वास्थ्य स्वयंसेवकहरूमार्फत रोगको लक्षण, रोकथामका उपायहरू बारे जानकारी दिने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.